Wednesday, January 20

‘ट्रम्पले चुनाव जित्न सीसँग सहयोग मागे’

June 19, 2020 178

वासिङ्टन — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी राष्ट्रपतीय चुनावमा जित सुनिश्चित गर्न चिनियाँ राष्ट्रपति सी चिनफिङको सहयोग मागेको खुलासा भएको छ । अमेरिकाका पूर्वराष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले लेखेको नयाँ पुस्तकमा यस्तो दाबी गरिएको हो । पुस्तकमा बोल्टनले अमेरिकी किसानद्वारा उत्पादित कृषिउपज चीनले किनोस् भन्ने ट्रम्पले चाहेको समेत उल्लेख गरेका छन् ।

फाइल तस्बिर : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र पूर्वराष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टन

सार्वजनिक हुने क्रममा रहेको पुस्तकमा बोल्टनले राष्ट्रपति कार्यालय सञ्चालन कसरी गर्ने भन्नेबारे ट्रम्पलाई कुनै जानकारी नभएको जनाएका छन् । ट्रम्प प्रशासनले उक्त पुस्तकको प्रकाशन रोक्न चाहेको छ । अमेरिकी न्याय मन्त्रालयका अनुसार पुस्तकमा ‘गोप्य सूचना’ समावेश गरिएको छ ।

यसअघि राष्ट्रपति ट्रम्पमाथि महाअभियोग लगाउने प्रस्ताव संसद्मा ल्याइएको थियो । पछिल्लो समाचारले उक्त प्रयासलाई सघाउ पुगेको छ । ‘द रुम ह्वेर इट ह्यापन्ड’ नामक पुस्तक जुन २३ मा सार्वजनिक हुँदै छ ।

बोल्टनले आफूविरुद्ध लगाएका आरोपलाई राष्ट्रपति ट्रम्पले ‘शुद्ध कथा’ को संज्ञा दिएका छन् । ट्रम्पले ट्वीट गर्दै बोल्टनले आफूलाई खराब सावित गर्न ‘झूट तथा बनाइएका कथाहरूको संकलन’ गरेका दाबी गरे । ‘पुस्तकमा मेरोबारेमा लेखिएका धेरैजसो भनाइहरू मलाई कहिल्यै कसैले नलगाएका कपोलकल्पित आरोप, शुद्ध कथाहरू छन्,’ ट्रम्पले भनेका छन् ।

गत जनवरीमा ह्वाइटहाउसले उक्त पुस्तकमा ‘एकदमै गोप्य’ विवरणहरू समावेश गरिएको भन्दै हटाउनुपर्ने बताएको थियो । तर बोल्टनले त्यसलाई अस्वीकार गरेका थिए ।

गत वर्ष जापानमा जी–२० अर्थात् विश्वका २० प्रमुख अर्थतन्त्रहरूको सम्मेलनका क्रममा ट्रम्प र सीबीच कुराकानी भएको थियो । त्यस बेला सीले चीनका केही अमेरिकी आलोचकहरू नयाँ शीतयुद्धको पक्षमा देखिएको गुनासो गरेका पुस्तकमा उल्लेख गरिएको छ ।

सीको उक्त गुनासो विपक्षी डेमोक्याटहरूप्रति लक्षित रहेको ट्रम्पको अनुमान रहेको बोल्टनले बताएका छन् । ‘ट्रम्पले आश्चर्यजनक रूपमा उक्त कुराकानी सन् २०२० मा हुने अमेरिकी राष्ट्रपतीय निर्वाचनतर्फ मोडे र चीनको आर्थिक क्षमतातर्फ लक्षित गर्दै सीसँग आफ्नो जित सुनिश्चित गरिदिन आग्रह गरे,’ बोल्टनले भनेका छन् । तर अमेरिकाका व्यापार मामिलासम्बन्धी प्रतिनिधि रोबर्ट लाइटहाइजरले भने ट्रम्पले निर्वाचनमा सहयोग गर्नेबारे आग्रह नगरेको बताएका छन् ।

गत जनवरीमा डेमोक्र्याटिक दलका तर्फबाट राष्ट्रपतीय चुनावका सम्भावित प्रतिद्वन्द्वी जो बाइडेन र उनका छोरा हन्टर बाइडनमाथि भ्रष्टाचारसम्बन्धी अनुसन्धान सुरु गर्न युक्रेनलाई दबाब दिएको विवरण सार्वजनिक भएपछि ट्रम्पविरुद्ध महाअभियोग लगाउनका लागि प्रक्रिया सुरु गरिएको थियो । त्यसका साथै उनीमाथि कंग्रेसलाई काम गर्न रोकेको आरोप लगाइएको थियो ।

ट्रम्पले आफूविरुद्धका आरोप अस्वीकार गरेका थिए । रिपब्लिकन दलको पकडमा रहेको सिनेटमा दुई साता लामो अनुसन्धानपछि उनी आरोपमुक्त भएका थिए । ट्रम्प रिपब्लिकन दलबाट राष्ट्रपति निर्वाचित भएका हुन् ।

त्यस्तो अनुसन्धान युक्रेनमा मात्रै सीमित नभई राजनीतिक हस्तक्षेपका अन्य घटनाबारे पनि अध्ययन गरिएको भए त्यसको नतिजा फरक हुन सक्ने बोल्टनको दाबी छ ।

बोल्टन सन् २०१८ को अप्रिलमा राष्ट्रिय सुरक्षा सल्लाहकार नियुक्त भएका थिए । करिब डेढ वर्षपछि उनले राजीनामा दिएका थिए । तर बोल्टनसँग आफू असहमत रहेका कारण पदबाट बर्खास्त गरेको ट्रम्पको दाबी थियो ।

प्रतिकृया दिनुहोस्