Friday, October 23

जानकी मन्दिरको मूलद्वार तीन महिनापछि खुला गरियो, सर्वसाधारणको चहलपहल बढ्दै

June 18, 2020 185

जनकपुरधाम, ४ असार । ऐतिहासिक जानकी मन्दिरको मूलद्वार खुल्ला गरिएको छ । सम्भवतः पहिलोपटक लामो समय हिन्दूहरूको आस्थाको केन्द्र एवं सय वर्षभन्दा पुरानो जानकी मन्दिरको मूल ढोका बन्द गरिएको थियो ।झण्डै तीन महिनापछि लकडाउन खुकुलो भएसँगै आज जानकी मन्दिरको पूर्व पट्टीको मूल ढोकाको ताल्चा खुलेको छ । मूल ढोका खुलेसँगै सर्वसाधारणको चहलपहल समेत बढेको छ ।विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसकाे त्रास एवं लकडाउनका कारण बन्द रहेको जनकपुरधामस्थित जानकी मन्दिरको मुलढोका ८१ दिनपश्चात आजदेखि सर्वसाधारणका लागि खोलिएको हाे ।

कोरोनाको संक्रमणको खतरालाई मध्यनजर गर्दै मन्दिरमा भीडभाड हुन नदिनका लागि चैत १५ गतेदेखि मन्दिरको मूलढोका सर्वसाधारणका लागि बन्द गरिएको थियो ।लकडाउनको अवधिमा मन्दिरमा प्रत्येक दिन बिहान र बेलुका हुने पूजापाठ एवं आरती जारी रहे पनि मन्दिरको मूलढोका सर्वसाधारणका लागि जिल्ला प्रशासन कार्यालय धनुषाको आदेशमा बन्द गरिएको थियो ।सन् १९११ मा स्थापना गरिएको जानकी मन्दिरको १ सय ९ वर्षको इतिहासमा पहिलोपटक सर्वसाधारणका लागि मूलढोका ८१ दिनसम्म बन्द गरिएकाेको जानकी मन्दिरका सहायक महन्थ रामरोशन दासले न्यूज २४ लाई जानकारी दिनुभयो ।

लामो समय पश्चात मन्दिर खुलेपछि दर्शन गर्नेहरुको भीड ह्वात्तै बढेको छ । तर भक्तजनहरुले सामाजिक दूरीको ख्याल नगर्दा समस्या उत्पन्न भईरहेको भन्दै दासले चिन्ता व्यक्त गर्नुभयो ।महन्थ दासले सामाजिक दूरीको पालना गराउनतर्फ स्थानीय प्रशासनले पहल गरिदिन र दैनिक सेनिटाइज गर्ने व्यवस्था मिलाईदिन जनकपुरधाम उपमहानगरपालिकासँग आग्रह गर्नु भएको छ ।

प्रतिकृया दिनुहोस्