Saturday, March 6

कालापानी क्षेत्रमा गएका आइजीपीले गरे सशस्त्र प्रहरीको भवनको उद्घाटन

June 18, 2020 280

धनगढी: सशस्त्र प्रहरी महानिरीक्षक (आइजीपी) शैलेन्द्र खनालले दार्चुला सदरमुकाम खलंगामा निर्माण गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्म हेडक्वाटर दार्चुलाको भवनको उद्घाटन गरेका छन्।

व्यास गाउँपालिका १ छांगरु गागामा रहेको सशस्त्र प्रहरीको बीओपी निरीक्षण गरेर फर्किएपछि खलंगामा भवनको उद्घाटन गरेका हुन् ।

भवनको उद्घघाट गर्दै खनालले सीमा सुरक्षाको लागि सशस्त्र प्रहरी जिल्लामा क्रियाशिल रहेको बताए ।

व्यास गाउँपालिका १ छांगरुमा गत वैशाख ३१ गते स्थापना भएको सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट बीओपीको निरीक्षण गर्न दार्चुला पुगेका आइजीपी खनालले सोही अवसरमा दार्चुलामा निर्माण भएको भवनको उद्घाटन गरेका हुन् ।

उद्घाटन कार्यक्रममा बोल्दै उनले भने, ‘सीमित स्रोत साधनका बीचमा सशस्त्र प्रहरीले आफ्नो जिम्मेवारी निर्वाह गरिरहेका छन् ।’

खनालले अहिले देशभरी सशस्त्रको बोर्डर आउट स्थापना भइरहेको र जिल्लामा पनि सशस्त्र प्रहरीको थप पोष्ट स्थापना हुने बताए ।

दार्चुला सदरमुकाम खलंगामा रहेको गुल्मलाई गण बनाइने छ भने व्यासको छांगरुमा सशस्त्रको गुल्म स्थापना हुने उनले बताए । त्यस्तै जिल्लाका लेकमको लाली, मालिकार्जुनको जोलजीवि र व्यासको दुम्लीङमा बोर्डर आउट पोष्ट राख्ने सशस्त्रको तयारी रहेको छ ।

‘सीमामा बस्ने नागरिकलाई सुरक्षाको अनुभूति हुने गरी सशस्त्र प्रहरी खटिरहेको छ । सीमामा बस्ने नागरिकलाई सुरक्षाको प्रत्याभूति हुने विश्वास दिलाउँछौ’, महानिरीक्षक खनालले भने ।

अहिले सशस्त्र प्रहरीले दार्चुलामा भारतसँग सीमा जोडिएका १२५ किलोमिटर र चीनसँग सीमा जोडिएको २० किलोमिटर क्षेत्र सीमा निगरानी गरिरहेको छ ।

अहिले सीमामा बस्ने नागरिक सन्तुष्ट रहेको भन्दै थप स्रोत साधनले भ्याएसम्म सशस्त्र प्रहरी परिचालन गरिने जानकारी दिए ।

प्रतिकृया दिनुहोस्