Thursday, January 21

नेपालीसंग विवाह गर्ने विदेशी महिलालाई सात बर्षपछि नागरिकता दिने प्रस्ताव विवादमा : काँग्रेसले जनायो असन्तुष्टि, आज टुग्याइने

June 18, 2020 225

काठमाडौं- नागरिकता विधेयक टुंगाउनका लागि बसेको संसदीय समिति बैठक विना निष्कर्ष टुंगिएको छ । प्रतिनिधिसभाको राज्य व्यवस्था समितिको मंगलबार बसेको बैठकमा भएको छलफलमा नेपाली कांग्रेसले असन्तुष्टि जनाएसँगै बैठक विना निष्कर्ष टुंगिएको हो ।समितिका सभापति शशी श्रेष्ठले नेपाली नागरिकसँग विवाह गरेकी विदेशी महिलालाई सात वर्षपछि मात्रै नागरिकता दिने प्रस्तावमाथि काँग्रेसले असन्तुष्टि जनाएको हो । उक्त प्रस्तावमाथि कांग्रेस सांसदहरुले पार्टीसँग छलफल गरेर निर्णय गर्ने जनाएका थिए ।

यता, सभापति श्रेष्ठको प्रस्तावमाथि नेमकिपाका सांसद प्रेम सुवाल र नेकपा सांसद पम्फा भुषालले भने नागरिकता दिने अवधि बढाउन माग गरेका थिए ।समिति सभापतिको प्रस्तावमाथि मंगलबार नै मतदानबाट भए पनि टुंगो लगाउने तयारी गरिएको थियो । तर, कांग्रेसको आग्रहमा सार्न सभापति श्रेष्ठ तयार भएपछि विधेयकको टुंगो लाग्ने समय आज सम्मलाई लम्बिएको हो ।

गृह मन्त्रालयले विधेयकमा समावेश गर्न यसअघि नै नेपाली नागरिकसँग विवाह गरेकी महिलाले नेपालमा लगातार स्थायी बसोबास भएको ७ वर्षपछि मात्रै अंगीकृत नागरिकता पाउने प्रस्ताव पेश गरेको छ ।
त्यसका लागि विवाह दर्ता गरी स्थायी रुपमा बसोबास गरेको सम्बन्धित वडा कार्यालयको सिफारिस, आफुले विदेशी राष्ट्रियता जनाउने कुनै प्रमाणपत्र÷नागरिकता नलिएको भए सोको प्रमाणपत्र र त्यस्तो प्रमाणपत्र÷नागरिकता लिएको भए परित्याग गर्ने कारवाही चलाएको प्रमाणसहित निवेदन दिनुपर्ने छ ।

अंगीकृत नागरिता नपाएसम्म आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार उपभोग गर्न पाउने गरी नेपाली नागरिकता सरहको स्थायी आवासिय अनुमति पत्र दिन सकिने प्रस्ताव पनि मन्त्रालयले गरेको छ ।
नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक संसदको राज्य व्यवस्था समितिमा २ वर्षदेखि विचाराधिन छ । २०७५ साल साउन २२ गते प्रतितिधिसभामा दर्ता भएको विधेयकमा सोही वर्ष भदौ ५ गतेबाट समितिमा छलफलको क्रममा छ ।

प्रतिकृया दिनुहोस्