Tuesday, November 24

श्रृंखला भन्छिन् – पैसा नहुनेका लागि त काठमाडौं ‘नाइटमेयर’ हो (भिडिओ)

June 17, 2020 263

मिस नेपाल २०१८ श्रृंखला खतिवडा काठमाडौं उपत्यकाको विकास ट्रेण्डसँग खुसी छैनन्। अग्ला भवन र फराकिलो सडकलाई विकासको मानक बनाइएको उनलाई चित्त बुझेको छैन।

रिङरोड चौडा बनाउने नाममा रूख काटिँदा सडक नै नांगो भएको महशुस उनलाई भएको छ। चक्रपथमा दुईतर्फ छहारी दिएर बसेका अग्ला रूखहरू काटिएपछि चक्रपथमा गुडिरहँदा उनलाई नरमाइलो लाग्छ।

काठमाडौंका भित्री भागमा कतै पनि खाली ठाउँ देख्यो कि संरचना बनाएर भाडामा लगाउने प्रवृत्ति देखेर उनी दिक्क छिन्।

‘हामीले विकास भनेको अग्ला भवन र चौडा सडकलाई ठान्यौं’, श्रृंखलाले भनिन्, ‘जति पनि काठमाडौंका भित्री भागका जमिन थिए, त्यहाँ सबैको आँखा जाँदो रहेछ। लिजमा लिएर ठूलो भवन बनाउने र आम्दानी गर्ने सोच धेरै देखियो।’

गत वर्ष झण्डै डेढ महिना युरोप घुमेपछि भने श्रृंखलालाई उपत्यका विकासको दृष्टिकोण बदल्नै पर्ने देखिन्।

‘युरोपमा जता हेरे पनि पार्क, कुना कुनासम्म हरियाली र व्यवस्थित संरचना देखें’, श्रृंखलाले भनिन्, ‘त्यसले जीवनको गुणस्तर बढेको थियो।’

श्रृंखलालाई युरोपको हरियाली यसरी गड्यो कि काठमाडौं फर्किएलगत्तै उनले वातावरण अभियन्ता मिलन राईसँग मिलेर ‘रिक्स्ह फाउण्डेसन’ दर्ता गराइन्। उपत्यकाका ठाउँठाउँमा पार्क बनाउने योजनासहित।

योजना बनाउन जति सहज थियो कार्यान्वयन गर्न उति नै चूनौतीपूर्ण।

ठूला–ठूला योजना सुनाउने र काम नगर्ने राजनीतिक नेतृत्वको निराशा उनीहरूको योजनामाथि पनि पोखियो। पार्क नबनाउँदासम्म कसैले पत्याउने अवस्था बनेन।

त्यसका लागि जग्गा चाहिन्थ्यो। जब उनी पार्क बनाउने योजना कसैलाई सुनाउँथिन् जवाफ दिनेले ‘तीनकुनेको खाली जग्गा’ देखाउँथे।

‘तीनकुनेमा छ त जग्गा त्यहाँ पार्क बनाए हुन्छ नि भन्ने धेरै भए’, श्रृंखलाले सेतोपाटीसँग भनिन्, ‘हामी आफैं सानो ठाउँबाट भए पनि सुरूआत गर्न चाहन्थ्यौं।’

त्यसपछि श्रृंखला सहितको टोलीले पहिला काठमाडौं उपत्यकामा पार्क बनाउन सकिने जग्गा खोज्यो।

ललितपुर महानगरले फोहोरै फोहोरको थुप्रो रहेको जावलाखेलमा सेल्सबेरीसँगैको सानो जग्गा दियो। जग्गा सानो भए पनि काम गरेर देखाउने अठोट बोकेकाले उनीहरूले त्यसलाई अवसरको रूपमा लिए। र, तयार पारे – ‘पकेट पार्क।’ को योजना

आर्किटेक्ट समेत रहेकी श्रृंखला आफैं पनि पार्कहरूको डिजाइन कार्यमा संलग्न भइन्।

पार्क बनाउँदा सकेसम्म कम खर्चमा बनाउनु जति चुनौतीपूर्ण थियो नै संरक्षण र व्यवस्थापन उति नै चुनौतीपूर्ण।

‘पार्कलाई व्यवस्थित राख्न रेलिङ जरुरी थियो। तर पार्कमा इनोभेसन पनि थप्नु थियो’, मिलनले भने, ‘हामीले पार्कको रेलिङमा साइकलको डिजाइन दियौं। त्यसले साइकल सिटीलाई प्रोत्साहन गर्‍यो।’

रेलिङ मात्र होइन पार्कको मर्मतको खर्च घटाउन समेत डिजाइनबाटै काम भयो।

‘हामीले पार्कमा बोट बिरुवा रोप्दा कसैले पानी नहाले पनि नमर्ने बिरुवा रोजेका छौं’, मिलनले भने, ‘वर्षातको पानीले मात्र पनि पार्कमा हरियाली कायम राख्न ध्यान दिएका छौं।’

पहिलो पार्क बनाएर सकेपछि अहिले उनीहरू जावलाखेलमै अर्को पार्क बनाउने तयारीमा छन्। यसपटक उनीहरूले अलिक ठूलो ठाउँ पाएका छन्। जसमा आर्किटेक्चरको सीप पनि देखाउने तयारीमा छन् उनीहरू।

श्रृंखलालाई राजधानीमा यस्ता धेरै पार्क बनाउने इच्छा छ। जसमा पानी पर्दा ओत लाग्ने ठाउँ होस्। टन्टलापुर घाम लाग्दा छहारी दिने रूखहरू हुन्। पैसा नभए पनि साथीभाइ भेटेर गफ गर्ने ठाउँ होस्।

‘कमाउने मान्छेले त रेष्टुरेन्ट अफोर्ड गर्ला’, श्रृंखलाले भनिन्, ‘पैसा नहुनेका लागि त काठमाडौं ‘नाइटमेयर’ हो। न त पानी पर्दा ओत लाग्ने ठाउँ छ। न त टन्टलापुर घाममा छहारी दिने एउटा रूख छ। कुनै पसलमुनि बस्यो भने धपाउँछन्। गाडीहरूले हेपेर चलाउँछन्। पहुँच हुनेहरूका लागि मात्र काठमाडौं विकसित हुँदै गयो। साथीभाइ भेट्न अहिले पनि शताब्दीऔं अगाडि बनेको पाटन दरबार स्क्वायर जानुपर्छ। त्यति पुरानो संरचनामा भर पर्नुपर्ने अवस्था आफैंमा लाजमर्दो हो।’

बस चढ्न नसक्नेहरूलाई हिँड्न समेत काठमाडौंमा फुटपाथसम्म नभएको कुरा उनलाई बिझेको छ।

‘हाम्रो विकासले पैसा हुनेलाई मात्र काठमाडौं बस्नयोग्य छ। नत्र र यो त पैसा नहुनेका लागि नाइटमेयर। बस चढ्न नसक्ने मान्छे त कहाँ हिँड्ने फुटपाथ छैन। म आफू पनि संघर्षबाट आएको हो। तर अरुको तुलनामा मैले धेरै सुविधा पाएँ होला। अहिले हेर्दा लाग्छ कति गाह्रो छ भन्ने फिल हुन्छ।’

पार्क बनाउँदा समुदायको सहभागितालाई समेत बढाउने श्रृंखला र मिलनको योजना छ।

काठमाडौंको पुरानो बस्ती र सम्पदा छेउमा पार्क बनाउने जग्गा पाए त्यहाँ पुरानै डिजाइनमा पार्क बनाउने उनीहरूको  योजना छ। त्यसमा पनि समुदायले उपयोग र संरक्षण गर्नेगरी पार्क बनाउने उनीहरूको योजना छ।

‘दरबार स्क्वायर वरिपरि वा जति पनि पुराना संरचना छन् त्यसको वरिपरि पुराना सहर छेउछाउ त्यसैलाई आधार मानेर डिजाइन गर्छौं’, श्रृंखलाले भनिन्, ‘सँगसँगै हाम्रो जेनेरेसनको नयाँ पहिचान बनाउने गरी काम गर्छौं।’

जावलाखेलको तरकारी बजारसँगै रहेको स्टिल टावरसँगैको ठाउँमा नयाँ पार्क बनाउन डिजाइन भैरहेको मिलनले बताए।

‘हामी पार्क निर्माणमा समुदायको सहभागिता निश्चित गर्दैछौं’, मिलनले भने, ‘संरक्षणमा उनीहरूको भूमिका हुनुपर्छ।’

श्रंखला भने महानगरपालिकाले पार्कको संरक्षण गर्न एउटा विभाग नै गठन गर्नुपर्ने बताउँछिन्।

‘निर्माणको एक दुई वर्ष हामीले हेर्न सक्छौं होला’, श्रृंखलाले भनिन्, ‘त्यसपछि सम्बन्धित महानगरले जिम्मा लिनुपर्छ।’

पार्क निर्माणलाई ध्यान दिए काठमाडौंको प्रदूषणबीच पनि जीवनको गुणस्तर बढ्ने श्रृंखलाको अपेक्षा छ।

सहर हरेक वर्ग, समुदायका मान्छेका लागि उत्तिकै बस्न योग्य हुनुपर्ने भन्दै नेतृत्वमा रहेकाहरूले बुझ्न जरुरी रहेको उनले बताइन्।

उनी मानिसहरूको प्राथमिकताले पनि रूख जोगाउने कार्यलाई दोस्रो प्राथमिकतामा राखेकोमा खुसी छैनन्।

‘रोड चौडा पार्ने तर रूख जोगाउने विषय सेकेण्डरी भयो’, श्रृंखलाले भनिन्, ‘रूख हुर्कन धेरै समय लाग्छ। मेरो छोराछोरीले पनि म जत्रो भएपछि बल्ल अब चक्रपथमा विगतमा भएको जस्तो रूख देख्न पाउलान्।’

उनी मानिसहरूमा वातावरण जोगाउने चेतना बढाउन जरुरी देख्छिन्।

‘हामी घर बनाउँदा रूख रोप्ने ठाउँ राख्दैनौं। सकेसम्म च्यापेर बनाउँछौं’, श्रृंखलाले भनिन्,’वातावरणले मान्छेको मानसिक स्वास्थ्यमा कति धेरै असर पार्छ भनेर बुझाउनुपर्छ।’

मिलन भने काठमाडौं उपत्यका असरल्ल पर्दा त्यसले हाम्रै पहिचान धुमिल पार्ने बताउँछन्।

‘गाँठो परेको तार भनेको हामी भित्रैको गाँठो हो। राजधानीमा धुलो भएको हामीले आफू भित्रको ऐना नपुछेर हो। अनि राजधानीको साँघुरो ठाउँ भनेको हाम्रो संकुचित विचार हो।’

प्रतिकृया दिनुहोस्