Friday, October 23

दबंगका निर्माता भन्छन्- मेरो सबै प्रोजेक्ट सलमान खानको परिवारले ध्वस्त पारिदियो

June 16, 2020 212

बलिउडको चर्चित सिनेमा दबंगका निर्माता अभिनवसिंह कश्यपले आफ्नो करिअर सलमान खान परिवारले ध्वस्त पारेको आरोप लगाएका छन्।

उनले सोमबार आफ्नो फेसबुकमा सुशान्तसिंह राजपुतको मृत्युमा दु:ख व्यक्त गर्दै उनको मृत्युको विस्तृत छानबिन गर्नसमेत सरकारसँग माग गरेका छन्। साथै उनले आफ्नो करिअर सलमान खान परिवारले ध्वस्त पारेको आरोप लगाएका छन्।

दबंग बनेपछि सलमान खानले कसरी आफ्नो करिअर ध्वस्त पारे भन्नेबारे उनले उक्त स्टाटसमा विस्तृतमा लेखेका छन्।

‘मैले १० वर्षअगाडि दबंगको सिक्वयल बनाइनँ। किनकी अर्बाज खान, सोहेल खान र परिवारले बदमासी गर्दै मेरो करिअरलाई नियन्त्रणमा लिन खोजे। अर्बाज खानले श्री अष्टविनायक फिल्मका प्रमुख राज मेहतालाई फोन गरेर धम्की दिई मसँग काम गरे नराम्रो परिणाम भोग्नु पर्ने भन्दै दोस्रो प्रोजेक्ट ध्वस्त पारे। त्यसपछि मैले सबै पैसा फिर्ता गर्न बाध्य भएँ र भियाकम पिक्चरतिर गएँ। उनीहरूले फेरि त्यस्तै गरे,’ कश्यपले फेसबुकमा लेखेका छन्,’यसपालि सोहेल खान थिए। मैले लिइसकेको सात करोड रकम र ९० लाख ब्याजसहित फिर्ता गर्न बाध्य भएँ र मेरो प्रोजेक्ट ध्वस्त भयो। त्यसपछि मेरो उद्दार रिलायन्स इन्टरटेन्टमेन्टले गर्‍यो र पार्टनरसीपमा ‘बेशरम’ फिल्म बनायौं।’

साथै उनलाई पटक-पटक ज्यान मार्ने धम्की र परिवारका महिला सदस्यलाई बलात्कार गर्नेसम्मको ध्मकी आउने गरेको उनले उल्लेख गरेका छन्। यही कारणले उनको मानसिक स्वास्थ्यमा समस्या आएको र यही कारणले सन् २०१७ मा आफ्नी श्रीमतीसँग सम्बन्धविच्छेद हुन पुगेको समेत बताएका छन्।

साथै उनले जस्तो परिस्थिति आए पनि हार नमान्ने बताएका छन्।

सोमबार नै अर्को स्टाटस लेख्दै उनले १० वर्षसम्म पीडा भोगेको र अब पुगेको बताएका छन्।

‘म आशा गर्छु की ज-जसले व्यक्तिगत रूपमा कष्ट भोगेका छन् उनीहरूले आफ्नो कथा नामसहित लेख्न साहस मिलोस्। यातना दिनेहरूको पर्दाफास गर्नुस् अथवा मबाट कुनै सहयोगको अपेक्षा नगर्नुस्। सलमान खानविरूद्धको यो मेरो संघर्ष हो र यिनीहरूलाई सामना गर्न म एक्लै काफी छु।’

उनले त्यसैमा थपे,’म कहिल्यै आत्महत्या गर्नेछैन तर मलाई केही भइहाल्यो भने अहिलेसम्म देशले थाहा पाइसके कोमाथि आरोप लगाउने भनेर… यसलाई मेरो प्रहरीलाई दिने जाहेरी सम्झनुहोस्। चियर्स।’

पछिल्लो समय अभिनेता सुशान्तसिंह राजपुतको आत्महत्यामा बलिउड असहिष्णु र परिवारवादको राजनीतिले भूमिका खेलेको भन्दै सामाजिक सञ्जालमा बहस सुरू भएको छ।

प्रतिकृया दिनुहोस्