Thursday, October 22

जगदम्बा इन्टरप्राइजेजका सिइओसहित वीरगन्जमा तीन जना कोरोना संक्रमितको मृत्यु

July 31, 2020 220

पर्सा- वीरगन्जमा एकै दिन थप तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

जगदम्बा इन्टरप्राइजेजका सिइयो ५६ वर्षीय भारतीय नागरिक, वीरगन्ज महानगरपालिका वडा नम्बर १६ नगवाका ३५ वर्षीय युवक, वडा नम्बर २ छपकैयाका ७० वर्षीय वृद्ध गरी तीन जनाको बिहीबार मृत्यु भएको नारायणी अस्थायी अस्पताल गण्डकका संयोजक डाक्टर उदयनारायण सिंहले जानकारी दिए।

मुटु रोगी समेत रहेका सिइयोलाई गत ७ गते कोरोना सक्रमणको पुष्टि भएपछी कोभिड अस्पतालमा गण्डकमा भर्ना गरिएको थियो ।

शरीरमा अक्सिजनको मात्रा कमी भएपछि भेन्टिलेटर राखेर उपचार गरिरहेको समयमा विहीबार राति ११ बजे उनको मृत्यु भएको कोभिड अस्पतालका इन्चार्ज डाक्टर निरज सिंहले बताए ।

यसैगरी नगवाका ३५ वर्षीय युवकको गण्डक अस्थायी कोभिड अस्पतालको आइशोलेसनमा उपचारका क्रममा बिहीबार बेलुकी पौने ८ बजे मृत्यु भएको हो ।

ज्वरो आएपछि साउन ५ गते उनलाई तराइ हस्पिटलमा भर्ना गरिएको थियो । तराइ हस्पिटलमा उपचारका क्रममा उनको स्वास्थ्य अवस्था बिग्रिदै गएपछि कोरोनाको आशंकामा उनलाई साउन १३ गते कोभिड अस्पताल भर्ना गरिएको थियो ।

साउन १३ गते नै उपचारका क्रममा उनको स्वाब संकलन गरी नारायणी अस्पतालको प्रयोगशालामा पठाइएको थियो ।

पीसीआर रिपोर्ट नआउँदै बिहीबार बेलुकी पौने ८ बजे उनको मृत्यु भएको कोभिड अस्पतालका चिकित्सक डाक्टर सिंहले जानकारी दिए ।

उनमा निमोनीयाको जस्तै लक्षण देखिएको र स्वास्थ्य अवस्था पनि जटिल रहेको अवस्थामा उपचारका क्रममा मृत्यु भएको डाक्टर सिंहले जानकारी दिए ।

बेलुकी पौने ८ बजे मृत्यु भए पनि उनको कोरोना परीक्षणको  रिपोर्ट राति साढे १० पोजिटिभ आएको नारायणी अस्पतालका मेसु डाक्टर मदन उपाध्यायले जानकारी दिए ।

यस्तै वीरगन्ज–२ छपकैयामा बिहीबार बिहान आफनै घरमा मृत्यु भएका ७० वर्षीय वृद्धमा पनि कारोना संक्रमण भएको पुष्टि भएको हो ।

नारायणी अस्पतालको प्रयोगशालाबाट बिहीबार राति १० बजे प्राप्त रिपोर्ट अनुसार उनीमा कोरोना संक्रमण भएको पुष्टि भएको हो ।

छपकैया स्थित घरमा एक्लै बस्दै आएका ती वृद्ध बिहीबार बिहान आफनै घरभित्र मृत अवस्थामा भेटिएका थिए । राति सुतेका उनी बिहान अबेरसम्म नउठेपछि छिमेकीले प्रहरीलाइ खबर गरेका थिए ।

वडा प्रहरी कार्यालय विर्ताबाट गएको प्रहरी टोलीले घरको मुल ढोका तोडेरभित्र पस्दा वृद्ध आफनै कोठामा मृत अवस्थामा भेटिएका थिए ।  त्यसपछि उनको स्वाब संकलन गरि पीसीआर परिक्षणका लागि नारायणी अस्पतालमा पठाइएको थियो ।

बिहिबार राति १० बजे उनको पीसीआर रिपोर्ट पोजेटिभ आएको मेसु उपाध्यायले जानकारी दिए ।

योसंगै वीरगन्जमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको सख्या १३ पुगेको छ । अहिले पनि कोभिड अस्पतालको आईसीयू कक्षमा ४ जनाको उपचार भइरहेको छ ।

प्रतिकृया दिनुहोस्