Wednesday, October 21

कालीकोटमा पहिरोले पुरिँदा ९ जनाको मृत्यु, पहिचान खुल्न बाँकी

July 29, 2020 159

पहिरोमा घर पुरिँदा कालिकोटमा ९ जनाको मृत्यु भएको छ । कालीकोटको नरहरिनाथ गाउँपालिकामा पहिरोले घर पुरिँदा ९ जनाको मृत्यु भएको हो ।

गाउँपालिकाका अध्यक्ष धीर बहादुर बिष्टले नरहरिनाथ गाउँपालिका–४ गोदी र ७ बाँगामा पहिरोमा घर पुरिँदा ९ जनाको मृत्यु भएको जानकारी दिएका छन् ।

अध्यक्ष बिष्टले भने, ‘पहिरोमा २ जना घाइते भएका छन् । घाइतेहरुको उद्दार गरी स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।’ मृतकहरुको पहिचान खुलेको छैन । घटनास्थल सदरमुकाम मान्माबाट करिब १८ कोष टाढा छ ।

कल्र्भट भत्किँदा सडक अवरुद्ध

अविरल वर्षासँगै सिरहाको बरियारपट्टी गाउँपालिका–३ स्थित कटनियाँ नदीको कल्र्भट भत्किँदा सडक अवरुद्ध भएको छ । कटनियाँ नदीमा आएको बाढीका कारण कल्र्भट भत्किँदा भारतीय सीमावर्ती बरियारपट्टी बजारसम्म जोडिएको सो सडक अवरुद्ध भएको हो ।

सडक अवरुद्ध हुँदा जिल्लाको बरियारट्टी गाउँपालिकासहित जिल्लाको सुखीपुर नगरपालिका र धनगढीमाई नगरपालिकाको विभिन्न वडाका स्थानीयवासी समस्यामा परेका छन् ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहाको धनगढीमाई नगरपालिकाको जिरोमाइल बजारदेखि बरियारपट्टी बजारसम्म जोड्ने करिब १८ किलोमिटरको सो सडक अवरुद्ध भएपछि सवारी साधनको आवतजावतमा ठूलो समस्या भएको स्थानीयवासीको गुनासो छ ।

“कल्र्भट भत्किएर तीन दिनदेखि सवारी आवागमन अवरुद्ध भएको छ”, बरियारपट्टी गाउँपालिका–३ का सन्दीप महतोले भने, “कल्र्भट भत्किएर कुनै पनि बेला ठूलो दुर्घटना हुनसक्ने भएकाले आवतजावत बन्द भएको छ ।” केही दिनदेखिको अविरल वर्षाका कारण कल्र्भट भत्किएर सडक अवरुद्ध हुँदासमेत मर्मतसम्भार गर्नेतर्फ स्थानीय सरकारको ध्यान पुग्न नसकेको उनको गुनासो छ ।

दैनिक करिब सयौँ सङ्ख्यामा सवारी साधनको ओहोरदोहोर भइरहने सडकमा कल्र्भट भत्किएपछि यात्रुलाई ठूलो समस्या भएको सशस्त्र प्रहरी बल बेस क्याम्प बरियापट्टीका सशस्त्र प्रहरी निरीक्षक कुमार तिल्मिसिनाले बताए । उनले भत्किएको ठाउँमा स्काभेटरबाट बाटो सञ्चालनको तयारी भइरहेको बताए । यता बरियारपट्टी गाउँपालिका अध्यक्ष सन्तोष मेहताले भत्किएको कल्र्भट मर्मतका लागि सडक डिभिजन कार्यालयसँग पहल भइरहेको बताएका छन् ।

प्रतिकृया दिनुहोस्