Tuesday, October 27

दयाहाङ राईलाई मनपर्ने फिल्म- पाँच लाख किसानको लगानीमा बनेको ‘मन्थन’

June 15, 2020 208

श्याम बेनेगल निर्देशित हिन्दी फिल्म ‘मन्थन’ पाँच लाख किसानको लगानीमा बनेको सिनेमा हो। यो सिनेमा बनाउन उनीहरूले दुई-दुई रुपैयाँ दिएर सहयोग गरेका थिए।

निर्देशकलाई यसरी पैसा उठाउने उपाय सुझाउने व्यक्ति थिए, डाक्टर वर्गीज कुरियन। डाक्टर वर्गीज भारतका गाउँगाउँमा श्वेत क्रान्ति ल्याउने श्रेय पाएका अमूल डेरीका संस्थापक हुन्। सहकारी मार्फत किसानलाई आत्मनिर्भर बनाउँदै डेरी व्यवसायमा भारतलाई संसारकै अग्रणी देश बनाउनमा उनको ठूलो योगदान छ। विश्वमा दूध उत्पादन गर्ने महत्वपूर्ण देश भारतको ग्रामीण अर्थ व्यवस्थामा डेरी उद्योगको महत्वपूर्ण भूमिका छ।

सन् १९७० दशकमा सहकारी अभियानले गुजरातको आर्थिक गतिविधिसँगै सामाजिक राजनीतिक जीवनमा पनि उथलपुथल ल्याएको थियो। ‘मन्थन’ त्यही उथलपुथलको कथा हो।

विषयवस्तु र निर्माण प्रक्रिया दुवै हिसाबले किसानको सिनेमा भएकाले मन्थनलाई नेपाली अभिनेता दयाहाङ राई उदाहरणीय सिनेमा मान्छन्। उनी भन्छन्, ‘सामाजिक मुद्दामा राम्रो सिनेमा बनाउन सकिन्छ भन्ने एउटा राम्रो उदाहरण हो मन्थन।’

दयाहाङलाई मन परेको मन्थनको कथा डाक्टर रावको गुजरात आगमनसँगै सुरू हुन्छ। फिल्ममा डाक्टर रावको भूमिका गिरीश कर्नाडले निर्वाह गरेका छन्, जुन अमूल डेरीका संस्थापक डाक्टर वर्गीजसँग मेल खान्छ।

डाक्टर राव कोअपरेटिभ सोसाइटी खोल्ने सपना र जिम्मेवारी बोकेर गुजरातको खेडा जिल्ला पुग्छन्। उनको साथमा केही सहयोगी पनि हुन्छन्। खेडामा गरिब किसानको बाहुल्य छ। पशुपालन गरेर जीविकोपार्जन गर्ने उनीहरू स्थानीय डेरीमा कम मूल्यमा दूध बेच्छन्। दूधको फाइदाको मुख्य हिस्सा किसानले भन्दा डेरी सञ्चालक मिश्राजीले उठाइरहेका छन्। मिश्राजीको भूमिकामा अमरीश पुरी छन्।

सहकारीको सिद्धान्तले हरेक सदस्यलाई समान मान्छ। सदस्यको जात, धर्म र लिंगप्रति भेदभाव राख्दैन। तर खेडा गाउँमा वर्ग, जात, धर्म र लै‌ंगिक विभेदले यहाँको दैनिक जीवनमा जरा गाडेर बसेको हुन्छ। सारा गाउँ समेटेर सहकारी खोल्ने डाक्टर राव र उनको समूहको प्रयासमा यिनै कुरा अड्चन बनिदिन्छ। सहकारीको अवधारणा र गतिविधि यहाँका सोझा किसानमाथि हालीमुहाली गर्ने मिश्राजी र सरपञ्च (कुलभुषण खरबन्दा) जस्ता व्यक्तिका लागि घाँडो बनिदिन्छ।

अर्कोतिर बिन्दु (स्मिता पाटिल) र भोला (नसिरुद्दीन शाह) जस्ता गरिब र हरिजन (दलित) का लागि ऋणमुक्त भई आत्मनिर्भर बन्ने अवसर बनेर आउँछ।

‘मन्थनले सतहमा डेरी व्यवसाय र सहकारी खोल्ने संघर्षको कथा भन्छ। तर यसमा वर्गीय र जातीय विभेदको कुरा पनि सशक्त ढंगले आएको छ,’ दयाहाङ भन्छन्।

दयाहाङको बुझाइमा गाउँहरू श्रम, सिप र उत्पादनका केन्द्र र सहरहरू नयाँ विचारका संवाहक हुन्। गाउँलाई ऊर्जाको स्रोत मान्दै सहर गाउँ पसेको कुरा यो सिनेमाको सबैभन्दा महत्वपूर्ण पक्ष मान्छन्।

उनलाई अर्को महत्वपूर्ण लागेको कुरा हो, मन्थनले किसान होस् वा अरू समूह, उद्देश्य प्राप्तिका लागि एकजुट हुनुपर्ने कुरामा जोड दिन्छ। एकतामै समाज र मान्छे बलियो हुन्छ।

उनका अनुसार मन्थनमा सहरलाई नयाँ विचारको स्रोत र समुदायलाई नीति निर्णयको हकदारका रूपमा देखाइएको छ।

‘भारतजस्तै नेपालमा पनि ऊर्जास्रोत र सिप गाउँमै छ। हामीलाई पनि गाउँको सामर्थ्य पहिचान गरेर डाक्टर रावजस्तै गाउँ पस्ने पात्र चाहिएको छ,’ उनी भन्छन्।

कृषि प्रधान देश भनेर जति नै रटाइए पनि नेपाली किसानले उत्पादनको उचित मोल नपाएर बिचौलियाहरूले फाइदा कमाइरहेको अवस्था छ। मन्थनको मुख्य द्वन्द्व नै विचौलियाबाट श्रमिकमा नाफा सार्ने कुरामा केन्द्रित छ।

दयाहाङ जोड दिन्छन्, ‘सिनेमामा यो द्वन्द्व र त्यसले दिने सन्देश निकै महत्वपूर्ण छ।’

पर्दामा देखिने एकसेएक राम्रा अभिनेताबाहेक मन्थनको स्क्रिनप्ले लेखनमा विजय तेन्डुल्कर, संवादमा कैफी आजमी, सिनेममटोग्राफीमा गोविन्द निहलानीजस्ता होनहार जोडिनुले पनि मन्थनको स्तर बढाएको दयाहाङ बताउँछन्।

उनलाई मन्थनमा सबै कलाकारको काम मन परे पनि नसिरुद्दीन, स्मिता र गिरीशको अभिनय खास मन परेको रहेछ। गिरीश कर्नाड लेखन, रंगमञ्च र सिनेमाको क्षेत्रमा महत्वपूर्ण नाम हो जसका केही चर्चित नाटकहरू नेपालमा पनि मञ्चन भएका छन्। अनुप बरालको निर्देशनमा गिरीश कर्नाडको कन्नड भाषामा लेखिएको ‘अंजुमल्लिगे’ नाटककाे नेपाली रुपान्तरण ‘बाँकी उज्यालो’मा अभिनय गरेका दयाहाङ भन्छन्, ‘गिरीशको नाटकमा अभिनय गरेको धेरै वर्षपछि मात्रै मन्थन हेरेर उनकाे व्यक्तित्वको अर्को आयाम थाहा पाएँ।’

यसमा नसिरुद्दीनको भूमिकालाई उनी जातीय र वर्गीय शोषणविरुद्ध युवा आक्रोशको उदाहरण मान्छन्। गाउँमा ऊर्जा र सिप मात्रै छैन। अन्याय र असमानताका गहिरा खाडल पनि छन्। गुजरातको खेडावासीमा त्यो खाडलविरुद्धको आक्रोशलाई नसिरुद्दीनको चरित्रले नेतृत्व गर्छ। दलित पात्रसँग सहकारी मण्डलको चुनावमा हारेपछिको सरपञ्चको रुन्चे हाउभाउ भने ढल्न लागेको सामन्ती व्यवस्थाको प्रतीक हो।

सन् १९७० दशकमा यथार्थवादी धारका कलात्मक सिनेमाको लहर चल्यो। श्याम बेनेगल त्यो चरणका उम्दा निर्देशक मानिन्छन्। ‘अंकुर’, ‘निशान्त’, ‘भूमिका’, ‘मन्डी’, ‘त्रिकाल’, ‘जुनून’ लगायत दर्जनौं सिनेमा मार्फत उनले अन्तर्राष्ट्रिय स्तरको ख्याती कमाएका छन्। स्मिता पाटिल, नसिरुद्दीन, शबाना आजमी, ओम पुरीलगायत दर्जनौं प्रतिभालाई स्थापित गर्ने श्रेयसमेत उनैलाई दिइन्छ।

दयाहाङको भनाइमा, त्यो समयका धेरै भारतीय निर्देशकले राज्यले बनाएको संस्थामा पढे पनि, राज्यकै सहयोगमा सिनेमा बनाए पनि राज्यको चाकडीमा आफूलाई सीमित गरेनन्। बरु, समाज र राज्यको गलत रवैयाप्रति प्रश्न गर्ने सिनेमा बनाएर कलात्मक स्वतन्त्रता उपयोग गरे। मन्थन प्रायोजित भए पनि यसमा किसानको स्वार्थ र हित केन्द्रमा राखिएको छ।

नेपालमा भने पञ्चायतकालीन सिनेमा राज्यको चाकडी र डरमै खुम्चियो। त्यसपछिका सिनेमा पनि बलिउडको ह्याङओभरबाट बाहिर निस्कन सकेन।

‘हामीले श्याम बेनेगल वा मन्थनजस्तो फिल्मबाट धेरैअघि नै धेरै कुरा सिक्न सक्थ्यौं। तर मिस गर्‍यौं’, उनी चुकचुकाउँदै थप्छन्, ‘समाजको यथार्थ चित्रण गर्ने सोच र सिपबाहेक यसको निर्माण प्रक्रिया आज पनि नेपाली सिनेमा क्षेत्रका लागि काम लाग्ने खालको छ।’

तत्कालीन कोभिड-१९ महामारीको सन्दर्भ जोड्दै दयाहाङ भन्छन्, ‘लकडाउनले थिलथिलो भएको नेपाली सिनेमा क्षेत्रले मन्थनको क्राउड फन्डिङ शैलीबाट अर्थ जुटाउने विकल्पबारे सोच्ने र सिक्ने ठाउँ पनि दिन्छ जस्तो लाग्छ।’

प्रतिकृया दिनुहोस्