Tuesday, November 24

सरिता गिरीकाे सांसद पद गुम्दै, पार्टीले निस्काशन गर्दै

June 15, 2020 389

काठमाडौँ : विवादित सांसद सरिता गिरीलाई समाजवादी पार्टीले पार्टीबाट निस्कासित गर्ने भएको छ ।

संविधान संशोधनका क्रममा पार्टी ह्विप विपरीत गएको भन्दै उनलाई कारबाही गरिने तयारी गरिएको समाजवादी स्रोतले बतायो ।

यसअघि उनले भारतबाट लिपुलेक, लिम्पियाधुरा र कालापानी लगायतका क्षेत्र फिर्ता लिन तथा ती क्षेत्रलाई नक्सामा उल्लेख गर्द‌ै राष्ट्रिय निशानमा समेत समेट्न गरिएको संविधान संशोधन प्रस्तावमाथि संशोधन हालेकी थिइन् । उनको सोही कदमले पार्टी उनीसँग असन्तुष्ट रहेको बताइन्छ ।

सांसद गिरीले आफू लिपुलेक र लिम्पियाधुरा नेपालको हो भन्ने कुरा नमान्ने समेत उल्लेख गरेकी थिइन् । शनिबार प्रतिनिधि सभामा भएको संविधान संशोधन बैठक पनि उनले बहिष्कार गर्दै बाहिरिएकी थिइन् । सोही दिन पार्टीका बरिस्ठ नेता डा. बाबुराम भट्टराईले पार्टी ह्विपविरुद्ध गएकाले सरिता गिरीलाई कारबाही गरिने बताएका थिए ।

यद्यपि पार्टीले उनलाई कारबाही गरेको अौपचारिक निर्णय सार्वजनिक गरिसकेको छैन । ‘हामीले उहाँलाई बोलाएर पार्टीको निर्णय मान्न सम्झायौं, स्रोतले भन्यो,‘ तर, उहाँले पार्टीको निर्देशन मान्नुभएन ।

पार्टी नेताहरु उपेन्द्र यादव बिराटनगरमा र डा. बाबुराम भट्टराई गोरखामा भएकाले दुबै नेता काठमाडौं फर्कनासाथ पार्टीको साधाराण सदस्याट समेत हटाइने पार्टी स्रोतले बतायो ।

संविधानको धारा ८९ को (ङ) मा जुन दलको उम्मेदवार भई प्रतिनिधिसभा सदस्य बनेको हो, त्यस्तो दलले दल त्याग गरेको कुरा सूचित गरेमा सांसद पद निलम्वन हुने प्रावधान छ ।

समाजवादी पार्टीकी नेतृ गिरी खस आर्यको कोटाबाट समानुपातिकतर्फकी सांसद भएकी हुन् ।

प्रतिकृया दिनुहोस्