Wednesday, October 21

दार्चुलामा पहिरोले घर पुर्दा दाजुभाइको मृत्यु

July 21, 2020 123

दार्चुला, दार्चुलामा पहिरोले घर पुर्दा दुई जनाको मृत्यु भएको छ भने तीन जनाको जीवितै उद्धार गरिएको छ। दार्चुलाको मालिकार्जुन गाउँपालिका–८ शंकरपुरमा अविरल वर्षासँगै आएको पहिरोले घर पुर्दा लेकम गाउँपालिका–५ घर भएका अन्दाजी २७ वर्षीय अर्जुन दर्जी र २२ वर्षीय मिलन दर्जीको मृत्यु भएको हो। पहिरोले घर पुर्दा पुरिएका उनीहरुको शव अहिले निकालिसकिएको मालिकार्जुन गाउँपालिका–८ का वडा सदस्य केशवसिंह धामीले जनाकारी दिए। पहिरोमा परी घरधनी ३५ वर्षीया लक्ष्मी ढोली, नौ वर्षीय छोरा शुभम् र १४ वर्षीया छोरी सोनिया घाइते भएका छन्।

तीन जनालाई स्थानीय र प्रहरीले घरभित्रबाट जीवितै उद्धार गरेको स्थानीय अनिल खत्रीले जानकारी दिए। घाइते लक्ष्मी र छोरी सोनियाको थप उपचारको लागि हेलिकप्टर ल्याउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक पदमबहादुर विष्टले जानकारी दिए। बिहान ३ बजेतिर घरमाथिबाट पहिरो आएको हो। पहिरोमा पुरिएर मृत्यु भएका मिलन र अर्जुन दाजुभाइ हुन्। उनीहरु गौरापर्वको लागि लुगा सिउन शंकरपुर पस्ती आएका हुन्। घाइतेको अहिले शंकरपुर स्वास्थ्यचौकी पस्तीमा उपचार भइरहेको छ। यस्तै पहिरोले सुविरसिंह धामी र हरसिं धामीको पसलमा क्षति पुगेको छ।

प्रतिकृया दिनुहोस्