Thursday, March 4

अझै पाँच दिन भारी वर्षा हुने

July 20, 2020 162

नेपालमा अझै पाँच दिनसम्म भारी वर्षा हुने भएको छ।

न्यून चापीय रेखा नेपाली आकाशमाथि आएर बसेको र उक्त रेखा नहटेसम्म वर्षात जारी रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागका महानिर्देशक सरजकुमार वैद्यले मुलुकको मौसमी अवस्थाबारे सोमबार ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन अनन्तलाई ब्रिफिङ गरेका थिए। त्यस क्रममा वैद्यले ९ साउनपछि मात्र क्रमशः पानी पर्ने क्रम कम भएर जाने उल्लेख गरे।

उनका अनुसार नेपालको प्रदेश–१, प्रदेश–२, बागमती, गण्डकी, प्रदेश–५ र सुदूरपश्चिम प्रदेशमा घना वर्षा भइरहेको छ। पछिल्लो २४ घण्टामा मुलुकको अधिकांश स्थानमा एक सय मिलि लिटर वा सो भन्दा बढी पानी परिरहेको वैद्यले बताए।

यो मात्र अझै बढेर २ सय मिलि लिटर पानी पर्ने सम्भावना छ। न्यून चापी रेखा पश्चिमबाट पूर्वतिर सरेकाले केही दिन पूर्वपहाडी क्षेत्रमा अत्याधिक वर्षातको सम्भावना रहेको वैद्यले बताए।

२४ घण्टामा कहाँ पर्‍यो धेरै पानी?
विभागका महासचिव वैद्यका अनुसार पछिल्लो २४ घण्टामा बाराको कोल्दीमा सबैभन्दा बढी १ सय ६९ मिलिमिटर पानी परेको छ।

यस्तै नवलपुरको डण्डामा १ सय ५०.६, तनहुँको श्याम्घामा १४८.८ तथा गोरखामा १४०. २ मिलिमिटर पानी परेको छ।

यो परिणाममा अझै वृद्धि हुने वैद्यले बताए। ‘यो पछिल्लो २४ घण्टाको विवरण हो’, वैद्यले भने, ‘यो अझै बढ्छ र धेरै स्थानमा २ सय मिलिमिटरसम्म पानी पर्छ।’

हरेक दिन मिडिया ब्रिफिङ
मौसम पूर्वानुमानबारे जानकारी लिएपछि मन्त्री पुनले पछिल्लो समय नेपालको मौसम पूर्वानुमान प्रणालीमा धेरै सुधार गरिएको बताए। आगामी दिनमा विभागबाट जारी हुने मौसमसम्बन्धी सूचना थप विश्वसनीय बनाउनुपर्नेमा उनको जोड थियो।

‘पहिलाको तुलनामा अहिले हामीले जल तथा मौसमको पूर्वानुमानप्रति विश्वास गर्न सक्ने आधार बनाएका छौं’, मन्त्री पुनले भने, ‘आगामी दिनमा थप विश्वसनीय बनाउनुपर्छ।’ उनले मौसम पूर्वानुमानका लागि राज्यले प्रविधि र जनशक्तिमा धेरै लगानी गरेको भन्दै पूर्वसूचना प्रदान गरेर जनताको जीवन बचाउन कुनै कसर बाँकी नराख्न निर्देशन दिए।

‘बाढी र पहिरोको सही सूचना सही समयमा दिऔं, सूचना नपाएका कारण एक जनाले पनि ज्यान गुमाउनुनपरोस्।’ यस्तै बाढीपहिरोको सूचनालाई थप प्रभावकारी बनाउन भोलि .(सोमबार) देखि अधिक वर्षात नरोकिएसम्म हरेक दिन मन्त्रालयमा मिडिया ब्रिफिङ गर्न मन्त्री पुनले विभागलाई निर्देशन दिए। विभागले सोमबारदेखि बिहान हरेक दिन बिहान ११ः ०० बजे सामाजिक दूरी कायम गर्दै मिडिया ब्रिफिङ गर्ने भएको छ।

प्रतिकृया दिनुहोस्