Monday, October 26

बिरामीलाई अस्पताल लैजाँदा प्रयोग गर्ने भेन्टिलेटर नेपालमै उत्पादन, सरकारी स्वीकृतिको पर्खाइमा

July 19, 2020 174

पछिल्लो समय विभिन्न कम्पनी तथा युवा प्राविधिकहरू नेपालमै भेन्टिलेटर बनाउन लागिपरेका छन्। कोभिड-१९ ले यसको आवश्यकता बढाएको छ।

यसै क्रममा ‘पाइला टेक्नोलोजी’ का १० नेपाली युवा इञ्जिनियरले ‘ट्रान्सपोर्ट’ भेन्टिलेटर बनाएका छन्।

अरू देशमा कोरोना बिरामी उपचार गर्न यस प्रकारको इमर्जेन्सी भेन्टिलेटर सुरू गरेको देखेपछि नेपालमा पनि बनाउन थालेको कम्पनीका सह–संस्थापक विनय राउतले बताए।

यो आइसियुमा गम्भीर प्रकृतिका बिरामी उपचार गर्न प्रयोग हुने भेन्टिलेटर होइन। बिरामीलाई अस्पताल लैजाँदा श्वासप्रश्वासको समस्याले गम्भीर अवस्था नआओस् भनेर यो भेन्टिलेटर प्रयोग गर्न सकिने राउत बताउँछन्।

‘कोरोनाका गम्भीर बिरामीलाई त उच्चस्तरीय भेन्टिलेटर नै चाहिन्छ, तर दुर्गम ठाउँबाट काठमाडौं ल्याउँदा कतिपय बिरामीको भेन्टिलेटर अभावले बाटोमै मृत्यु हुने गरेको छ,’ उनले भने, ‘टाढाबाट बिरामी ल्याउँदा यस प्रकारको हल्का भेन्टिलेटर प्रयोग गर्न सकिन्छ।’

दुर्गम क्षेत्रमा आकस्मिक अवस्थाका लागि पनि यस्तो सानो र हल्का भेन्टिलेटर प्रयोग गर्न उपयुक्त हुने उनी बताउँछन्। यो भेन्टिलेटर एक ठाउँबाट अर्को ठाउँमा सजिलै लैजान सकिन्छ। आइसियुमा राख्न नपर्ने तर श्वासप्रश्वासमा समस्या भएका बिरामीका लागि उपयुक्त हुने उनी बताउँछन्।

तीन वर्षअघि स्थापित यो कम्पनीका प्राविधिकले भेन्टिलेटर बनाउन करिब दुई महिना विभिन्न अस्तपतालका चिकित्सकसँग परामर्श लिएका थिए।

‘हामीले धुलिखेल, वीर, टेकु र टिचिङ अस्पतालका चिकित्सकको परामर्श लिएका थियौं। उहाँहरू यस प्रकारको भेन्टिलेटर बनाउन सकारात्मक हुनुहुन्थ्यो। ६० प्रतिशत केसमा प्रयोग गर्न सकिन्छ भन्ने सुझाव आएर नै हामी अघि बढेका हौं,’ राउतले भने, ‘अब हामी सरकारी स्वीकृतिको प्रतीक्षामा छौं। सरकारले अनुमति दियो भने व्यावसायिक उत्पादनमा जान सक्छौं।’

उनका अनुसार, आइसियु भेन्टिलेटर गह्रौं भएकाले एम्बुलेन्समा जडान गर्न गाह्रो हुन्छ। ट्रान्सपोर्ट भेन्टिलेरलाई एम्बुलेन्समा जडान गर्न सजिलो हुने गरी हलुका बनाइएको छ।

‘हामीले केही सुविधा कम गरेर तौल घटाएका छौं। भेन्टिलेटर नभएका ग्रामीण स्वास्थ्य चौकी र एम्बुलेन्समा राम्रो विकल्प हुन सक्छ,’ उनले भने।

यस प्रकारको भेन्टिलेटर सहज र सस्तो पर्ने हुनाले बाहिरी मुलुकमा पनि प्रयोगमा आएको छ। अमेरिका, बेलायत, भारत लगायत मुलुकले प्रयोग गर्दै आएका छन्। यसले मानिसको स्वास्थ्यमा कस्तो प्रभाव पार्छ भनेर उनीहरूले विभिन्न अस्पतालमा परीक्षणसमेत गरिसकेका छन्।

‘भेन्टिलेटरले काम गर्छ कि गर्दैन भनेर हामीले धुलिखेल अस्पतालमा लगेर परीक्षण गर्यौं, परीक्षण सफल भयो,’ उनले भने, ‘टेकु, वीर र टिचिङ अस्पतालका डाक्टरले पनि यो प्रयोगयोग्य भएको बताएका छन्।’

संक्रमण रोग तथा आइसियू विशेषज्ञ डा. प्रभात अधिकारी यसले आइसियु भेन्टिलेटरलाई प्रतिस्थापन नगर्ने, तर त्यसको ८० प्रतिशत काम गर्ने बताउँछन्।

‘बिरामीलाई एक ठाउँबाट अर्को ठाउँ लैजाँदा यो भेन्टिलेटर एकदमै उपयोगी हुनेछ। विशेषगरी कोभिडका बिरामीलाई प्रयोग गर्न सकिन्छ,’ उनले भने।

नेपालमा ६ सय भेन्टिलेटर सञ्चालनमा छन्। नेपाल भेन्टिलेटर बैंकले ३ देखि ५ हजार भेन्टिलेटर आवश्यक रहेको जनाएको छ। सय दिनमा हजार वटा भेन्टिलेटर ल्याउन बैंकले पैसा संकलन गरिरहेको छ।

ट्रान्सपोर्ट भेन्टिलेटर करिब २० लाख रूपैयाँमा निर्माण भएको हो। अनुसन्धानमा धेरै खर्च भएकाले महँगो परे पनि पछि सस्तो हुने कम्पनीले जनाएको छ। ‘पछि प्रतिभेन्टिलेटर एकदेखि डेढ लाख पर्छ भन्ने अनुमान छ,’ उनले भने, ‘यस्तै भेन्टिलेर बाहिरबाट ल्याउँदा २०-२२ लाखसम्म पर्छ।’

नेपालमा यस्तो प्रविधि अनुगमन तथा मूल्यांकन गर्ने आधिकारिक निकाय नभएकाले काम गर्न असहज भएको कम्पनीका अर्का संस्थापक सागर श्रेष्ठ बताउँछन्।

‘यसलाई प्रयोगमा ल्याउन मापदण्डअनुसार छ कि छैन प्रमाणीकरण गर्नुपर्छ। सम्बन्धित सरकारी निकायले गुणस्तर जाँचेर सुझाव दिए हामीलाई त्यसैनुसार बनाउन सहज हुन्थ्यो,’ उनले भने।

उनले थपे, ‘हामी अनुमोदनको पर्खाइमा छौं, सरकारबाट स्वीकृति पाए महिनामै सयभन्दा बढी बनाउन सक्छौं।’

प्रतिकृया दिनुहोस्