Wednesday, October 21

बेनी–जोमसोम सडकमा फेरि गयाे पहिरो

July 19, 2020 107

म्याग्दी — बेनी–जोमसोम सडकको रुप्से–घाँसा खण्डकाे काप्रे भीरमा आइतबार बिहानै गएकाे पहिरोले बेससहित सडक बगाएको छ ।

केही दिनअघि पनि काप्रेभीर–बाँदरजुंभीर क्षेत्रमै कालीगण्डकी नदीले बेनी–जोमसोम सडकको बेससहित सडक बगाएको थियो । कालीगण्डकी नदी कटानले अवरुद्ध सडक मर्मत नहुँदै आइतबार नजिकै माथिबाट झरेको अर्को पहिरोले सडक बगाएको हो ।

पहिरोग्रस्त काप्रेभीर/बाँदरजुँगभीर क्षेत्रको सडकबाट तल नदी देख्न नसकिने गरी लुकेको छ । यही क्षेत्रमा बर्सेनि कहिले तलबाट सडक भासिन्छ । कहिले तलेत्रेभीरमा माथीबाट सडकको बेससहित बग्छ ।

‘तीन दिनअघि कालीगण्डकीले करिब २० मिटर सडक खसाल्यो । आज माथिबाट पहिरोले सडक नै बगेर तल कालीगण्डकीमा खस्यो । साँघुरो क्षेत्रको कडा पहाडमा खोपेर बनाएको सडक नै भासिएपछि डाइभर्सन बनाउनै समस्या भएको छ’ स्थानीय इन्द्रसिं शेरचनले भने, ‘पुराना पहिरोमा कालीगण्डकी किनाराबाट ग्याभिन थापेर सडकको बेस बनाउन थालिएको छ । नयाँ पहिरोमा कसरी काम गर्ने टुङ्गो लागेको छैन ।’

बेनी–जोमसोम सडकको प्रवेश गलेश्वरस्थित राहुघाट खोलाले बेलीब्रिज भत्काएको छ । त्यसैगरी सडक खण्डको वैसरीमा निरन्तर पहिरो झर्ने क्रम यथावत छ । वेग खोलामा बेलीब्रिज तीन वर्षअघि बाढीले बगाएको अझै अर्को पुल नपरेकोले बर्खा पानी पर्दा अवरुद्ध हुन्छ । दानाकाको गुइँठे, खट्टेखोला र काप्रेमा सधंै पहिरोले सडक पर्ने र बगाउने हुँदा यातायात अवरुद्ध हुने गरेको छ ।

प्रतिकृया दिनुहोस्