Tuesday, November 24

कोरोनाले धरानमा मृत्यु भएका पुरुष १३ दिनअघि भारतबाट आएका थिए

July 17, 2020 222

राजविराज : उपचारका क्रममा बिहीबार राति सप्तरीको राजविराजका-६ का व्यापारी ७३ वर्षीय रामकृष्ण दासको मृत्यु भएको छ। कोशी ग्यासको प्रमुख डिलर र खाद बीज भण्डारका सञ्चालक दासको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो ।

भारतको दिल्लीबाट दरभंगा हुँदै कान्छा छोरा र श्रीमतीसहित दास १३ दिनअघि घर आएको वडा अध्यक्ष प्रेम यादवले जानकारी दिए । लकडाउनअघि श्रीमतीको कलेजोसम्बन्धी उपचारका लागि दिल्ली गएका उनी उपचारपछि आउन नपाएर भारतमै रोकिएका थिए ।

लकडाउन खुकुलो भएपछि १३ दिनअघि फर्किएका दासलाई श्वासप्रश्वासमा समस्या देखिएपछि बुधबार धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान भर्ना गरिएको थियो । दास मुटु र प्रोस्टेटका बिरामी थिए ।

दासको मृत्युपछि मात्र उनीहरु १३ दिनअघि भारतबाट राजविराज आएकोबारे स्वास्थ्य कार्यालय सप्तरीले जानकारी पाएको स्वास्थ्य कार्यालयका निमित्त कार्यालय प्रमुख दुनियालाल यादवले बताए ।

राजविराज नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष प्रेम यादवका अनुसार श्रीमतीको उपचार गरेर १३ दिनअघि फर्किएका दास परिवार घरमा बस्न थालेपछि आफूले जानकारी पाएको र होम क्वारेण्टाइनमा बसेको जानकारी दिए ।

कोराना संक्रमित दासको मृत्युपछि उनको श्रीमती, छोरा, बुहारी, नाती, नातिनी र घर-पसलमा कार्यरत कर्मचारीको स्वाब संकलन गर्न लागिएको स्वास्थ्य कार्यालय, सप्तरीले जनाएको छ ।

कोशी ग्यासको प्रमुख डिलर र खाद बीज भण्डारका सञ्चालक दासको राजविराज ६ सिरहा रोडस्थित घरमै पसल छ । चित्रगुप्त सेवा समितिका पूर्व अध्यक्ष, नेपाल पशुपंक्षी औषधि व्यवसायी संघका पूर्व जिल्ला अध्यक्ष, सप्तरी उद्योग बाणिज्य संघका सल्लाहकार, राजविराज हटियास्थित राधाकृष्ण मन्दिर र डिंहवार थान निर्माण समितिका कोषाध्यक्ष, विभिन्न बीमा संस्थानका सिनियर अभिकर्ता दास सामाजिक कार्यमा सक्रिय थिए । नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४० पुगेको छ भने कोरोना संक्रमणले मृत्यु हुने दास सप्तरीको पहिलो व्यक्ति हुन् ।

प्रतिकृया दिनुहोस्