Tuesday, November 24

पाकिस्तानी पूर्वप्रधानमन्त्री गिलानीमा कोरोना संक्रमण

June 14, 2020 122

इस्लामावाद: पाकिस्तानका पूर्वप्रधानमन्त्री युसुफराजा गिलानीमा शनिबार कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ।

पाकिस्तानी सञ्चार माध्यमका अनुसार संक्रमणको पुष्टि गिलानीका छोरा कसिम गिलानीले गरेका हुन्। कसिमले शनिबार ट्वीटर मार्फत् आफ्नो बुवालाई कोरोना संक्रमण भएको पुष्टि गरेका हुन्।

आफ्नो बुवालाई संक्रमण हुनुमा पाकिस्तान सरकार र नेसनल एकाउनटेबिलिटी ब्यूरो (एनएबी) जिम्मेवार रहेको बताएका छन्। ‘इमरान खानको सरकार र एनएबीलाई धन्यवाद’, उनले ट्वीटरमा भनेका छन्, ‘तिमीहरूले मेरो बुवाको जीवनलाई खतरामा राख्यौ।’

गिलानीलाई केही दिनअघि भ्रष्ट्राचार मुद्दाको सुनुवाईका लागि एनएबी कार्यालय लगिएको थियो। त्यस लगत्तै उनलाई कोरोना संक्रमण भएको हो।

गिलानी सन् २००८ को मार्चमा प्रधानमन्त्री बनेका थिए। उनलाई भ्रष्ट्राचारको आरोप लागेपछि २०१२ को अप्रिल अन्तिममा पदबाट हटेका थिए।

यसैगरी पाकिस्तानी क्रिकेटका पूर्व कप्तान शहिद अफ्रिदीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ। उनमा शनिबार संक्रमण पुष्टि भएको हो।

चीनको वुहानबाट गत डिसेम्बर ३१ देखि फैलिएको कोरोनाबाट हालसम्म पाकिस्तानमा १ लाख ३२ हजार ४०५ मा संक्रमण भइसकेको छ। जसमध्ये २ हजार ५५१ ले ज्यान गुमाएका छन् भने ५० हजार ५६ जना निको भएको जोन्स हप्किन्स विश्वविद्यालयले उल्लेख गरेको छ।

प्रतिकृया दिनुहोस्