Thursday, December 3

ठोरी र माडीका जनप्रतिनिधि भन्छन्– अयोध्याबारे बोलेकोमा प्रधानमन्त्रीलाई धन्यवाद !

July 16, 2020 159

१ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अयोध्या र भगवान् श्रीरामको जन्मस्थानका बारेमा दिएको अभिव्यक्तिपछि उनको चौतर्फी आलोचना भइरहेको छ । परराष्ट्र मन्त्रालयले अयोध्याबारे प्रधानमन्त्रीको अभिव्यक्ति ‘राजनीतिक विषयसँग जोडिएको छैन र कसैको भावनामा चोट पुर्‍याउने आशय थिएन’ भनरे स्पष्टीकरण दिएको छ । प्रधानमन्त्रीको अभिव्यक्तिले नेपालको धार्मिक र सांस्कृतिक क्षेत्रमा नयाँ तरंग ल्याइदिएको छ ।

प्रधानमन्त्रीको अभिव्यक्तिको आलोचना भइरहँदा कतिपयले चाहिँ यसमा खोज अनुसन्धान हुनुपर्ने बताउन थालेका छन् । उनीहरुले रामको जन्मभूमि अयोध्यासँग जोडिएका ऐतिहासिक तथ्य संकलनमा तदारुकता देखाउनुपर्ने बताउन थालेका छन् ।

प्रधानमन्त्री ओलीले आइतबार भगवान् राम भारतीय नभएको र असली अयोध्या वीरगञ्जदेखि पश्चिमको गाउँ ठोरीमा पर्ने दाबी गरेका थिए । अयोध्या नेपालमै पर्छ भनेर प्रधानमन्त्रीले दाबी गरेपछि सो क्षेत्रसँग जोडिएका जनप्रतिनिधिहरु उत्साही भएका छन् ।

प्रधानमन्त्रीको अभिव्यक्ति तथ्यकै आधारमा आएको भन्दै ठोरी र माडीका जनप्रतिनिधिहरूले भगवान रामको जन्म यहीँ भएको भन्ने तर्क गरे।

भगवान् राम र सीतासँग जोडिएका धार्मिक तथा ऐतिहासिक महत्वका ठाउँहरू ठोरी र माडीमा रहेको तर्क उनीहरूले अघि सारेका छन् । उनीहरू भन्छन्– ‘राम–सीतासँग जोडिएका यस क्षेत्रमा महत्वपूर्ण स्थलहरू छन् । त्यसैले यस ठाउँको धार्मिक, सांस्कृतिक, ऐतिहासिक र पुरातात्विक अध्ययन हुनुपर्छ ।’

जिल्ला समन्वय समिति पर्साका उपप्रमुख ठाकुरप्रसाद न्यौपाने भन्छन्– ‘अयोध्या नेपालमै भएको धेरै प्रमाणहरू छन् । यसको खोज अनुसन्धान हुन नसकेको मात्रै हो । प्रधानमन्त्रीले अध्ययन गरेरै बोल्नुभएको हुनुपर्छ, हाम्रा संरचनाको अध्ययन नहुँदा हामीले अहिलेसम्म अयोध्या नेपालमै हो भन्ने दाबी गर्न सकेनौं ।’

‘राम नेपाली नै हुन् भन्ने धेरै आधारहरू यहाँ छन् । रामको तपोभूमि भएको आधारमा ठोरीमा रामनगर भन्ने ठाउँ पनि छ । रामकै बासस्थान भएकाले रामनगर भनिएको भन्ने किंवदन्ती छ,’ उनले भने, ‘रामनगरको ठुटेखोला पारि सोमेश्वर पहाडको काखमा सीता गुफासमेत छ ।’

‘नेपाल–भारत छुट्याउने सीमाको रूपमा सोमेश्वर पहाडको शिखरलाई लिइन्छ । पहाडको उत्तरतर्फ नेपालपट्टिको भागमा सीता गुफा अवस्थित छ’, उनले भने, ‘पहाडको शिखर दक्षिणतर्फ भारतको वाल्मीकि टाइगर्स रिजर्भको जंगल छ । नेपालको अयोध्यासँग जोडिएको जंगल भएकाले त्यो ठाउँको नाम वाल्मीकि टाइगर्स रिजर्भ राखिएको हुन सक्छ । त्यसैले यसको विशेष खोज अनुसन्धान हुनु आवश्यक छ ।’

ठोरी गाउँपालिकाका अध्यक्ष पदमलाल श्रेष्ठले ढिलै भए पनि प्रधानमन्त्री ओलीले अयोध्या ठोरीमा अवस्थित छ भनेर बताउनु स्वागतयोग्य भएको बताए । उनले भने, ‘जनप्रतिनिधिका रूपमा निर्वाचित भएदेखि नै सीतागुफाको संरक्षण र सम्बर्धनमा हामी निरन्तर लागि रहेका छौं । प्रधानमन्त्रीको अभिव्यक्ति आउनुभन्दा अघि नै हामीले सीतागुफा क्षेत्रमा राम–सीताको मन्दिर बनाउन ७ लाख रूपैयाँ बजेट विनियोजन गरिसकेका थियौं ।’

गाउँपालिका अध्यक्ष श्रेष्ठले रामनवमीको दिन सो ठाउँमा पूजापाठ गर्न डेढ लाख छुट्याएको बताए । उनले भने, ‘संयोग नै भन्नुपर्छ, प्रधानमन्त्रीज्यूले अयोध्या ठोरीमै पर्छ भन्नुभयो ।’

‘ठोरीमा सीता गुफा छ । जहाँ वर्षौंदेखि पूजापाठ हुँदै आइरहेको छ । भगवान्हरूले सभा गर्ने डाँडा भएकै कारण त्यसको नजिकै रहेको डाँडालाई भगवाननगर डाँडा राखिएको हुन सक्छ’ श्रेष्ठले भने, ‘बाँदरहरू नुहाउने खोलाको रूपमा ढेँडेखोला, बाँदरहरू झुल्ने स्थानको रूपमा बाँदरझुला पनि हुनुलाई संयोगमात्र मान्न सकिँदैन । त्यसैले पनि यसको खोज तथा अनुसन्धान हुनु आवश्यक छ ।’

‘विसं. २०३४ सालअघि ठोरी चितवन जिल्लामै अवस्थित थियो । जुनबेला ठोरी र माडीलाई पर्यायवाचीकै रूपमा लिने गरिन्थ्यो । सरकारी कामकाज पनि माडीबाटै हुने गथ्र्यो,’ अध्यक्ष श्रेष्ठले भने, ‘त्यसैले ठोरीमा रहेको सीता गुफालगायत राम–सीतासँग जोडिएका थुपै्र धार्मिक स्थलहरू ठोरी–माडीकै आसपासको क्षेत्रमा छन् । सोमेश्वर पहाडको किनारामा सीता गुफा अवस्थित छ । सोही पहाडको पश्चिमतर्फ माडीमा अयोध्या अर्थात् अयोध्यापुरी समेत छ । वाल्मीकि आश्रम पनि माडीमा अवस्थित छ । यी सबै धार्मिक क्षेत्र सोमेश्वर पहाडकै आसपासका क्षेत्रमा छन् । त्यसैले यसैलाई प्रमाणमा रूपमा लिन सकिन्छ । जुन कुरालाई भोलिका दिनमा खोज अनुसन्धानले पुष्टि गर्छ । त्यसैले यसको इतिहासविद् र अनुसन्धानकर्ताले काम अघिबढाउनु पर्छ ।’

सीता गुफा पौराणिक तथा ऐतिहासिक धार्मिक महत्व बोकेको स्थल हो । प्रसिद्ध धार्मिकस्थल भए पनि अधिकांश मानिसहरूलाई यसको महत्वका बारेमा जानकारी नै छैन

गुमनाम ‘सीता गुफा’ एकाएक चर्चामा

अहिलेसम्म गुमनाम रहेको सो क्षेत्रको सीता गुफा प्रधानमन्त्रीको अभिव्यक्तिसँगै एकाएक चर्चामा आएको छ । सीताले वनबासको क्रममा तपस्या गरेको गुफाको रूपमा लिइँदै आएको ‘सीता गुफा’ अहिले गुमनाम छ ।

ठोरी गाउँपालिका–२ स्थित सोमेश्वर पर्वतको काखमा यो गुफा अवस्थित छ । सीता गुफादेखि दक्षिणतर्फ भारतको वाल्मीकि व्यग्र परियोजनाअन्तर्गतको जंगल छ । भगवान सीताले अयोध्या त्यागेपछि वनबास जीवन बिताउने क्रममा यसै गुफामा बसेर तपस्या गरेको किंवदन्ती छ ।

अयोध्याका राजा रामको आज्ञा पालना गर्दै लक्ष्मणले सीतालाई वनमा लगेर छाडिदिएपछि सीता भौँतारिँदै यस क्षेत्रमा आएकी थिइन् । अयोध्याका प्रजाले लगाएको कलङ्कबाट सीता प्रताडित थिइन् । सीता भौँतारिँदै वनवनै डुल्ने गर्थिन् । वनजंगल घुम्ने क्रममा सीता संसारी डाँडाको प्राकृतिक मनोरमबाट प्रभावित बनिन् ।

भगवान् रामको तपस्या गर्ने पवित्रस्थलको रूपमा सीताले यसै गुफालाई प्रयोग गरेकी थिइन् । गुफा वरपरका चारैतिर हरियाली, दुई खोलाको संगम स्थल, मनोरम दृश्यमा रम्दै सीताले गर्भवती हुँदा महिलामा हुने प्रसव पीडा भुल्ने गरेको जनविश्वास छ ।

गुफाको नजिकै रहेको अजङ्गको चट्टानमा सीताले शिवलिङ्गको आकृति खोपेर रामको तपस्या गर्ने गरेकी थिइन् । जुन शिवलिङ्गको आकृति भएको चट्टान अहिले पनि गुफा नजिकै सुरक्षित नै छ । ठोरीको जंगलमा रहेको गुफाबाट डुल्दाडुल्दै सीता त्रिवेणीस्थित वाल्मीकि आश्रम पुगेकी थिइन् ।

वाल्मीकि आश्रम अहिले महत्वपूर्ण धार्मिकस्थलको रूपमा प्रख्यात छ । तर वाल्मीकि आश्रमभन्दा पहिले वनवासको क्रममा सीताले बिताएको स्थल सीता गुफा भने अझै गुमनाम छ । प्रचार प्रसारको अभावमा वर्षौंदेखि सीता गुफा गुमनाम बनेको समाजसेवी अमृतकृष्ण सापकोटा बताउँछन् ।

सापकोटा भन्छन्,– ‘पौराणिककालदेखि नै सीताले तपस्या गरेको पवित्रस्थलको रूपमा गुफालाई लिइन्थ्यो । भगवान राम र सीताप्रति आस्था राख्नेहरूले यस ठाउँमा आएर पूजाअर्चना गर्ने गर्थे । तर यसको संरक्षण, प्रबद्र्धन, प्रचार–प्रसार अहिलेसम्म हुन सकेको छैन । त्यसैले सीता गुफा ओझेलमा छ । सीता गुफाको संरक्षण गरेर धार्मिकस्थलको रूपमा विकास गर्नु आवश्यक छ । जनकपुर र त्रिवेणीमा रहेको वाल्मीकि आश्रमलाई जोड्ने महत्वपूर्ण धार्मिक स्थलको रूपमा सीता गुफालाई विकास गर्नु आवश्यक छ ।’

ऐतिहासिक महत्व बोकेको धार्मिकस्थल भए पनि सीता गुफा अहिले जीर्ण बन्दै गएको अर्का बुद्धिजीवी चिरञ्जीवी सापकोटा बताउँछन् । सापकोटा भन्छन्, ‘भगवान् सीताले ध्यानगर्ने गुफा जीर्ण छ । शिवलिङ्गको आकृति कोरिएको, सीताको पाइला रहेको चट्टानलगायतका धार्मिक पुरातात्विक महत्वका वस्तुहरू संरक्षण गर्नु आवश्यक छ । स्थानीयहरूले सीता गुफामा आएर पूजा अर्चना त गर्ने गरेका छन् । तर यसको संरक्षण तथा सम्बद्र्धनतर्फ कसैको ध्यान गएको देखिदैन ।’

सीता गुफा पौराणिक तथा ऐतिहासिक धार्मिक महत्व बोकेको स्थल हो । प्रसिद्ध धार्मिकस्थल भए पनि अधिकांश मानिसहरूलाई यसको महत्वका बारेमा जानकारी नै छैन ।

धार्मिक सम्पदाहरूको प्रचार–प्रसार, संरक्षण र सम्बद्र्धनमा ध्यान दिन सकियो भने प्रदेश–२ को समग्र विकासमा टेवा पुग्ने जानकारहरू बताउँछन् । महाभारत पर्वत श्रृङ्खलासँगै नेपाल–भारत सीमा क्षेत्रभन्दा उत्तरतर्फ सोमेश्वर पर्वतको पुछारमा अवस्थित सीता गुफा प्राकृतिक रूपले पनि आकर्षक देखिन्छ । जिल्ला सदरमुकाम वीरगंजदेखि झण्डै ६८ किलोमिटरको कच्ची सडक भएर त्यहाँ पुग्न सकिन्छ । चितवनको भरतपुरदेखि झण्डै ७० किलोमिटर दक्षिण पूर्व सडक मार्गबाट सो क्षेत्रमा पुग्न सकिन्छ ।

माडीले थाल्यो अयोध्याबारे छलफल

प्रधानमन्त्रीले अयोध्या अर्थात् अयोध्यापुरी नेपालमै भएको अभिव्यक्ति दिएपछि चितवनको माडी नगरपालिकाले यसबारे छलफल नै सुरु गरिसकेको छ ।

माडीका नगरप्रमुख ठाकुरप्रसाद ढकालले भने, ‘माडीमा अवस्थित साविकको अयोध्यापुरी गाविसको वडा नम्बर ६ मा अयोध्या भन्‍ने ठाउँ नै रहेछ । राम यहीँ जन्मेको आधारमा सो ठाउँको नाम अयोध्यापुरी राखिएको रहेछ । त्यसैले अब यहाँका धार्मिक, सांस्कृतिक, ऐतिहासिक र पुरातात्विक अध्ययन हुनुपर्छ भन्ने सोचेर छलफललाई अघि बढाएको छु । केही व्यक्तिहरूले यहाँको धार्मिक महत्व र यस विषयसँग जोडिएका कृतिहरू नै प्रकाशित गरिसक्नु भएको अवस्था पनि हो । त्यसैले यस विषयको ज्ञाताको रूपमा रहेका पण्डितहरूलाई बोलाएर यस विषयमा छलफल अघि बढाएको हुँ । उहाँहरूले पनि अयोध्याबारे पुष्टि गर्ने धेरै तथ्यहरूबारे मलाई सेयर गर्नुभएको छ ।’

माडीकै वडा नम्बर १ मा वाल्मीकि आश्रम छ । ठोरी–माडी क्षेत्रमा अयोध्या भएको प्रसङ्ग पनि मिल्ने उनले बताए । उनले भने, ‘वाल्मीकि आश्रममा सीता बसेको, लव–कुशले खेलेको धार्मिक र ऐतिहासिक प्रमाण छ । वाल्मीकि आश्रम त विश्वकै हिन्दुका लागि पवित्र धार्मिकस्थल पनि हो । अयोध्यापुरीबाट वाल्मीकि आश्रममा सीता आएको प्रसङ्ग तर्कसङ्गत पनि देखिन्छ । तैपनि यस बारेमा गहिरो अनुसन्धान आवश्यक छ ।’

‘राम जन्मेको ठाउँ माडीकै अयोध्यापुरी हो भन्ने विश्वास म गर्छु,’ उनले भने, ‘तर पनि तथ्यसहित अगाडि बढ्नुपर्छ भन्ने लाग्छ । यस क्षेत्रको धार्मिक विद्वानहरूसँग छलफल सुरु गरिसकेको छु । उहाँहरूलाई तथ्यसंकलन गर्न पनि भनेको छु । यत्तिले मात्र पनि पुग्दैन, इतिहासविद्हरूलाई पनि बोलाएर कुरा गर्ने योजनामा छु । पुरातत्व विभागमा पनि कुराकानी गरेर यथार्थ खोज्नका लागि आग्रह गर्छौं ।’

प्रधानमन्त्रीले भनेकै आधारमा मात्रै हामीले खोज अनुसन्धान थालेका होइनौं । हामीले माडीलाई धार्मिकस्थलको रूपमा विकास गर्न जनप्रतिनिधिको रूपमा आएदेखि नै सुरुवात गरेका हौं,’ मेयर ढकालले भने, ‘प्रधानमन्त्रीले पनि तथ्यकै आधारमा बोल्नुभएको होला । उहाँको अभिव्यक्तिले हामीलाई थप हौसल मिलेकै हो । त्यसैले पनि थप खोज अनुसन्धानमा लागिपरेका छौं ।’

वाल्मीकि आश्रम माडीमै पर्छ, तर माडीवासीको पहुँच छैन

वाल्मीकि आश्रम माडी नगरपालिका वडा नम्बर १ सँग जोडिएको क्षेत्रमा अवस्थित छ । तर त्यहाँ पुग्नका लागि माडीवासीको पहुँच नै छैन भन्दा हुन्छ । वाल्मीकि आश्रम पुग्नका लागि माडीवासी चितवनको नारायणगढ, त्रिवेणी हुँदै भारतीय भूमि पुगेर मात्रै त्यहाँ पुग्न सक्ने मेयर ढकाल बताउँछन् ।

‘माडीको पाण्डवनगरबाट हिँडेर जाने हो भने करिब २६ किलोमिटर दुरीमा पर्छ,’ मेयर ढकालले भने, ‘तर सो क्षेत्र चितवन राष्ट्रिय निकुञ्जमा पर्ने भएकोले माडीवासीको सहज पहुँचमा छैन । तर, माडीबाटै वाल्मीकि आश्रम पुग्नका लागि गोरेटो बाटो वा ‘फायरलाइन’को रूपमा सडक बनाउन राष्ट्रिय निकुञ्जसँग छलफल भइरहेको छ ।’

उनले भने, ‘विक्रम बाबामा जस्तैगरी वाल्मीकि आश्रम पुग्नका लागि ‘फायरलाइन’को रूपमा बाटो बनाउन चितवन राष्ट्रिय निकुञ्जको कार्यालय कसराका वार्डेनसँग छलफल पनि गरेका छौं । फायरलाइनका रूपमा त्यहाँ पुग्ने सडक बनाउन सकियो भने मात्रै माडीवासीको सहज पहुँच पुग्न सक्छ । निकुञ्ज भएकै कारण हामीले चाहेर मात्रै त्यहाँ पुग्ने सडक बनाउने अवस्था छैन ।’

प्रतिकृया दिनुहोस्