Monday, November 30

छोरालाई कलेजो दिएपछि महेशको जीवनमा खसेको पहिरो

July 15, 2020 416

त्यतिबेला बैतडीका महेशप्रसाद अवस्थीले छोरा जन्मिएदेखि हस्पिटल यात्राको कठोर संघर्ष सुनाएका थिए । र, काठमाडौंमा अस्पतालले एक महिनासम्म राखेर रोगको पहिचानसमेत नगरी डिस्चार्ज गरेपछि छोरालाई बचाउनका लागि चेन्नई पुगेर कलेजो दिनुपरेको व्यथा सविस्तार सुनाएका थिए ।

छोरालाई यसरी बचाउँदा उनको मन उमंगले भरिनुपर्ने हो । तर, एक करोड रुपैयाँ उपचार खर्चको ऋणले अनलाइनखबरको कार्यालयमा आएका उनको अनुहारमा खुशी झल्किन दिएको थिएन । बरु, शल्यक्रिया गर्दा चिरेको आलो घाउ चस्किदा बेला–बेला अनुहार खुम्च्याउँथे ।

छोराका लागि अझै कति लाग्ने हो उपचार खर्च ? त्यो उनको वशको कुरा थिएन । त्यही भएर शल्यक्रियाको एक महिनामै केही रकम जोहो गर्नका लागि नेपाल आएका थिए, महेश । पत्नी गीता र छोरा शिवांशलाई आईसीयूको बेडमै छोडेर । उनले अन्तिम किस्ताबापतको ४० लाख रुपैयाँ त अस्पतालमा बुझाउनै बाँकी थियो ।

उता शिवांशलाई जुन हालतमा छोडेर आएका थिए, त्यसले पनि महेशलाई ढुक्क पार्न सकिरहेको थिएन कि छोराको स्वास्थ्यमा राम्रै सुधार आउँछ । उनको शरीरमा घुसारेकोमध्ये अन्तिम एउटा पाइप अझै बाँकी थियो । जन्मेको दिनदेखि औषधिको भर, सिरिन्ज र सिजरले छिया–छिया पारेको शिवांशको शरीरमा मानवीय नक्सामात्र बाँकी थियो ।

यत्ति हो डेढ महिनासम्म फुलेर बेलुनजस्तो बनेको शरीरको आयतन घटेर सियो जस्तो भएको थियो । सुकेनास लागेजस्तो ।

जश अनलाइनखबरमा यसबारे समाचार प्रकाशित भयो शिवांशको उपचारका लागि महेशलाई २० लाख रुपैयाँभन्दा बढी रकम सहयोग प्राप्त भयो । हजारौंले स्वास्थ्य लाभको कामनासहित महेशलाई प्रेरणादायी बाबाको रुपमा चित्रण गरे । महेश भने केही व्यवहारिक काम सक्काएर चेन्नई फर्कने तयारी गर्दै थिए । तर, उनी फर्किनुभन्दा दुई दिनअघि नै सरकारले कोभिड–१९ संक्रमण रोकथामका लागि लकडाउन घोषणा गर्‍यो ।

पत्नीलाई एक महिनामै फर्कने बाचा गरेर आएका महेश पाँच महिनादेखि नेपालमै ‘लक्ड’ छन् । ‘अप्रेशन गरेकी पत्नी र सानो छोरालाई उपचारको लागि काखमा च्यापेर दौडाउनुभन्दा बढी पीडा दियो यो लकडाउनले’, लकडाउनले काट्न नपाएको महेशको दाह्री चल्छन् ।

उता श्रीमती एक्लैले चाहिँ शिवांशको स्याहार कसरी गरिन होला ? के शिवांश पूर्ण रुपमा निको भए ? आउनुस् महेश र उनकी पत्नी गितालाई सुनौँ ।

०००

लकडाउनपछि महेशको दैनिकी बन्यो – दिनमा तीनदेखि चार पटकसम्म गीतालाई भिडियो कल गर्ने । ‘बच्चाको शरीरमा पाइप बाँकी नै थियो । सुत्केरी भएको १४ दिनदेखि अस्पतालमै बस्नुपर्दा गीताको सुनिएको शरीर घटिसकेको थिएन’, महेश भन्छन्, ‘औषधिदेखि खाना र दुध लिनसम्म गीता एक्लै दौडिनुपर्थ्यो । उता, शिवांश चौविसै घण्टाजसो रोइरहेको हुन्थ्यो ।’

यता, लकडाउनको पहिलो हप्ता नै पेट चिरेको घाउ पाकेर महेशलाई असाध्यै पीडा दियो । व्यवहारले किचेपछि डाक्टरको सल्लाहअनुसार आराम गरेर बस्न नसकेको परिणाम थियो, त्यो । त्यसैले, उनी ‘ड्रेसिङ’ का लागि दैनिक अस्पताल पुग्नुपर्‍यो ।

‘एकातिर मन दुखिरहेको थियो, अर्कोतर्फ घाउ’, महेश भन्छन्, ‘यस्तो अवस्थामा मानिसले आफूलाई कसरी सम्हाल्न सक्ला कल्पना गर्नुस् त ?’

गत चैत अन्तिम साता अस्पतालले भन्यो – तपाईंहरूलाई अस्पताल बस्दा कोरोनाको डर हुन्छ । कलेजो प्रत्यारोपण गरेको बाबुलाई कोरोनाको उच्च जोखिम छ । हामी डिस्चार्ज गरिदिन्छौँ । अब बच्चालाई कुनै फरक पर्दैन ।

‘डिस्चार्ज’ शब्द महेश दम्पत्तिका लागि खुशीको खबर थियो । तर, डिस्चार्जका लागि अस्पतालको पुरै पैसा बुझाउनुपर्ने थियो । सबैतिर बन्द छ । कहाँबाट ल्याउने पैसा ? डिस्चार्ज भए पनि कसरी घरसम्म ल्याउने ? महेशको थाप्लोमा एकपछि अर्को समस्याको आकाश खसेजस्तो अनुभूति भइरहेको थियो ।

‘सहयोग उठेको २० लाख रुपैयाँ पठाइदिए । त्यस्तो परिस्थितिमा अरु कहाँबाट ल्याउनु ? अर्को पाँच लाख संकलन भएको पैसा पनि पठाइदिएनन्’ महेशको मनको पीडा अनुहारमा सर्छ ।

पैसा चुक्ता नगरेपछि अस्पतालले अर्को विकल्प दियो । त्यो विकल्प थियो, अस्पताल नजिकै डेरा बस्नुपर्ने, डेरा चाहिँ अस्पतालले भनेकै ठाउँमा हुनुपर्ने । जसले गर्दा ४८ हजार भारतीय रुपैयाँ बराबरको फल्याटमा डेरा सर्नुपर्‍यो गीतालाई ।

‘त्यतिबेला नेपाल आउन पाएको भए खर्च निकै घट्थ्यो । तर, लकडाउनले न जान सकियो न डिस्चार्ज गराएर नेपाल ल्याउन नै’, महेश आफूमाथि आइपरेको आपत्ति सुनाउँछन्, ‘डेराभाडा त छँदै छ अस्पतालको चार्ज पनि तिर्नुपर्ने भयो । काठमाडौं र चेन्नईमा गरेर मासिक डेढ लाख रुपैयाँ खर्च जुटाउनुपर्ने बाध्यता आइलाग्यो ।’

नित्य कर्मजस्तो बनिसकेको गीताको आँशु अझै रोकिएको थिएन । सुत्केरी हुनेबित्तिकै छोरालाई आईसीयूमा लैजाँदादेखि रुन थालेकी गीताको यो हालतसम्म आइपुग्दा खसिरहेको आँशु वेहिसाब छन् । तर, साथमा पति पनि नभएपछि गीतालाई रोएर मात्र बस्ने छुट थिएन ।

छोराको स्वास्थ्यमा त विस्तारै सुधार आउँदै थियो । तर, कोरोनाले महेश दम्पत्तिलाई झन् अग्लो त्रास थप्यो । किनकी भारतको सबैभन्दा बढी कोरोना फैलने ठाउँमध्ये तामिलनाडु पनि एक थियो । र, तामिलनाडुकै चेन्नईस्थित क्रोमपेटमा बास थियो, उनीहरूको ।

त्यसमाथि, १५/१५ दिनमै शिवांशलाई भिडियो परीक्षणको लागि अस्पताल लैजानुपर्ने । हप्तैपिच्छे अस्पतालको फार्मेसीमा औषधि लिन धाउनुपर्ने । हप्ता–हप्तामा परीक्षण गर्न त घरमै डक्टर नर्स आउँथे । त्यतिले मात्र पर्याप्त थिएन । गीताले अनलाइनखबरसँगको भिडियो अन्तर्वार्तामा भनिन्, ‘छोरा सुतेको मौका छोपेर मात्र यी सबै काम गर्थेँ ।’

एक दिन बच्चा सुतेको बेला गीता अस्पतालमा रिपोर्ट लिन पुगेकी थिइन् । डेरादेखि १५ मिनेटको दुरीमा छ, अस्पताल । तर, कोठा फर्कदा शिवांश भुइँमा खसेर लडिसकेका थिए । र, चिच्याइ–चिच्याइ रोइरहेका । त्यसपछि शिवांश लामो समयसम्म निदाउँदा पनि झस्किरहे । त्यो देखेर गीता निदाउनै सकिनन् । महेश भन्छन्, ‘त्यतिबेला निकै रोएर जसरी पनि आउन भनिन् । गाडी मै जाऔँ कि भन्ने विचार गरेँ । तर, चार लाख रुपैयाँभन्दा बढी लाग्दो रहेछ ।’

जे होस्, अस्पतालको पञ्जाबाट शिवांश आफ्नो परिवारको हेरचाह हुने ठाउँमा आइपुगेका थिए । त्यस्तो अवस्थामा पनि बच्चालाई हेरचाह गर्न नपाएकोमा थकथकी छ–महेशलाई ।

‘त्यस्तो बेला बाबुलाई राम्रोसँग सुरक्षा दिनुपर्ने । राम्रोसँग खुवाउनुपर्ने । खाना बनाएर खुवाउनुपर्ने । परिवारको काखमा राम्रोसँग माया पाए पनि त उसको पीडा अलिकति हलुका हुन्थ्यो होला’, महेश थकथकाउँछन् ।

तर, यता महेश पनि नेपालमा नियमित ‘ड्रेसिङ’ मै थिए । त्यही बेला मध्यरातमा महेशको मेसेन्जरमा घण्टी बज्यो । फोन के उठाएका थिए उनले रुन्चे आवाज सुनिहाले, ‘बाबुलाई ज्वरो र बमिट आएर सुत्नै सकिरहेको छैन ?’ महेशले आँशु पुछ्दै भने, ‘तुरुन्तै अस्पताल लैजानू ।’ उनले गर्न सक्ने भनेको यत्ति थियो ।

हतार–हतार एम्बुलेन्स बोलाएर शिवांशलाई अस्पताल पुर्‍याइन, गीताले । उनी भन्छिन्, ‘त्यतिबेला छोरासँग एक्लै पाँच दिनसम्म अस्पताल बस्नुपरेको थियो । पाएका दुःखहरू भनिसाध्य छैनन् ।’

तर, महेशको कल्पना विपरीत लकडाउन लम्बिरह्यो । उनले साथीहरूसँग जसरी पनि पैसा जुटाउन परिरहेकै थियो । ‘मनमा शान्ति भएपछि पो राम्रो कुरा सोचिदो रहेछ । त्यही घटना सोच्नु र तनाव लिनुबाहेक लकडाउनले मलाई अरु कुनै उपहार दिएन’, महेश काठमाडौंको दैनिकी बताइरहेका छन् । अहिले पनि महेश चेन्नइको बाटो कुरेर बसिरहेका छन् ।

अहिले शिवांश आठ महिना पुगिसकेका छन् । उनको शरीरमा परिवर्तन आएको छ । पहिलेको भन्दा अलि रुन छाडेका छन्, खेल्न थालेका छन् । आमाको काखमा बसेर दुध खाइरहेको देख्दा भने महेशलाई शीतल हुन्छ ।

जन्मिँदा २८ सय ग्राम मात्र तौल भएका शिवांश सप्रिएका छन् । अहिले पनि जाउलो, लिटो वा अन्य झोलिलो पदार्थ त शिवांशले खान सक्दैनन् । तर, पहिले तीस एमएल मात्र पिउने शिवांशको दुधको कोटा बढेर अहिले ९० एमएलसम्म पुगेको छ । ‘त्यो देखेपछि भने अलिकति भए पनि विगतको पीडा भुलिन्छ’, महेश भन्छन्, ‘कलेजो दिएर बचाएको यही देख्नको लागि त हो नि ! भनेर गर्व लाग्छ ।’

जसरी तसरी उनको अहिलेसम्म त पार लगाएका छन् । अब कसरी पार लगाउँलान् ? उनीसँग उत्तर छैन । भन्छन्, ‘आज आएर सोच्दा यतिसम्म कसरी सहन सकेँ, गरे भन्ने लाग्छ । अब पनि उही भगवानकै भरोसामा छु ।’

प्रतिकृया दिनुहोस्