Saturday, November 28

‘दश अर्ब’मा परेन कामदारको ‘उद्धार’

June 13, 2020 215

काठमाडौं : मुलुकभित्र कोरोना भाइरसको रोकथाम,उपचार तथा नियन्त्रणका लागि दश अर्ब खर्च गरेको सरकारले सोही महामारीका कारण रोजगारी गुमाई स्वदेश फर्किन वाध्य कामदारहरुलाई कुनै सहयोग दिन चाहेको छैन । विदेशी भूमीमा रोजगारी गुमाएर अलपत्र भई स्वदेश फर्किन चर्को हवाई भाडाको मारमा परेका कामदारहरुले विदेशमा हुने कोभिड परीक्षण देखि स्वदेशको क्वारेन्टाइन र स्थायी ठेगानासम्म पुग्न लाग्ने खर्चसमेत आफै व्यहोर्नु परेको छ ।यसले वैदेशिक रोजगारीमा जाने कामदारले श्रम स्वीकृति अघि बैदेशिक रोजगार कल्याणकारी कोषमा जम्मा गरेको रकम के का लागि भन्ने प्रश्न उठेको कतिपयको टिप्पणी छ ।

चार्टर फ्लाइटका नाममा असुलिएको चर्को हवाई भाडाको गैरआवासीय नेपाली तथा सरोकारवाला कामदाहरुले चर्को विरोध गरेका छन् ।मलेसियामा कृयाशिल नेपालीका दुई दर्जन संघसस्थाहरुले सामुहिक रुपमा ध्यानाकर्षण भएको भन्दै जथाभावी हवाईभाडा असुल्दा संकटमा रहेका कामदारहरुमाथि ठूलो अन्याय भएको समेत उल्लेख गरेका छन् । उनीहरुले तिन महिनादेखि कोरोना भाइरसको महामारीबाट पीडित प्रवासी नेपालीहरुको उद्धारका लागि उडानहरु शुरु गर्ने काम राम्रो भए पनि अति महंगोमा आफै हवाई टिकट काटी जानु पर्ने बाध्यताले उद्धारको वहानामा अलपत्र कामदारमाथि व्यापार भएको उल्लेख गरेका छन् ।

१४ देखि १५ हजार रुपैयाँसम्म हजाज भाडा पर्ने मलेसियामा व्यवसायिक उडान शुरु नहुँदा एकतर्फी चार्टर फ्लाइटका लागि ६३ हजार ८ रुयैयाँ ४ पैसा तोकिएको सार्वजनिक भएको छ । त्यसप्रति इंगितगर्दै उनीहरुले भनेका छन्, ‘नेपाल सरकारले निर्धारण गरेको भाडा, पिसिआर टेष्ट, क्वारेन्टाइन खर्च सबै जोड्दा १ लाख १५ हजार नेपाली हुन आउँछ, यो प्रवासमा भोकले छट्पट्टी रहेका नेपालीमाथि चर्को मूल्य निर्धारण गरेर सरकारले नागरिकलाई उद्धार होईन आत्महत्या गर्न बाध्य हुने परिस्थिति सिर्जना गरेको प्रति हाम्रो आपत्ति रहेको छ ।’

उनीहरुले लकडाउन सुरु हुनु अगाडि नै टिकट काटेर जान नपाएकाहरुको लागी केहि दिनको लागि भए पनि व्यवसायिक फ्लाइट सुचारु गर्न आग्रह गरेका छन् । गम्भीर प्रकारका विरामी, उपचाररत विरामी र विभिन्न कारण जीवन गुमाएका तर शव नेपाल फिर्ता हुन बाँकी शवलाई विशेष प्राथमिकतामाराखि अवस्था हेरि निःशुल्क स्वदेश फिर्ता गराउने वातावरण बनाउन पनि उनीहरुको माग छ ।यसरी मागगर्ने संस्थाहरुमा गैर आवासीय नेपाली संघ, जनसम्पर्क समिति, जन उद्धार केन्द्र, नेपाल, आदिवासी जनजाति महासंघ, नेपाली मजदुर एकता समाज, नेपाली व्यवसायी समाज, नेपाली समाज रहेका छन् ।

त्यसैगरी प्रवासी नेपाली एकता समाज,नेपाल तामाङ घेदुङ, नेपाल मगर संघ, किरात राई यायोक्खा, थारु सेवा समाज, नेपाल तामाङ कलाकार संघ, साहित्यिक चौतारी नेपाल, उदाउँदो तारा साहित्य समाज पेनाङ्ग, नेपाली कलाकार संघ, अपन मिथिला सेवा समाज, किराँत याक्थुङ चुम्लुङ, सुदुर पश्चिमेली नेपाली समाज, फोनिज मलेसिया,क्लान एसोसिएसन, पिएनसिसी, वैदेशिक रोजगार व्यवसायी संघ, मलेसिया, नेपाल तमू समाजले पनि हवाई भाडा घटाउन माग गरेका छन् ।कोरोना कहरका कारण वाध्यतावश स्वदेश फर्किन थालेका कामदारहरुसंग चार्टर फ्लाइटका नाममा सामान्य अवस्थाको तुलनामा चार दोब्बरबढी भाडा असुल्न थालिएको भन्दै उनीहरुले त्यसमा छानवनिको समेत माग गरेका छन् ।

नेपालबाट उडान हुने चार्टर फ्लाइटमा भएको भनिएको यस्तै महंगो भाडाका वारेमा छानविन शुरु गरेको सरकारले विदेशबाट आउने फ्लाइटको अस्वभाविक भाडावारे भने केही गरेको छैन ।सरकारले आगामी आइतवारदेखि असार १४ गतेसम्ममा विदेशमा समस्यामा परेका करिब २५ हजार नेपाललीलाई उद्धार गरेर नेपाल ल्याउने निर्णय गरेको छ । विदेशस्थित नेपाली राजदूतहरुले चार्टर फ्लाइटले कामदारहरुलाई मर्कामा पार्ने भन्दै व्यवसायिक उडान शुरु गर्न आग्रह गरिरहेका छन् ।

प्रतिकृया दिनुहोस्