काठमाडौं: पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले आइतबार बिहान काखमा बच्चा लिएको फोटो सार्वजनिक गर्दै लेखे– बल्ल हजुरबा भइयो। उनकी छोरी मानुषीले आइतबार बिहान छोरा पाएकी थिइन्। नाति काखमा लिएको फोटो सार्वजनिक गर्दै बाबुरामले छोरी मानुषी, ज्वाइँ जेकेन्द्र र स्वास्थ्यकर्मीलाई बधाई तथा धन्यवाद दिएका हुन्।
महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ)मा शल्यक्रियामार्फत् मानुषीले बच्चा पाएकी थिइन् । सफल सल्यक्रियाका लागि बाबुरामले डाक्टर गीता गुरूङ नेतृत्वको टिमलाई धन्यवाद दिएका छन्। हजुरबा भएपछि फुरूङ्ग भएका बाबुरामले ठट्टा गर्दै लेखेका छन्– हाम्रो परिवारमा २२ औं शताब्दी देख्ने सम्भावना भएको एक मात्र शिशुको सु–स्वास्थ्यको कामना। बाबुरामले आफू हजुरबा भएको फोटो फेसबुक र ट्वीटरमा पोस्ट गरेपछि धेरैले उनलाई बधाई दिएका छन्।
उनका सहपाठीसमेत रहेका राप्रपा अध्यक्ष कमल थापाले ट्वीटमार्फत् बधाई दिएका छन्। बाबुराम र कमल थापा अस्कल क्याम्पस सँगै पढ्थे। थापाले बाबुराम हजुरबा भएकोमा बधाई दिँदै भनेका छन्–लौ बधाई छ सम्पूर्ण परिवारलाई। यसमा भने सहपाठी मित्रभन्दा म धेरै अगाडि रहेछु। मेरो त सात वटा नातिनातिनी भइसके।
प्रतिकृया दिनुहोस्