Wednesday, October 21

सप्तकोशीमा पानीको बहावले खतराको स्तर पार गर्यो, ३० वटा ढोका खोलियो

July 10, 2020 216

२६ असार, राजविराज । सप्तकोशी नदीमा पानीको बहावले खतराको स्तर पार गरेपछि तटीय क्षेत्रका सर्वसाधारणलाई सर्तकता अपनाउन आग्रह गरिएको छ । शुक्रबार बिहानबाट नदीमा पानीको बहाव उच्च भएको हो ।

पछिल्लो मापनअनुसार सप्तकोसीको बहाव २ लाख ७ हजार ७ सय १५ क्युसेक प्रति सेकेन्ड रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरीक्षक सन्तोषकुमार खड्काले जानकारी दिएका छन् ।

खड्काका अनुसार ब्यारेजका ५६ मध्ये ३० ढोका खोलिएको छ । सप्तकोसीमा पानीको बहाव खतराको स्तर पार गरेकाले तटीय क्षेत्रका सर्वसाधारणलाई सर्तकता अपनाउन भनिएको पनि खडकाले बताए ।

सप्तकोसीमा पानीको बहाव बढेसँगै कोसी ब्यारेजभन्दा दक्षिण १९ किलोमिटरसम्म नेपालतर्फ रहेको पश्चिमी तटबन्धमाथि पानीको दबाब बढेको छ । ५ वर्षअघि भारतीय कोसी योजनाले कोसीको मध्य भागमा पाइलट च्यानल खनेर पानीको बहावलाई पश्चि तर्फ फर्काइएपछि सुरक्षित रहँदै आएको सप्तकोसीको पश्चिमी तटबन्धमाथि दबाब बढदै गएको हो ।

कोशीमा पानीको बहाव बढदै गएपछि हनुमाननगर कंकालिनी नगरपालिकाका विभिन्न भागमा जोखिम बढेको नगरप्रमुख शैलेशकुमार साहले बताए ।

यसैगरी कोशीको पश्चिमी तटबन्ध नजिक रहेको तिलाठी कोइलाडी गाउँको एउटा वडाका बासिन्दा पनि जोखिममा परेका गाउँपालिका अध्यक्ष सतिशकुमार सिंहले बताए ।

बिहीबारदेखि मुलुकका विभिन्न क्षेत्रमा निरन्तर वर्षा भएसँगै पहिरो र बाढीबाट जनधनको क्षति भइरहेको छ ।

प्रतिकृया दिनुहोस्