Thursday, November 26

सिन्धुपाल्चोकलाइ फर्केर हेर्दा : प्राकृतिक विपत्ति र दुर्घटनाको उच्च जोखिममा सिन्धुपाल्चोक !

July 9, 2020 310

आदित्य दाहाल – सिन्धुपाल्चोक जिल्ला प्राकृतिक विपत्ति र दुर्घटनाको उच्च जोखिम बन्दै गएको छ । कहिले जुरे पहिरो, भोटेकोशी बाढी, भूकम्पबाट क्षति, हवाई दुर्घटना र सडक दुर्घटना सिन्धुपाल्चोकको चिनारी बन्दै गएको हो ।

विसं २०७१ पछि सिन्धुपाल्चोक जिल्लाले हालसम्म धेरै ठूला प्राकृतिक प्रकोप र दुर्घटनाको सामना गरिरहनु परेको छ । भूकम्प, बाढी, पहिरोजस्ता दुर्घटना मात्रै होइन, पछिल्लो समय विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९को सङ्क्रमणबाट ज्यान गुमाउने पहिलो व्यक्तिमा सिन्धुपाल्चोककै रहेको छ । अहिलेको ताजा घटनाको कुरा गर्नुपर्दा गएरातिदेखि परेको अविरल वर्षाका कारण आएको बाढीले गएराति सिन्धुपाल्चोकको बाह्रबिसेको जम्बुलगायतका ठाउँका दुई दर्जन बढी घर बगाएको छ । २० जना बेपत्ता भएका छन् भने दुई जनाको शव फेला परेको छ ।

फाइल तस्विर

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकको दिउँसो १ बजेसम्मको तथ्याङ्कअनुसार बाह्रबिसे–५ जम्बु बजारका १६ जना र भोटेकोशी गाउँपालिकाका चार जना बेपत्ता भएका छन् भने घर र टहरो गरी दर्जनौँ बढी बगाएको छ । बाढीले अरनिको राजमार्गअन्तर्गतको खुर्सानीबारी, खागदलस्थित पक्की पुल, जुरेलगायतका ठाउँको सडक पूर्णरुपमा कटान गरेको छ ।

खगदल भन्ने स्थानको पक्की पुल बाढीले बगाएपछि आवतजावत पूर्णरुपमा बन्द भएको छ । त्यस्तै ठाडो खागदल खोलाले ग्यारेजसहित एकवटा स्कारपियो गाडी, पानी बोक्ने ट्याङ्कर र सडक विभागको पानी बोक्ने ट्रक र बस बगाएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

माथि उल्लेख गरिएको घटना अहिलेको ताजा अवस्थाको घटना हो । यी यस्तै धेरै प्राकृतिक विपत्तिका घटना तथा ठूला–ठूला दुर्घटना सिन्धुपाल्चोकले वर्षौ अघिदेखि झेल्दै आएको छ ।

जुरे पहिरो

विसं २०७१ साउन १७ गते साविकको राम्चे गाविस–५ को इटिनी पहरो फुटेर गएको पहिरोले ३१ जना स्कूले बालबालीकासहित १४५ जनाले ज्यान गुमाउनु परेको थियो । नदी थुनिएपपछि घर, विद्युत् गृह, विद्यालय, रिसोर्ट, निजी व्यापारिक फर्मलगायत गरी १५३ घर पूर्णरूपमा ध्वस्त भएको थियो ।

भोटेकोशी नदी नै थुनिने गरी आएको कहालिलाग्दो पहिरो दुर्घटनामा परी धेरैको आवास गुम्यो, धेरै बेसहारा बने अझै पनि धेरै घाइतेको उपचार र राहत नपाउँदाको गुनासो सकिएको छैन । पहिरोले कतिको घरजग्गा गुम्दा गाउँबाटै पलाएन भए । जुरोको यो ठूलो प्राकृतिक विपत्तिले धेरैलाई बिर्सनै नसक्ने छाप छोडेर गयो ।

जुरे पहिरो

विसं २०७२ को भूकम्प

गोरखा, बारपाकलाई केन्द्रविन्दु बनाएर २०७२ साल वैशाख १२ गते शनिबार मध्याह्न गएको ७.६ रेक्टर स्केलको विनाशकारी भूकम्पबाट देशमै सबैभन्दा ठूलो जनधनको क्षति सिन्धुपाल्चोक जिल्लामा भयो । दिउँसो ११ बजेर ५६ मिनेटमा आएको भूकम्पमा परी तीन हजार ५७१ जनाले ज्यान गुमाए । ८० हजार निजी घर संरचना माटोमै मिले । सरकारी तथा सामुदायिक भवन संरचना ढले, विद्यालय भवनहरु भग्नावशेषमा परिणत भए । नेपालकै सबैभन्दा बढी मानवीय र भौतिक क्षति बेहोरेको सिन्धुपाल्चोक अझै पनि पूर्णरुपमा तङ्ग्रिएको छैन ।

भूकम्पपछि सिन्धुपाल्चोकमा देखिएका भवनहरु भग्नावशेषहरु

दुई ठूला हेलिकप्टर दुर्घटना

सिन्धुपाल्चोकमा दुई ठूला हेलिकप्टर दुर्घटना हुदाँ १२ जनाको ज्यान गएको थियो । जिल्लाको घोर्थली र यमुनाडाँडामा भएको दुर्घटनामा पाँच जना नेपालीसहित ६ जना अमेरिकी र एक जना डच नागरीकको निधन भएको थियो । घटना विरण यस्तो छ, २०७२ सालको वैशाख १२ गते पछि २९ गते आएको पराकम्पबाट क्षति पुगेको दोलखा जिल्लामा मानवीय सहायताका लागिजाँदा अमेरिकी हेलिकप्टर दुर्घटनामा परेको थियो । नेपालमा खोजी तथा उद्धारमा सघाउन आएको अमेरिकी सेनाको हेलिकप्टर यूएच वानवाई ह्यु हराएको चौँथो दिन जेठ १ गते शुक्रबार सिन्धुपाल्चोकको विकट गाउँ घोर्थलीमा दुर्घटनाग्रस्त अवस्थामा फेला पारेको थियो ।

यही हो अमेरिकी र नेपाली सेनाले नदेखाएको दुर्घटनाग्रस्त सैनिक हेलिकप्टर

शक्तिशाली पराकम्पनपछि ६ जना अमेरिकी र दुई जना नेपाली सेना लिएर मङ्गलबार दिउँसो त्रिभुवन विमानस्थलबाट दोलखाका लागि उडेको उक्त हेलिकप्टर सिन्धुपाल्चोकको सुनखानीमा पुगेपछि सम्पर्कविहीन भएको थियो । त्यस्तै २०७२ साल जेठ १९ गते भूकम्पपीडितका लागि काठमाडौँबाट राहत सामग्री लिएर दोलाखातर्फ उडेको माउन्टेन एयरको हेलिकप्टर सिन्धुपाल्चोकको साविक यमुनाडाँडा–८ शिला पर्वतको जङ्गलमा दुर्घटना भएको थियो । सो दुर्घटनामा क्याप्टेन सुवेक श्रेष्ठसहित चार यात्रुको ज्यान गएको थियो । हेलिकप्टरमा तीन नेपाली र एक डच नागरिक थिए ।

तीन महिनामा तीन ठूला सडक दुर्घटना

घटना नं १ ः सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१० गत असोज २४ गते बिहान बस दुर्घटना हुँदा १४ जनाको निधन भएको थियो । इन्द्रावती गाउँपालिकाको भोटसिपाबाट काठमाडौँका लागि छुटेको हेलम्बु यातायातको बा२ख २७१५ नम्बरको बस दुर्घटना भएको हो । एक सय २० भन्दाबढी यात्रुले भरिएको बस झिल्के मोडको आरोलो बाटोमा टायर पञ्चर भएपछि दुर्घटना भएको थियो ।

घटना नं २ ः गत साल कात्तिक १७ गते सिन्धुपाल्चोकको सुकुटे नजिकै सुनकोशी नदीमा बस दुर्घटना हुँदा १७ जनाको निधन भएको थियो । शैलुङ्गेश्वर यातायातको बा२ख ७२४५ नम्बरको यात्रुबाहक बस दोलखाको मागा देउरालीबाट काठमाडौँ आउँदै गर्दा सुकुटे नजिक दुर्घटना भएको थियो । चालकको लापरवाहीका कारण बस दुर्घना भएको भन्दै प्रहरीले प्रतिवेदन निकालेको थियो ।

सिन्धुपाल्चोकको सुकुटे नजिकै सुनकोशी नदीमा बस दुर्घटना

घटना नं ३ ः दोलखाको कालिञ्चोकबाट भक्तपुरका लागि छुटेको बा४ख ४४६८ नम्बरको बस लामोसाँघु जिरी सडक खण्डको ६ किलोमा पल्टिँदा १५ जनाको ज्यान गएको थियो । दोलखाको कालिञ्चोक दर्शन गरेर फर्किएका तीर्थयात्रीहरु चढेको बस गत साल मङ्सिर २९ गते ६ किलो भन्ने स्थानमा दुर्घटनामा परेको थियो ।

“विगत पाँच वर्षदेखि लगातार यस क्षेत्रमा प्राकृतिक विपत्तिका ठूला घटनाहरु भइरहेका छन्”, बाह्रबिसे नगरपालिकाका प्रमुख निमफुञ्जो शेर्पाले भन्नुभयो, “वर्षैपिच्छे हुने घटनाले स्थानीय त्रसित हुने गरेका छन् ।”

लगातारको प्राकृतिक विपत्तिबाट हैरानी व्यहोर्दै आएका भोटेकोशी गाउँपालिकाबासीको यतिबेला फेरि सङ्घीय राजधानीसँगको सडक सम्बन्ध टुटेको छ । वर्षा लाग्नसाथ यस क्षेत्रका बासिन्दा सधैं त्रासमा बस्नुपरेको छ ।

दोलखाको कालिञ्चोक दर्शन गरेर फर्किएका तीर्थयात्रीहरु चढेको बस दुर्घटना

हेलिकोप्टरद्वारा घाइतेलाई राजधानीः बेपत्ता २० को पहिचान

सिन्धुपाल्चोकको बाह्रबीसे नगरपालिका ५–जम्बु र भोटेकोशी गाउँपालिका –५ बुलकोटेमा गए रातिको बाढीपहिराले घाइते पाँचसहित सातदिने शिशुलाई हेलिकोप्टरद्वारा उपचारका लागि आज अपराह्न राजधानी पठाइएको छ । घाइते हुने जम्बुका ७० वर्षीया बुद्धिमाया तामाङ, २२ वर्षीया सविना बस्नेत र १९ वर्षीय सुरेश बस्नेत तथा बुलकोटेका फुर्वा तामाङ, पेमुलम तामाङ र उनकी छोरी सातदिने शिशुको उपचारका लागि ह्याम्स अस्पताल काठमाडौँ पठाइएको छ । घाइतेलाई एयर डाइनेष्टी र माउण्टेन एयरको हेलिकोप्टरद्वारा राजधानी पठाइएका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो ।

यसैबीच बेपत्ता २० जनाको पहिचान खुलेको छ । तिनमा जम्बुका भीमबहादुर वाइवा, चीनमाया वाइवा, लीलामाया वाइवा, पासाङडोल्मा वाइवा, निमाडोल्मा वाइवा, लक्ष्मण वाइवा, सुनमाया वाइवा, जनकबहादुर थिङ, सवीना तामाङ, आकाश तामाङ, लोकबहादुर तामाङ, सलिनी तामाङ, सवेश तामाङ, युक्तबहादुर तामाङ, भोटेकोशी हाइड्रोपावरका सेक्रेटरी हिमेश शर्मा र जाइकाका इञ्जिनीयर आकाश केसी छन् ।

त्यसैगरी बुलकोटेका नीमादोर्जे तामाङ, मञ्जु तामाङ, पासाङनुर्बु तामाङ र सहिल तामाङ पनि बेपत्ता भएका छन् । बाढीले बस, ट्याङ्कर, ट्रक र कारसमेत बगाएको छ । दुवै ठाउँमा गरी ३६ घरटहरा बगेका छन् । भोटेकोशीले बाह्रबीसेस्थित इलाका प्रहरी कार्यालय नजीक अरनिको राजमार्ग र जुरेमा करीब ३०० मिटर सडक बगाएकाले आवागमनमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ ।

उद्दार र राहतमा कुनै सम्झौता हुन्नः सभामुख सापकोटा

सभामुख अग्नीप्रसाद सापकोटाले सिन्धुपाल्चोकको बाह्रबिसेमा गएराति आएको बाढी–पहिरोबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ ।

घटनास्थलको स्थलगत अवलोकनपछि सिन्धुपाल्चोकको चौतारामा आज पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले बाह्रबिसे नगरपालिका–५ स्थित जम्बु खोलामा गएराति आएको बाढी–पहिरोमा परी घाइतेहुने र पीडित परिवारको उद्दारमा कुनै सम्झैता नहुने बताउनुभएको हो ।

सिन्धुपाल्चोकको बाह्रबिसेमा आएको बाढीबाट प्रभावित क्षेत्रको निरीक्षण र घाइतेको उद्घारका लागि प्रतिनिधिसभाका सभामुखसहितको टोली घटनास्थलमा । तस्वीर ः देवराज सुवेदी

सभामुख सापकोटाले उद्धार जारी रहेको र राहत सामग्री वितरण भइरहेको उल्लेख गर्दै बेपत्ताको खोजी र उद्धारमा सरकार प्रभावकारी ढङ्गबाट अगाडि बढ्नेछ भन्नुभयो ।
जिल्ला विपद् व्यवस्थापन समितिले पीडित ३० परिवारलाई राहत वितरण गरेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिनुभयो । टेन्ट, मेट्रिक्स, त्रिपाल, भाँडा सेट, कम्बल, कपडालगायतको सामग्री वितरण गरिएको छ ।

वाग्मती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलाल, आन्तरिक मामिलामन्त्री सालिकराम जम्मकट्टेल र वन, वातावरण तथा पर्यटनमन्त्री सरेश नेपाललगायतको टोली घटनास्थलमै पुगी उद्धार कार्यमा जुटिरहेका छन् ।

अरनिको राजमार्गअन्तर्गत बाह्रबिसे–कोदारीखण्डको खगदल भन्ने स्थानको पक्की पुल बाढीले बगाएपछि आवतजावत पूर्णरुपमा बन्द भएको छ ।

उद्धारमा कुनै कसर बाँकी नराखिने

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सिन्धुपाल्चोकको बाह्रबीसेमा आएको भीषण बाढी तथा पहिरामा परी भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्नुभएको छ । आज एक सन्देश जारी गर्दै मुख्यमन्त्री पौडेलले खोजी तथा उद्धारलाई द्रुत र प्रभावकारी बनाउन प्रदेश सरकारले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले सन्देशमार्फत शोकसन्तप्त परिवारमा समवेदनासहित घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना पनि गर्नुभएको छ ।

खाडीचौरभन्दा माथिको पुल बगाएकाले बाटामा असहजता भए तापनि त्यस क्षेत्रमा हाल प्रहरी निरीक्षकको नेतृत्वमा नेपाल प्रहरी तथा नेपाली सेनाका सहसेनानीको नेतृत्वमा १० जनाको टोली पुगिसकेको छ । घाइतेका उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर त्यसतर्फ जाँदै छ ।

राष्ट्रपति बाह्रबीसे घटनाबाट मर्माहत

राष्ट्रपति विद्यादेवी भण्डारीले सिन्धुपाल्चोकको बाह्रबीसेमा बाढीबाट दुई जनाको मृत्यु र धेरै मानिस बेपत्ता भएकामा आफू मर्माहत भएको बताउनुभएको छ ।
आज अपराह्न ट्विट गरी राष्ट्रपतिले बाढीले घर र भौतिक संरचनामा क्षति पु¥याएकामा दुःख व्यक्त गर्नाका साथै पीडितको उद्धार, राहत र पुनःस्थापनाका लागि सम्बन्धित निकायको ध्यान आकृष्ट गर्नुभएको छ ।

उपराष्ट्रपतिद्वारा दुःख व्यक्त

उपराष्ट्रपति नन्दबहादुर पुनले भीषण वर्षाका कारण सिन्धुपाल्चोकको बाह्रबिसेमा गए राति आएको बाढीपहिरोबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ । उपराष्ट्रपतिले आज विज्ञप्तिमार्फत बाढीपहिरोमा परेर ज्यान गुमाउनुभएकाप्रति श्रद्धाञ्जलि अर्पण गर्नुहुँदै परिवारजनमा समवेदना व्यक्त गर्नुभएको छ । उहाँले घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना पनि गर्नुभएको छ ।

उपराष्ट्रपतिले बाढीपहिरोमा धेरै मानिस बेपत्ता हुनुभएकामा उहाँहरुको अवस्थाका बारेमा गहिरो चिन्ता व्यक्त गर्दै बेपत्ताको खोजी र उद्धारमा राज्य संयन्त्रले आफ्नो कामलाई अझै प्रभावकारी बनाउने विश्वास व्यक्त गर्नुभएको छ । बाढीपहिरोका कारण विस्थापितका लागि उचित राहत र घाइतेको गुणस्तरीय स्वास्थ्योपचारका लागि उहाँले सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

उपराष्ट्रपतिले देशले विश्वव्यापी महामारी कोरोना भाइरस ९कोभिड–१९० को सामना गरिरहँदा वर्षा शुरु भएकाले सम्भावित प्राकृतिक प्रकोपबाट जोगिन उच्च सतर्कता अपनाउन र व्यवस्थित पूर्वतयारी गर्न सबै पक्षलाई आग्रह गर्नुभएको छ । उहाँले विगत केही दिनयता देशका विभिन्न भागमा बाढीपहिरोका कारण ज्यान गुमाउनुभएकाप्रति पनि श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ ।

बााह्रबिसेमा उद्धार टोली खटाउन देउवाको आग्रह

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सिन्धुपाल्चोकको बाह्रविसेमा उद्धार टोली खटाउन सरकारलाई आग्रह गर्नुभएको छ । पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका देउवाले सामाजिक सञ्जाल ट्वीटरमार्फत सिन्धुपाल्चोकको बाह्रबिसे क्षेत्रमा अविरल वर्षाका कारण आएको बाढीपहिरोले ठूलो जनधनको क्षति पुगेको भन्दै तत्काल उद्धार टोली खटाएर मानवीय र भौतिक क्षति हुनबाट जोगाउन आग्रह गर्नुभएको हो ।

सभापति देउवाले सिन्धुपाल्चोकका काँग्रेसका नेता तथा कार्यकर्तालाई समेत तत्काल उद्धार कार्यमा खटिन निर्देशन दिनुभएको छ । आज बिहान आएको बाढी, पहिरोका कारण बाह्रबिसे क्षेत्रमा करिब एक दर्जन घर बगाएको छ भने दुई दर्जन मानिस बेपत्ता भएका छन् । भोटेकोशी वरपर खोलामा आएको बाढीले बाह्रबिसे नगरपालिकामा ठूलो क्षति पुगेको छ ।

प्रतिकृया दिनुहोस्