Sunday, November 29

उपत्यकामा फैलदैँ कोरोना : ७१ ठाउँमा भेटिए संक्रमित

July 9, 2020 118

काठमाडौँ । देशभर कोरोना भाईरसको संक्रमण कम हुँदै जाँदा काठमाडौँ उपत्यका भने हटस्पट बन्दै गएको छ ।

अहिलेसम्म उपत्यकामा २ सय ९० जनामा संक्रमण पुष्टि भएको छ भने ७१ ठाउँमा कोरोना संक्रमण देखिएको छ ।

काठमाडौं उपत्यकामा सोमबार ५४ जना, मंगलबार २८ जना र बुधबार २३ जनालाई कोरोना पोजिटिभ देखिएको छ । ‘यीमध्ये केही ट्राभल हिस्ट्री नभएका छन्,’ महाशाखा प्रमुख डा. वासुदेव पाण्डेले भने, ‘केही विदेशबाट आएर क्वारेन्टाइनमा बसेका पनि छन् ।’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबारसम्म काठमाडौं उपत्यकामा २ सय ९० जना संक्रमित छन् । तिनमा काठमाडौंका १ सय ९१, ललितपुर ५६ र भक्तपुरका ४३ जना छन् । मन्त्रालयका अनुसार काठमाडौंका ३५, भक्तपुरका ८ र ललितपुरका २ जना डिस्चार्ज भएका छन् ।

पछिल्लो तीन दिनमा काठमाडौंको कपुराधारा, कपन, चन्द्रागिरि, मैतीदेवी, मरुहिटी, कीर्तिपुर, पुरानो बानेश्वर, शंखमूल, चाबहिल, बालुवाटार, धुम्बाराही, महाराजगन्ज, तारकेश्वर, सीतापाइला, मनमैजु, नैकाप, गल्फुटार, कलंकी, धापासी, गोकर्ण, बसुन्धारा, बाफल, रानीवन, हाँडीगाउँ, कोटेश्वर, ट्याङ्लाफाँट, तीनकुने, खुसिबु, कागेश्वरी, टोखा, मूलपानी, काँडाघारी, साँखु, बौद्ध, बागबजार, वनस्थली, ताहाचल, सामाखुसी, टेकु र कुलेश्वरमा संक्रमित भेटिएका छन् ।

त्यस्तै ललितपुरको महालक्ष्मी, लुभु, लगनखेल, महालक्ष्मी स्थान, बुङ्मती, सानेपा, ठैब, पाटन, गोदावरी, सुनाकोठी, धापाखेल, हरिसिद्धि, हात्तीवन, चापागाउँ, भैंसेपाटी, नख्खु, प्युटार, चौघरे, जाउलाखेल, गोटीखेल, कुपन्डोल, ग्वार्को र ठेचोमा संक्रमण पुष्टि भएको छ ।

भक्तपुरका सल्लाघारी, दुवाकोट, बागेश्वरी, दूधपाटी, बालकोट, गठ्ठाघर, बोडे र भोलाछेंमा संक्रमित भेटिएका छन् । एउटै ठाउँमा एकभन्दा बढी संक्रमित पनि छन् ।

प्रतिकृया दिनुहोस्