चीनको स्वायत्त क्षेत्र भित्री मङ्गोलियामा एक व्यक्तिमा प्लेग संक्रमण पुष्टि भएपछि सरकारी निकायहरूले सावधानीका उपायहरू अवलम्बन गरेका छन्। सरकारी विवरणहरूका अनुसार बायान्नुरमा प्लेग देखिएका ती व्यक्तिलाई क्वारेन्टाइनमा राखिएको छ र उनको स्थिति स्थिर छ । उनी गोठाला भएको बताइएको छ । अधिकारीहरूले चारमध्ये तेस्रो तहको चेतावनी जारी गरेका छन् ।
ब्याक्टेरियाको संक्रमणबाट हुने ब्यूबनिक प्लेग घातक बन्न सक्छ । तर उपलब्ध एन्टीबायोटिकको प्रयोगबाट उपचार सम्भव छ । बायान्नुरस्थित एउटा अस्पतालमा गएका ती व्यक्तिमा शनिवार प्लेग भएको आशंका गरिएको थियो । तर उनलाई कसरी संक्रमण भयो भन्ने स्पष्ट छैन । तेस्रो तहको चेतावनी जारी भएपछि प्लेग सार्न सक्ने जीवजन्तुको सिकार गर्न र तिनको मासु खान रोक लागेको छ । संक्रमण भएको शङ्का लागेमा अधिकारीहरूलाई सूचित गर्न सर्वसाधारणलाई आग्रह गरिएको छ ।
विश्वमा बेलाबेलामा प्लेग देखा परिरहन्छ । सन् २०१७ मा म्याडग्यासकरमा ३०० जनाभन्दा बढी मानिसमा प्लेग भएको थियो । गत वर्ष मे महिनामा चीनको छिमेकी देश मङ्गोलियामा दुई जनाको प्लेगका कारण मृत्यु भयो। मार्मट नामक जङ्गली जीवको काँचो मासु खाएपछि उनीहरूलाई प्लेग भएको थियो । त्यहाँ मार्मटको काँचो मासु र मिर्गौला खाँदा स्वस्थ भइने लोकविश्वास भएको मङ्गोलियाको राजधानीमा कार्यरत विश्व स्वास्थ्य सङ्गठनका एक अधिकारीले बताएका थिए । तर उक्त जीवको सिकार अवैध हो । मार्मटले प्लेग लगाउने सूक्ष्मजीव बोकेको हुन्छ र मङ्गोलियामा फेला परेका संक्रमितहरूसँग यसको सम्बन्ध देखिएको छ।
के प्लेग महामारी फैलिन सक्छ?
प्लेग भएपछि लिम्फ नोड अर्थात् जसीका ग्रन्थिहरू सुनिन्छन् । संक्रमण भएको तीन दिनदेखि सात दिनसम्म रुघाखोकीजस्तो समस्या देखिने हुँदा प्रारम्भिक चरणमा यो रोगको लक्षण चिन्न गाह्रो हुन्छ । तर ब्यूबनिक प्लेग महामारी बनेर फैलिने सम्भावना न्यून हुन्छ । ‘चौधौँ शताब्दीको तुलनामा अहिले यो रोग कसरी सर्छ भन्ने हामीलाई थाहा छ,’ स्ट्यान्फर्ड हेल्थ केअरमा कार्यरत संक्रामक रोग विशेषज्ञ डा. शान्ति काप्पागोडाले बताइन् ।
‘यसको रोकथाम गर्ने तरिका हामीलाई थाहा छ। हामी संक्रमण भएका बिरामीको पनि प्रभावकारी एन्टीबायोटिक प्रयोग गरेर उपचार गर्न सक्छौँ।’ चौधौँ शताब्दीमा उक्त रोगका कारण अफ्रिका, एशिया र युरोपमा झन्डै पाँच करोड मानिसको मृत्यु भएको थियो ।
सन् १६६५ मा प्लेग महामारीका कारण लन्डनमा बसोबास गर्ने २० प्रतिशत मानिसले ज्यान गुमाएका थिए । उन्नाइसौँ शताब्दीमा चीन र भारतमा महामारी फैलिँदा एक करोड २० लाखभन्दा बढी मानिसको मृत्यु भएको थियो ।
प्रतिकृया दिनुहोस्