बझाङ — केदारस्युँ गाउँपालिका–८ मल्लेसीको पहिरोमा बेपत्ता भएका २२ वर्षीय गिरिजा जेठारा आइतबार पनि फेला परेका छैनन् । दुई दिनसम्म फेला नपरेपछि खोजी बन्द गरिएको छ । ‘दुई दिनसम्म खोज्दा पनि भेटिएन,’ केदारस्युँ–८ का वडाध्यक्ष गणेश बोहराले भने, ‘पहिरोले बगाएर कता पुर्यायो, अब भेटिँदैन होला भनेर उद्धार टोली फर्किसक्यो ।’ उनले पहिरो ठूलो क्षेत्रफलमा रहेकाले सबैतिर खनेर साध्य नहुने भन्दै उद्धार टोली फर्किएको बताए ।
केदारस्युँ गाउँपालिका ८, मल्लेसीको पहिरोमा बेपत्ताको खोजी गर्दै प्रहरी र स्थानीयको टोली । तस्बिर : वसन्तप्रताप सिंह/कान्तिपुर
शुक्रबार राति १ बजेतिर आएको पहिरोमा स्थानीय ६ जनाले ज्यान गुमाएका छन् भने १८ परिवारको घर र जिन्सी सम्पत्ति पूर्णरूपमा बगाएको छ । पहिरोमा परी घरवारविहीन भएकाले घटनाको दुई दिनसम्म पनि राहत नपाउँदा समस्या भएको बताएका छन् । पहिरो पीडितका लागि सेनाको हेलिकप्टरले शनिबार नै ल्याएको त्रिपाल, कम्बल र चामल बजारमा थन्किएको छ ।
सेनाको एमआई–१७ हेलिकप्टर अवतरण गर्न मल्लेसी गाउँमा ठाउँको नभएपछि सदरमुकामस्थित भोपुर ब्यारेकमा छोडेर फर्किएको थियो । त्यहाँबाट राहत सामग्री गाडीमा राखेर झोता बजारसम्म पुर्याए पनि झोताबाट बोकेर गाउँसम्म लैजान सक्ने मानिस नभेटिएकाले त्यतै थन्किएको वडाध्यक्ष गणेश बोहराले बताए । मल्लेसी गाउँ पुग्न जयपृथ्वी राजमार्गबाट झन्डै ३ घण्टा उकालो हिँड्नुपर्छ । ‘हामीसँग शरीरमा लगाएको लुगाबाहेक केही पनि छैन,’ पहिरोले घर बगाएकी धौली जेठाराले भनिन्, ‘अहिलेसम्म कतैबाट कुनै सहायता पनि पाएका छैनौं । कोही स्कुलमा त कोही आफन्तको घरमा बसिरहेका छौं ।’
उनले पहिरोमा सर्वस्व गुमाएका परिवारलाई लगाउने लुगादेखि खानेबस्ने सबै कुराको समस्या भएको बताइन् । ‘एक/दुई जनामात्रै भए त आफन्तकहाँ बस्न हुन्थ्यो, सिंगै गाउँ नै पाल्नुपर्ने भएर समस्या भयो,’ अर्का पीडित राजेन्द्र जेठाराले भने, ‘सरकारले केही सहयोग गरे पाल टाँगेरै भए पनि बस्थ्यौं । अहिलेसम्म कसैले सहयोग गरेको छैन ।’
प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीले हेलिकप्टरले छोडेको राहत सामग्री झोता बजारबाट ढुवानी गर्ने जिम्मा वडा कार्यालयलाई दिएको बताए । उनले जिल्ला दैवीप्रकोप उद्धार समितिले दिने राहत सोमबार वितरण गरिने बताए ।
गोठ पुरिँदा एकको मृत्यु
जयपृथ्वी नगरपालिका वडा नं ७ सुवेडाको चौपाखेमा आइतबार दिउँसो पहिरोमा परी स्थानीय कर्मराज जोशीका १२ वर्षीय छोरा शिवराज जोशीको मृत्यु भएको छ । स्थानीय जनेश्वर जोशी घाइते छन् । उनको जिल्ला अस्पताल बझाङमा उपचारका क्रममा मृत्यु भएको हो ।
पहिरोमा घाइते जनेश्वरको उपचार भइरहेको छ । उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ । पहिरोमा पुरिएर शिवराज जोशीको एउटा भैंसी पनि मरेको छ । दिउँसो साढे ४ बजेतिर आएको पहिरोले त्यहाँ रहेका चार भैंसीगोठ पूर्णरूपमा बगाएको छ । मृतक बालक पहिरो खसेका बेला गोठभित्र बसिरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकेन्द्रसिंह कार्कीले बताए
प्रतिकृया दिनुहोस्