Monday, November 23

फेसबूक लाइभ गर्दै आत्महत्या गर्ने एलिसाबारे अनुसन्धान गर्दै प्रहरी, पाउन सकेन क्लू

July 2, 2020 401

असार १६ गते बेलुका पौने ११ बजेको समयमा तुलसीपुर उपमहानगरपालिका–५ रानीजरुवाकी २३ वर्षीया एलिसा गौतमले रातो लेहेङ्गा र रातै चस्मा लगाएर घरको छतमा खिचेको फोटो माथिको स्टाटस लेखेर पोष्ट गरेकी थिइन् ।

उनले राखेको पोष्टमा २ सय ७६ प्रतिक्रियाहरू आएका छन् । जसमध्ये अधिकांशले ‘आरआइपी’ रिप लेखेका छन् । कसैले राम्री त, कसैले व्युटीफूल भनेर गरेको कमेन्टमा ‘टिक्यू’ अर्थात थ्याङ्कू लेखेर रिप्लाइ समेत गरेकी छन् ।

त्यसको अर्को दिनको राती १ बजे अर्थात असार १७ गते उनले त्यही रातो लेहेङ्गा लगाएर सामाजिक सञ्जाल फेसबूकमा लाइभ गर्दै आत्महत्या गरिन् ।

रानीजरुवामा घरमा एक्लै बस्दै आएकी एलिसाका बुवा–आमा भारतमा बस्दै आएका छन् । घरमा भाडामा बस्ने बाहेक उनीसँग अरु कोही पनि नबसेको पाइएको इलाका प्रहरी कार्यालय, रानीजरुवाका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) शिव सिंहले बताए ।

‘उनको घरमा भाडामा बस्ने बाहेक आफन्तहरू कोही बसेको पाइएन,’ डीएसपी सिँहले भने,‘उनका बुवा आमा भने भारतमा बस्दै आउनुभएको रहेछ  हामीले बोलाएका छौं ।’

फेसबूक लाइभ गर्दै आत्महत्या गरेको भन्ने खबर पाएपछि इलाका प्रहरी कार्यलयले प्रहरी निरीक्षक सहितको टोली घटना स्थलमा पठाएको थियो ।

‘राती हामीले घटना थाहा पाएपछि इन्स्पेक्टर सहित त्यहाँ पठाएका थियौं तर बचाउन भने सकेनौं,’ डीएसपी सिँहले लोकान्तरसँग भने ।

आफन्त कोही पनि नभएकाले आत्महत्याको बारेमा धेरै खुल्न सकेको छैन तर प्रहरीले आसपासका मानिसहरुसँग सोधपुछ गर्दा विवाह भएर पनि उनको सम्बन्धविच्छेद भइसको छ भने उनकी एक छोरी छिन् । डिभोर्सपछि उनकी छोरी बुवासँगै बस्दै आएको पनि खुलेको प्रहरीले जनाएको छ ।

एलिसाले असार १३ गते ‘छोरीको बर्थडे मनाउँदै आज, ह्याप्पी बर्थडे टु यू छोरी सधै खुशी रहनु तिमी’ भन्दै छोरीको जन्मदिन मनाएको फोटो फेसबूकमा पोष्ट गरेकी थिइन् ।

उनले आत्महत्या के कारणले गरेकी हुन् भन्ने कुरा अझै पत्ता नलागेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्