Thursday, March 4

बोत्स्वानामा भकाभक मर्न थाले हात्ती, खुलेन कारण

July 2, 2020 137

दक्षिण अफ्रिकी मुलुक बोत्स्वानामा भकाभक हात्ती मर्न थालेका छन्।

साढे ३ सयभन्दा बढी हात्ती रहस्यमय तरिकाले मरेपछि वैज्ञानिकहरूले यसलाई ‘कन्जर्भेसन डिजास्टर’ अर्थात संरक्षणमा प्रकोप समेत भएको बताएका छन्।

मे महिनाको सुरूमा ओकाभाङ्गो डेल्टा भन्ने स्थानमा पहिलो पटक हात्ती मरेको थियो। मे महिनाको अन्तिमसम्म आइपुग्दा भने एक सय ६९ हात्ती मरिसकेका थिए। त्यस्तै जुनको मध्यतिर आइपुग्दा मर्ने हात्तीको संख्या दोब्बर भएको छ।

बेलायतमा कार्यरत च्यारिटी नेशनल पार्क रेस्क्युका निर्देशक डा. नियल मिकक्यानले यस्तो घटना धेरै अगाडिसम्म नदेखिएको बताएका छन्।

बोत्स्वाना सरकारले ती हात्तीको परीक्षण भने गरेको छैन। हात्ती मर्नुको कारण पनि पत्ता लाग्न सकेको छैन। साथै मरेका हात्तीको परीक्षण नभएपछि यसले मानव जातिमा असर पर्छ कि पर्दैन भन्ने समेत खुल्न सकेको छैन।

समाचारपत्र द गार्डियनका अनुसार हात्ती मर्नुका सम्भावित दुई कारणमा विष खाएर वा नयाँ ‘प्याथोजेन’ले हुन सक्नेछ।

प्रत्यक्षदर्शी स्थानीयका अनुसार पछिल्लो समय ती हात्तीहरू सिधा नहिँडेर घुमाउरो तरिकाले हिँड्ने गरेका थिए।

जुन न्युरोलोजिकल इम्पायरमेन्टको लक्षण समेत हो। अर्थात स्नायु प्रणालीमा समस्या आएपछि त्यस्तो लक्षण देखिने बताइएको छ।

‘यदी मरेका हात्ती हेर्ने हो भने केही अगाडितिर ढलेका हुन्, जसले छिटो मरेको भन्ने संकेत गर्छ। अरू डुलिरहेकैजस्तो देखिँदा ढलेका छन्। त्यसैले यसको कारण विष हो वा अरु भन्न गाह्रो छ,’ निर्देशक मिकक्यानले भने।

सबै उमेर समूह र लिङ्गका हात्तीहरु मरेका छन्। कयौं हात्तीहरू कमजोर र दुब्ला देखिँदै गएका छन्। यसले आउँदो दिनहरूमा अझै हात्तीहरू मर्ने संकेत गरेको छ।

कतिपय हात्ती अझै फेला पार्न गाह्रो भएकोले कुल संख्या कति छ भन्न नसकिएको संरक्षकको भनाइ छ। मरेका हात्तीनजिक अरु जंगली जनावरहरू नभएकाले शिकारीहरूले प्रयोग गर्ने साइनाइड विष पनि प्रयोग नगरेको अनुमान गरिएको छ।

मृत्युको कारण कोरोनाभाइरस पनि हो कि भन्ने अनुमान समेत गरिएको छ।

बोत्स्वानाको ओकाभाङ्गो डेल्टामा करिब १५ हजार हात्तीहरू छन्। जुन मुलुककै १० प्रतिशत हो।

मरेका हात्तीबाट दाँतहरू पनि ननिकालिएको अवस्था रहेकाले संरक्षकहरूले शिकारीहरूबाट बचाउन र संरक्षण गर्न समेत आग्रह गरेका छन्। छिमेकी मुलुकहरूमा भने हात्तीहरू मरेका छैनन्।

प्रतिकृया दिनुहोस्