Wednesday, November 25

सिन्धुली, रामेछाप, दोलखा हुँदै सलह कीरा ओखलढुंगा प्रवेश

July 1, 2020 408

काठमाडौं : सिन्धुली हुँदै रामेछाप र दोलखा प्रवेश गरेको सलह कीरा ओखलढुंगा जिल्ला तिर गएको छ । रामेछापस्थित कृषि ज्ञान केन्द्र, मन्थलीका अनुसार शनिबार रामेछापको मन्थली नगरपालिकामा प्रवेश गरेको सलह एक दिन बसेर त्यहाँबाट दोलखातिर गएको ज्ञान केन्द्रका प्रमुख दिनेश आचार्यले जानकारी दिएका छन् । रामेछापको रामपुरमा सोमबार प्रवेश गरेको सलहको समूह मंगलबार त्यहाँबाट भागेको छ ।ज्ञान केन्द्रका प्रमुख आचार्यका अनुसार मन्थली नगरपालिकामा शनिबार प्रवेश गरेको सलह १० हजारको संख्यामा रहेको र रामेछाप नगरपालिकाको रामपुरमा बसेको सलहको समूहमा ५ देखि ६ हजारको संख्यामा थिए ।

उनले सलहका समूह आएर बसेपनि खासै क्षति नपुर्याएको बताए । ‘रामपुरमा भने चिलाउनेको रुखमा बसेर केही मात्रमा पातहरु खायो तर तल बालिहरुमा आएन । माथि बस्योर मथिबाटै गयो’ उनले भने । त्यस्तै दोलखाको ३ वटा स्थानीय तहमा आएर बसेको सलहले कुनै क्षति नगरी अन्तै गएको छ । दोलखाको बिगु गाउँपालिका वडा नम्बर ५, जिरी नगरपालिका ५ र गौरीशंकर गाँउपालिका ६ मा प्रवेश गरेको सलह एक दिन बसेर गएको हो । ‘दोलखाको ३ वटै स्थानीय तहमा सोमबार करिब ५/६ हजारको संख्यामा सलह प्रवेश गरेको थियो’ आचर्यले भने, ‘त्यहाँ एक दिन बसेर ओखलढुंगा जिल्लातिर प्रवेश गरेको खबर आएको छ ।’

प्रतिकृया दिनुहोस्