Thursday, October 29

बागलुङमा एकै दिन ६८ जनाले कोरोना जिते

June 30, 2020 109

बागलुङ : जिल्लामा एकैसाथ ६८ जनाले कोरोना जितेका छन् । बागलुङ जिल्लाको धौलागिरी बहुमुखी क्याम्पस, धौलागिरी अस्पताल बागलुङ तथा नरेठाँटी स्वास्थ्य चौकीको आइसोलेसनमा रहेका ६८ जनाकै पछिल्लो रिपोर्ट नेगेटिभ आएका कारण आइसोलेसनबाट डिस्चार्ज गरिएको हो । योसँगै जिल्लामा कोरोना जितेर घर फर्किनेको संख्या ९२ पुगेको छ ।

धौलागिरी बहुमुखी क्याम्पसको आइसोलेसनमा रहेका ४२, धौलागिरी अस्पताल बागलुङको आइसोलेसनमा बसेका ११ जनालाई मंगलबार डिस्चार्ज गरिएको धौलागिरी अस्पताल बागलुङका सूचना अधिकारी तिर्थराज गौतमले जानकारी दिए । यसका साथै गलकोट नरेठाटी स्वास्थ्य चौकीको आइसोलेसनमा रहेका १५ जनालाई घर पठाइएको गलकोट नगरपालिकाका प्रवक्ता  हिमबहादुर भण्डारीले बताए ।

बागलुङ जिल्लामा मंगलबारसम्म कुल १ सय ९४ जनामा संक्रमण पुष्टि भएको छ । त्यसमध्ये १ सय २ जना अझै पनि जिल्लाका विभिन्न आइसोलेसनमा उपचाररत छन् । उनीहरु सबैको अवस्था सामान्य रहेको धौलागिरी अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा.शैलेन्द्र बि पोखरेलले बताए ।

विश्व स्वास्थ्य संगठनको पछिल्लो मापदण्ड अनुसार १० दिनमा कुनै लक्षण नदिएको हकमा संक्रमण नसर्ने तथ्यलाई आधार बनाएर आइसोलेसनबाटै नेपाल सरकारले १४ दिनमा घर फिर्ता पठाउन निर्देशन दिएको थियो । तर, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आइसोलेसनमा उपचाररत संक्रमितको पछिल्लो रिपोर्ट नआइ घर नपठाउन निर्देशन दिएपछि सोही अनुसार डिस्चार्ज गर्ने गरिएको छ । यसरी घर पठाइएकाहरुलाई पनि थप दुई साता होम क्वारेन्टाइनमै बस्न सुझाव दिइएको डा.पोखरेलले बताए ।

प्रतिकृया दिनुहोस्