Wednesday, October 21

नेपालले सगरमाथाको नयाँ उचाइ घोषणा गर्दै

June 29, 2020 328

काठमाडौं– परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले सगरमाथाको नयाँ उचाइ घोषणा गर्ने काम अन्तिम चरणमा पुगेको जानारी दिएका छन्।

राष्ट्रियसभामा आजको बैठकमा विशेष समय लिएर बोल्दै परराष्ट्रमन्त्री ज्ञवालीले नापी विभागका कर्मचारीले सगरमाथाको उचाई नापेको र डाटा प्रोसेसिङको काम अन्तिम चरणमा पुगेको भन्दै उचाई घोषणा गर्ने तयारी भइरहेको पनि बताए।

‘सगरमाथाको उचाईको सन्दर्भमा त्यसको वास्तविक उचाई हिउँको रेखा (स्नो लाइन) लाई मान्ने कि चट्टानको उचाईलाई मान्ने भन्नेचाहिँ नेपाल र चीनको बीचमा छलफल चलिरहेको छ,’ उनले भने, ‘हामीले सुरुदेखि नै हिउँको लाइनलाई मानेर सगरमाथाको उचाई ८ हजार ८ सय ४८ मिटर मान्दै आएका छौं। संसारले पनि यही कुरा मान्दै आएको छ। तर बीचमा चीनले आफूले नापी गर्दा उसले हिँउँको रेखाभन्दा तल वास्तविक चट्टानको उचाई कति हो त, ८ हजार ८ सय ४४ दशमलव ४३ भनेर नाप गर्‍यो।’

सगरमाथाबाटै सिमाना जाने भएकाले गर्दा त्यसको उचाई दुवै देशको सहमतिबाट मात्रै टुंग्याउन सकिने भएकाले त्यो विषय टुंगिन बाँकी रहेको उनको भनाई थियो।

‘त्यतिञ्जेल हामीले आफ्नो अवस्थाबाट नापी गरिसकेको अवस्था थिएन। तर गत वर्ष नेपालको नापी विभागका कर्मचारीले निकै साहसका साथ, निकै सुझबुझका साथ, निकै जोखिम मोलेर सगरमाथाको उचाई नाप्नुभएको छ। त्यसका डाटा प्रोसेसिङका काम करिबकरिब सम्पन्न भइरहेको छ,’ उनले भने, ‘यसबीचमा चीनले पनि आफ्नो तिरको पाटो नाप्नुभएको छ। दुई देशको बीचमा सूचना आदनप्रदान भइरहेको छ। छिट्टै नेपालको तर्फबाट सगरमाथाको उचाई घोषणा गर्ने तयारी पनि हुँदैछ।’

प्रतिकृया दिनुहोस्