Sunday, October 25

सलह प्रकोप एक महिनासम्म रहन सक्छ : विज्ञ

June 29, 2020 88

बाराबाट शनिबार प्रवेश गरेको सलह किरा नेपालमा एक महिनासम्म रहन सक्ने विज्ञहरुले प्रक्षेपण गरेका छन् । वयस्क सलह बढीमा दुई हप्ता र बच्चा सलह एक महिनासम्म बाँच्न सक्ने कृषि विभागका पूर्व महानिर्देशक डा. डिल्लीराम शर्माले बताए ।

उनले भने, ‘वयस्क सलहले अन्डा पार्न पाएन भने दुई हप्ताभन्दा बढी बाँच्न सक्दैन । उसलाई अन्डा पार्न राजस्थान नै जानुपर्ने हुन्छ । बच्चा सलह बढीमा एक महिनासम्म नेपालमा बाँच्न सक्छ ।’ सोमबारसम्म हावाको गति परिवर्तन भएमा दाङ, बाँकेसम्म पुग्न सक्ने सम्भावना रहेको उनले बताए ।

८–१० करोडको समूहमा आएर बाली सखाप पार्ने प्रजातिको यो किरा नेपालमा २–४ लाखको समूहमा मात्रै आएकाले नियन्त्रण गर्न सकिने उनको भनाइ छ । अहिले डराउनैपर्ने अवस्था नभएको भन्दै उनले सरकारले विषादी प्रयोग गरेर र किसानले धुवाँ लगाउने र ड्रम बजाएर यसलाई नियन्त्रण गर्न सकिने अवस्था रहेको बताए ।

शनिबार भारतबाट नेपालको तराईका जिल्ला हुँदै पहाडी जिल्लामा समेत सलह प्रवेश गरेको थियो । सलहलाई बिहान विषादी प्रयोग गरी नष्ट गर्न सकिने विज्ञहरुको भनाइ छ । साँझ एक ठाउँमा गएर बस्ने र बिहान ८–९ बजेपछि मात्रै बाली खान खेतमा पस्ने भएकाले बिहान ५–६ बजेको समयमा विषादी प्रयोग गरी नियन्त्रणमा लिन सकिने अवस्था रहेको विज्ञहरुले बताएका छन् ।

प्रतिकृया दिनुहोस्