Monday, November 30

पलाञ्चोक भगवतीमा काेराेनाका कारण जात्रा राेकियाे, जात्राका लागि छुट्याएकाे बजेटले बाजा खरिद

June 28, 2020 134

यस वर्ष कोरोना संक्रमणका कारण पलाञ्चोक भगवती मन्दिरको जात्रा रोकियो ।

कोरोना भाइरसको सन्त्रासले गर्दा प्रत्येक वर्ष मनाउँदै आएको जात्रा यसपालि नगरपालिकाको निर्णयले रोकियाे ।

सोही जात्रा व्यवस्थापनका लागि नगरपालिकाले छुट्याएको रकमबाट पर्व र जात्रामा प्रयोग हुने वाद्यबादन अर्थात् बाजा किनेर समुदायलाई हस्तान्तरण गरिएको छ ।

जात्रा व्यवस्थापनका लागि विनियोजन गरिएको दुई लाख रकमबाट पलाञ्चोक भगवती मन्दिरको गुठियारलाई बाजा सामग्री हस्तान्तरण गरिएको हो ।

पाँचखाल नगरपालिकाका उपप्रमुख लक्ष्मी दनुवार र वडा नम्बर ९ का अध्यक्ष किरण श्रेष्ठले संयुक्त रूपमा उक्त सामग्री हस्तान्तरण गरेका हुन् ।

हस्तान्तरण कार्यक्रममा उपप्रमुख दनुवारले विभिन्न पर्व र संस्कृति नै पाँचखालको पहिचान भएकाले यसको संरक्षण गरिनुपर्ने बताइन् ।

‘विभिन्न समुदायले मान्ने पर्व संस्कृति नै पाँचखाल नगरपालिकाको पहिचान हो,’ उनले भनिन्, ‘पर्व र संस्कृति जगेर्ना र संरक्षणका लागि हामी सबै मिलेर लाग्नुपर्छ त्यसको लागि नगरपालिका सदैव सकारात्मक छ,’ उनले भनिन् ।

अन्तर्राष्ट्रियस्तरमा प्रसिद्ध रहेको धार्मिक शक्तिपीठ पलाञ्चोक भगवती मन्दिरको गुठियारलाई वाद्यबादन सामग्री हस्तान्तरण गरिएको पाँचखाल नगरपालिकाका प्रेस सल्लाहाकार कपिल कोइरालाले जानकारी दिएका छन् ।

आर्थिक वर्ष ०७६/७७ मा पलाञ्चोक क्षेत्रका जात्रा तथा पर्व व्यवस्थापन शीर्षकमा विनियोजित रकम दुई लाखबाट सामग्री खरिद गरी हस्तान्तरण गरेको काेइरालाले बताएका छन् ।

पलाञ्चोक भगवती मन्दिरसँग सम्बन्धित बाजा विभिन्न मेला, पर्व, दैनिक नित्य पूजा, आरती पूजा, चन्डी पूर्णिमा मेला, बडादशैँ रथयात्रा, लाखे गाईजात्रा पर्वलगायत अन्य विशेष पूजापर्वहरूमा प्रयोग हुने वाद्यबादनका सामग्री प्रदान गरिएको हो ।

जसमा धिमे, दमाहा, टेम्को, मवाली, कर्नाल र बेन्डबाजाको सेट गुठियारलाई हस्तान्तरण गरिएको पाँचखाल नगरपालिकाले जनाएको छ

प्रतिकृया दिनुहोस्