Thursday, November 26

१८ करोडको सवारीसाधन खरिद गर्दै सेना

June 28, 2020 95

१४ असार, काठमाडौं । नेपाली सेनाले १८ करोड रुपैयाँ बराबरको सवारीसाधन खरिद प्रक्रिया अघि बढाएको छ । अत्यावश्यक भएकाले ‘अपरेसनल भेइकल’ खरिद गर्न लागिएको जंगीअड्डाका सैन्य अधिकृतहरूको दाबी छ ।

सेनाले डबल क्याब पिकअप तराई र पहाडका लागि ५/५ वटा गरेर १० वटा खरिद गर्दैछ । सेनाले जम्मा ३० वटा पिकअप खरिद गर्नुपर्ने माग गरेको थियो । सेनाले ‘सी’ क्याटेगोरीको एम्बुलेन्स पनि एउटा खरिद गर्दैछ । सेनाले एम्बुलेन्स ५ वटा माग गरेको थियो ।भीआईपी र भीभीआईपीका लागि ‘ए’ क्याटेगोरीको एम्बुलेन्स एउटा खरिद गरिँदैछ। यो राष्ट्रपति, प्रधानमन्त्रीलगायतको सवारीका बेला प्रयोग हुनेछ । यसमा भेन्टिलेटरसहितको सुविधा हुने सेनाले तयार गरेको प्राविधिक विशेषता सूचीमा उल्लेख छ ।

नेपाली सेनाको एउटा टोली गत मंसिरदेखि युरेनियम रहेको भनिएको मुस्ताङको थुलुङफाँटमा खटिएको छ। उक्त टोलीका लागि एउटा माउन्टेन जिप खरिद गरिँदैछ ।

हार्ड टप जिप पनि ५ वटा खरिद गर्ने सेनाको तयारी छ। जंगीअड्डाले १५ वटा खरिद गर्न माग गरे पनि ५ वटा मात्र स्वीकृत भएको हो । त्यही क्षेत्रका लागि ५ वटा मोटरसाइकल पनि खरिद गरिँदैछ।

सेनाले विभिन्न क्षेत्रका लागि ३० वटा साइकल र ४ वटा ट्याक्टर पनि खरिद गर्दैछ । जंगीअड्डाका लागि २० र ५ टन सामान उठाउने फोर्कलिफ्ट एक/एक वटा खरिद गरिँदैछ । जंगीअड्डाकै लागि वर्कसप भ्यान एउटा खरिद गरिँदैछ ।

सेनाले ४० जना अट्ने क्षमता भएको २ वटा बससमेत माग गरे पनि स्वीकृत भएन । सेनाको वेयर हाउसका लागि ६ वटा ‘इलेक्ट्रिक कार्ट’ पनि खरिद गर्दैछ । सेनाले तीन वटा किचन मोबाइल भ्यान खरिद गर्न पनि माग गरेको थियो । तर दुई वटा मात्र स्वीकृत भएको छ

सेनाले प्रकोपमा प्रयोग हुने तीन वटा साधन खरिद गर्दैछ । जंगीअड्डाका अनुसार आगलागी नियन्त्रणमा प्रयोग हुने ‘रेस्क्यू ल्याडर’ र कम्प्याक्ट फायर इञ्जिन (दमकल) खरिद गर्ने प्रक्रिया अघि बढाएको छ ।

आगलागी नियन्त्रणकै लागि एउटा ‘अल्ट्रा हाइ प्रेसर सिस्टम’ पनि खरिद गरिँदैछ ।

सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले सबै सवारीसाधन दैनिक क्रियाकलापमा अत्यावश्यक भएरै खरिद गर्ने प्रक्रिया थालिएको बताए । यसका लागि टेण्डर आह्वान गर्ने प्रक्रिया सुरु भइसकेको उनले जनाए ।

प्रतिकृया दिनुहोस्