Wednesday, January 20

१२ घण्टामै पहाडी जिल्लासम्म पुग्यो सलह

June 28, 2020 264

हावाको वहाव उत्तरतर्फ बहन थालेपछि भारतको बिहार हुँदै सलह किरा नेपाल प्रवेश गरेको छ । प्रदेश २ को बारा, पर्सा र सर्लाहीमा स्थानीय किसानले आज बिहान सलह किरा देखेका थिए ।

प्रदेश २ का बिभिन्न जिल्लामा पहिलो पटक देखिएको किरा १२ घण्टाभित्रै काभ्रे, पाल्पा, रुपन्देही, मकवानपुर, सिन्धुलीसहितका पहाडी जिल्लामा समेत ठूलो संख्यामा देखिएको छ । मध्यान्न फाट्फुट्ट मात्र देखिएको किरा हावाको बहावसहित अपरान्हबाट भने बिभिन्न जिल्लामा हुलका हुल देखिन थालेको भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन् ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयद्वारा गठित टास्क फोर्सको आज बसेको बैठकले नेपालमा देखिएको सलह मरुभूमि सलह भएको निष्कर्ष निकालेको छ । टास्क फोर्सले प्रदेश सरकार र स्थानीय तहहरुलाई सक्रिय भएर लाग्नुपर्ने निर्णय गर्दै मन्त्रालयलाई आफ्नो राय दिएको छ ।

प्राविधिक कार्यदलका संयोजक सहदेव हुमागाईंले अहिले विज्ञ टोलीले किरा कतातिर जान्छ र यसको संख्या कति छ भन्ने याकिन जानकारी नभएकाले केही भन्न सकिने अवस्था नरहेको बताउनुभयो ।

दक्षिणबाट उत्तरतिर हावा बहँदा सलह भारत हुँदै नेपाल प्रवेश गरेको हो टास्क फोर्सका संयोजक हुमागाईंले गुलाबी रंगका ती सलह मरुभूमिमा पाइनेजस्तो धेरै खन्चुवा नभएकाले तत्काल आत्तिहाल्ने अवस्था नरहेको बताउनुभयो ।

नेपालमा मरुभूमिको जस्तो जमिन नभएको र पानी समेत परिरहेकाले ती किरा लामो समयसम्म नेपालमा नबस्ने कृषि मन्त्रालयको बुझाई छ । हुमागाईंले धान रोप्ने समय भएको र अधिकांश जमिन खाली भएकाले क्षति कम हुने अनुमान गर्नुभयो ।

प्रदेश ५ सरकारले एक किलो सलह किरा संकलन गरी स्थानिय निकायलाई बुझाउने ब्यक्तिलाई २० रुपैयाँ प्रोत्साहन दिने घोषणा गरेको छ । सलह विरुद्ध ध्वनि वा धुवाको प्रयोग गर्न तथा १ लिटर पानीमा वा क्लोरोपाईरिफस नामक विषादिमा २ एम एल प्रति लिटर पानी घोली विषादी किरामा पर्ने गरी स्प्रे गर्न जारी सुचनामा अनुरोध गरिएको छ ।

पाल्पाका विभिन्न स्थानमा सलह किरा प्रवेश

बिहान र दिउासो रुपन्देहीका विभिन्न स्थानमा देखिएको सलह किरो प्रदेश ५ को पहाडी जिल्ला पाल्पामा पनि देखा परेको छ । भारतीय सिमा क्षेत्रबाट रुपन्देही हुँदै सिद्धबाबा क्षेत्रबाट तिनाउ गाउँपालिकाको दोभान क्षेत्र प्रवेश गरेको स्मार्ट कृषि भिलेज तिनाउ–२, झ्याङ्लाका अध्यक्ष चोपलाल गिरीले बताउनुभयो ।

उहाँका अनुसार बगाहा, गणेशटोल, खुर्साने, झुम्सा लगायत तिनाउका विभिन्न क्षेत्रमा सलह प्रवेश गरेको छ । स्थानीयले आगो बालेर धुँवा निकाल्ने, टिन, थाल ठटाउने गरेका छन् । तिनाउ दोभानका तोया लम्सालकाअनुसार सलह उडिरहेको र माथिल्लो भागमा प्रवेश गरेको छ । शनिबार अपरान्हबाट पाल्पाका पश्चिम क्षेत्रका साथै सिद्धार्थ राजमार्गको माथिल्लो भाग भएर प्रवेश गरेको छ ।

जंगलका साथै कृषकको मकै बारीमा नोक्सान पुऱ्याएको स्थानीयले बताए । हुलका हुल प्रवेश गरेको सलह लाखौंको संख्यामा रहेको देखिएको तिनाउ–५, चर्चरे नयाँ बस्तीका सुन्दर गाहाले बताउनुभयो । उहाका अनुसार सलह नै भएकाले सबैलाई सचेत हुन आग्रह गरिएको छ । किसानको मकै बारीमा बस्ने, फलफुल, तरकारी, विभिन्न विरुवा जोगाउने विभिन्न उपाय अपनाएका छन् ।

बुटवलको आकाशमा सलह

बुटवलको आकाशमा अहिले सलह कीरा मडारिएका छन् । शनिबार मध्यान्हसम्म फाट्टफुट्ट देखिएको सलह दिउसो साढे तीन बजेपछि हुलका हुल आकाशमा उडेको देखिएको हो ।

प्रदेश ५ को कृषि विकास निर्देशनालय प्रमुख याम नारायण देवकोटाले दिउसो ३ बजेपछि सीमा क्षेत्र हुदै हुलका हुल सलह कीराले आकाश ढाकेको बताउनुभयो । उनका अनुसार केही सलह दक्षिण हुदै उत्तर दिशामा गएका छन् भने केही आकाशमै मडारिएका छन् । खेत रोप्ने समय भएकाले तराईको धेरै खेत खाली छ । खेतबारी खाली भएकाले कीराहरु आकाशमा मडारिएको हुनसक्ने विज्ञहरुको अनुमान छ ।

भारतीय सिमा क्षेत्र हुदै रूपन्देही जिल्लामा पनि सलह कीरा पसेका थिए । शनिबार बिहान भैरहवा, रोहिणी, ओमसतिया र देवदह क्षेत्रमा सलह कीरा देखिएको थियो । दिउसो बुटवल क्षेत्रमा सलह देखिएको हो ।

सिन्धुलीमा सलह किरा

सिन्धुलीको कमलामाइ नगरपालिकाको वडा नं ८, ९ र १० मा सहल किरा देखा परेको स्थानीय किसानहरुले बताएका छन् । यी वडाहरु चुरे क्षेत्रमा पर्दछन् । भडार, भिमान, करकरे क्षेत्रमा सलह किराहरु सानो झुण्डमा खेतबारीमा भेटिएको स्थानीय कृषक पदम तामाङले बताउनुभयो ।

मकवानपुरमा सलह किरा

मकवानपुरको दुई गाउँपालिकामा सलह किरा देखा परेको छ । मकवानपुरको पुर्वी क्षेत्रमा पर्ने वकैया गाउँपालिकाको १ र २ मा पर्ने धियाल र हात्तीसुढे क्षेत्रमा सलह किरा देखापरेको वकैया गाउँपालिकाका कृषि शाखाका प्रमुख शिवराज पौडेलले वताउनुभयो ।

वकैया गाउँपालिका र हेटौडा उपमहानगरपालिकामा जोडिएको मकवानपुर गढी गाउँपालिका—२, ३ र ७ मा पनि सलह देखीएको गाउपालिकाका अध्यक्ष विदुर हुमागाईले वताउनुभयो ।

प्रतिकृया दिनुहोस्