Sunday, January 24

एक जनालाई बचाउन खोज्दा २ जनाकै ज्यान गयो

June 26, 2020 330

पथरीशनिश्चरे (मोरङ) । पूर्व–पश्चिम राजमार्गअन्तर्गत मोरङको कानेपोखरी–७ दहीखोलामा बिहीबार राति भएको जिप दुर्घटनामा तीन जनाकाे ज्यान गएकाे छ । मानसिक सन्तुलन गुमाएकी महिलालाई बचाउन खोज्दा दुर्घटना भएकाे प्रहरीले जनाएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा १४ च ९६४३ नम्बरको स्करपियोले सोही दिशातर्फ पैदल जाँदै गरेकी ती महिलालाई ठक्कर दिँदा महिलाको पनि घटनास्थलमै मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय, पथरीका प्रहरी नायब उपरीक्षक दिलिपकुमार गिरीका अनुसार स्करपियोले महिलालाई ठक्कर दिएपछि अनियन्त्रित भई पुनः अर्को दुर्घटना भएको थियो ।

अनियन्त्रित बनेको स्कारपियोले पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मे १० प २७५६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक पाँचथरको फिदिम नगरपालिका–२ का ३८ वर्षीय गजेन्द्रबहादुर गुरुङ र मोटरसाइलको पछाडि सवार ३५ वर्षीय पहिचान नखुलेका अर्का एक पुरुषको मृत्यु भएको छ । पहिचान नखुलेका पुरुषको घटनास्थलमै र गुरुङको उपचारका क्रममा नोबेल शिक्षण अस्पताल विराटनगरमा उपचारका क्रममा राति १० बजे मृत्यु भएको हो ।सडक किनारमा सधैंजसो हिँडिरहने मानसिक सन्तुलन ठीक नभएकी महिलालाई बचाउने क्रममा मोटरसाइकललाई समेत ठक्कर दिएको प्रहरी नायब उपरीक्षक गिरीले बताउनुभयो ।

प्रतिकृया दिनुहोस्