Thursday, November 26

वौद्धमा दुई दिनदेखि बिरामी बाटोमै ‘अलपत्र’ , प्रहरी र वडाध्यक्ष छेउमै जान डराए

April 17, 2020 778

काठमाडौं, ४ बैसाख । काठमाडौंको वौद्धस्थित रामहिटी चोकमा एक शारीरिक असक्त (पुरुष) बिरामी दुई दिनदेखि सडकमै अलपत्र परेका छन् ।

हिंड्न र बोल्न नसक्ने अवस्थाका बिरामीको उद्धारका लागि स्थानीयले प्रयास गरेपछि सम्बन्धित पक्षले सुनुवाइ नगर्दा दुई दिनदेखि उनी सडकमै अलपत्र रहेको स्थानीय बताउँछन् । स्थानीयले वौद्ध वडा नम्बर–६ का अध्यक्ष दिपेन्द्र लामालाई फोनमार्फत जानकारी गराएपछि बल्लतल्ल एक पटक आएर हेरे पनि त्यसपछि फोन नै नउठाउने गरेको स्थानीयले जानकारी दिएका छन् ।

करीब ५० वर्ष उमेरका शारीरिक असक्त पुरुष दुई अलपत्र अवस्थामा सडकमा भेटिएपछि स्थानीयमा समेत त्रास छाएको छ । रामहिटीमा बस्दै आएका सुवास लकान्द्रीलगायतका युवाले ती बिरामीको अवस्थाका बारेमा वौद्ध प्रहरीलाई दुई दिनअघि नै जानकारी गराए पनि हालसम्म प्रहरीले पनि उनको उद्धारमा चासो देखाएको छैन ।

पटक–पटक प्रहरीलाई सडकमा अलपत्र विरामीबारे जानकारी गराउँदा एक पटक हेरेर एक बोतल पानी राखिदिएर गएको लकान्द्रीले जानकारी दिए । प्रहरीले अलपत्र बिरामीको उद्धार गर्नुको सट्टा उल्टै तपाईहरु नै १०२ नम्बरमा एम्बुलेन्समा फोन गर्नुस् भन्दै तर्किने गरेको लकान्द्रीले बताए ।

लकान्द्री भन्छन्, ‘हामीले दुई दिनअघि नै प्रहरीलाई अलपत्र बिरामीको भिडियो खिचेर प्रहरीलाई नै भेटेर जानकारी गराएका हौं, तर, अहिलेसम्म उद्धार भएको छैन ।’ उनल थपे, ‘हामीले त देखेको कुरा प्रहरीलाई जानकारी गराउने कुरा मात्र हो, उद्धार गर्ने भनेको स्थानीय प्रहरी र स्थानीय निकाय नै हुन् । ’

देशमा कोरोना भाइरस संक्रमणको महामारीको अवस्थाका कारण प्रहरी र स्थानीय जनप्रतिनिधि समेत बिरामीको छेउमा जान नमानेको रामहिटीका स्थानीयले बताएका छन् ।

प्रतिकृया दिनुहोस्