इटहरी । झट्ट सुन्दा अचम्म लाग्छ । एकै परिवारको चार सन्तान अपाङ्ग । सबैलाई विश्वास पनि नलाग्ला तर यो यर्थात हो । इटहरी २ का लक्ष्मण र मनमाया तामाङ अहिले विरक्तीएका छन । आफ्नो चारै सन्तान अपाङग भए पछि अहिले तामाङ परिवार विरक्तीएका हुन ।
०४८ कात्तिकमा एक छोरीको जन्मभयो । जेठी छोरी २०४८ कात्तिक, जेठो छोरा ०५० भदौ, कान्छी छोरी ०५६ भदौ र कान्छो छोरा ०६२ चैत्रमा जन्मिए । तर यी चारै सन्तान अहिले अपाङ्ग हुदा परिवारमा ठुलो सकस परेको छ ।
अहिले चारैजना सन्तानले आँखा देख्दैनन् । उनीहरु आँखा मात्र नदेख्ने हैन, हिड्न पनि सक्दैनन् । न त आँफै खान नै सक्छन्, न त दिसापिसाप नै आँफै गर्न सक्छन् । चारजना मध्ये कान्छो छोरा भने अलिअलि बोल्छन्, तर आँखाभने देख्दैनन् ।
‘तीनजना ओछ्यानमै हुन्छन्, दिसापिसाप पनि आँफै गराइदिनुपर्छ,’ आमा मनमायाले गहभरी आँशु पार्दै आफ्नो पीडा पोखिन्, ‘एकदिन ठूली छोरी स्कूल जाने क्रममा ज्वरो आयो, बाटोमै लडी त्यसपछि कहिल्यै उठिन ।’ उनका अनुसार तत्कालिन समयमा ताप्लेजुङमा रहँदा स्कूल जाने क्रममा ज्वरो आएको र हातखुट्टा बटारिएर एकैठाउँ भएको थियो । उनलाई उपचारका लागि विभिन्न अस्पताल लगिएपनि उपचार सम्भव भएन ।
चारै सन्तानलाई सातबर्ष लागेपछि एउटै रोगले च्यापेकाले आँफू विक्षिप्त रहेको उनको आँखामा देख्न सकिन्थ्यो । ‘६ महिनाको नानीलाई जस्तो लिटोजस्तै खानेकुरा आँफैले खुवाइदिनुपर्छ,’ उनले भनिन्, ‘खुट्टा पनि सिधा हुँदैन, तीनजना त लडेको लडै हुन्छन् ।’
मनमायाका पति लक्ष्मण तामाङले भने आँफू सामाजिक रुपमै विभेदमा परेको सुनाउँछन् । ‘म सामाजिक रुपमै विभेदमा परेँ, यो रोग सर्छ भनेर अरु कसैले मेरो घरमा केटाकेटी पठाउँदैनन्,’ उनले सुनाए, ‘छोराछोरीलाई जतिबेला पनि रोगले च्याप्छ, आफन्त नरनाता भन्न, भेट्न पाईएको छैन ।’
कान्छा छोरा भने अलिअलि बोल्ने गर्छन् । लक्ष्मणले कान्छा छोराका लागि गीत गाउँन भनेर हार्मोनियम पनि किनेर ल्याएका छन् । बेला–बेलामा सञ्जीव हार्मोनियममा भुलिन्छन् । र, गुनगुनाउँन थाल्छन्, ‘जहाँ छन् बुद्धका आँखा‘। गीतगाउँन मन लाग्छ, गीत गाएर पैसा कमाउँछु भन्ने सपना छ ।’
प्रतिकृया दिनुहोस्