Wednesday, October 21

तीन सय कोरोना संक्रमितलाई अस्पताल, आइसोलेसन र घर पुर्‍याउने कपिलदेव

June 24, 2020 249

नेपालमा कोरोनाभाइरसका संक्रमित थपिएसँगै धनुषाको मिथिला नगरपालिका- ९ का ४७ वर्षीय कपिलदेव ठाकुरको काम पनि थपिन्छ।

कपिलदेव एम्बुलेन्स चालक हुन्। उनी २५ वर्षदेखि नेपाल रेडक्रस सोसाइटी जनकपुरधामको एम्बुलेन्स चलाइरहेका छन्।

यी २५ वर्षमा जब-जब संकट आयो तब-तब उनी दौडिए। कहिले रोगीहरू, कहिले दैवी प्रकोप, आगलागी, दुर्घटनाजस्ता घटनाका पीडितलाई गाडीमा हालेर अस्पताल हुँइकिए।

यसरी एम्बुलेन्स हुँइकाउँदाहुँइकाउँदै उनी कोरोना महामारीको समयमा आइपुगेका छन्। आफूले बोकेर हिँडेका बिरामीसँग डराउनु पर्ने यस्तो अवस्था उनले पहिला कहिल्यै भोगेका थिएनन्।

‘दिनहुँ म कोरोनाका बिरामी बोकेर हिँड्छु। जो रोगी छ त्यसैसँग डराउनु पर्ने,’ उनले भने, ‘आफू उसँग डरायो अरू आफैंसँग डराउँछन्।’

परिवारसँग पनि उनको दूरी बढेको छ।

‘तीन छोराछोरी छन्। श्रीमती र अति मिल्ने साथीभाइसँग पनि दूरदूर बस्नुपरेको छ,’ उनले भने।

धनुषामा पहिलो कोरोना संक्रमित मिथिला नगरपालिकामै भेटिएका थिए। वडा नम्बर १० मा त्यतिबेला दिल्लीबाट आएकी एकजना महिलामा कोरोना पुष्टि भएको भयो।

ती संक्रमितलाई अस्पताल लिन जान रेडक्रसका सभापतिले कपिलदेवलाई अह्राए। उनले भने घरमा श्रीमतीलाई फोन गरे।

‘म कोरोना संक्रमित ल्याउन जाँदैछु,’ उनले यत्ति भनेका थिए श्रीमती रून थालिन्।

नजाऊ भनेर हत्ते हालिन्। तर बिरामी बोक्नु त उनको कामै थियो। उनले एम्बुलेन्सलेको स्टेरिङ समाए। ३० किलोमिटरको बाटोमा गुडिरहँदा उनलाई लगभग ३० चोटिभन्दा बढी श्रीमतीको फोन आएको थियो।

‘त्यो दिन त आफू युद्ध लड्न जाँदैछुजस्तै लाग्यो,’ उनले भने।

आफ्नो श्रीमानलाई कोरोना लाग्छ की भनेर डराएकी उनकी श्रीमती अहिले भने सामान्य भएकी छन्। श्रीमतीले सहजै उनको काम बुझेपछि आफूलाई पनि सजिलो भएको कपिलदेवले बताए।

‘सुरूमा कोरोना संक्रमित ल्याउन जाँदैछुभन्दा तपाईं किन जानु पर्‍यो, अरूलाई पठाए हुन्छ भन्ने गर्थिन्,’ कपिलदेवले भने ‘विस्तारै उनको डर जिज्ञासामा परिणत हुँदै गएको छ, अब उनका प्रश्न फेरिकएका छन्-कति जनालाई अस्पताल पुर्‍याउनु भयो,आज कहाँ-कहाँ जानुभएको थियो र?’

कपिलदेवले धनुषा र महोत्तरी गरी दुई जिल्लाका संक्रमितहरूलाई अस्पताल ल्याउने र कोरोनामुक्त भएकाहरूलाई घर पुर्‍याउने जिम्मा पाएका छन्। अहिलेसम्म ३ सय जति कोरोना संक्रमितलाई क्वारेन्टिन, आइसोलेसन र घरमा पुर्‍याइसकेका छन्।

यस्तो संकटको बेलामा डटेर काम गर्न उनलाई मानिसहरूको प्रशंसाले उत्साह दिन्छ रे। त्यसमाथि उनलाई त सिडिओ, डिएसपी, चिकित्सकहरूले पनि वाहवाही गर्छन्।

‘कोरोना संक्रमितलाई पुर्‍याउन वा लिन जाँदा सिडिओसाब आफैं कैयौं पटक फोन गरेर ठिक छौ, तिमी त बहादुरीको काम गर्दै छौ नि भनेर स्याबासी दिनुहुन्छ, हस्पिटलमा डाक्टर साबले अरूका लागि उदाहरण बन्दै छौं भन्नुहुन्छ। उहाँहरूको मप्रतिको सम्मान र माया देखेर मलाई काम गर्न झन् बढी मन लाग्छ। खुसी लाग्छ,’ कपिलदेवले भने।

तर जब साथीभाइ भेट्छन् उनलाई अलि गाह्रो हुन्छ। एक त उनीहरूको नजिक जान पाउँदैनन्। अर्को साथीभाइले जिस्काउँछन्-ऊ कोरोनावाला आयो। फोन गरेर पनि त्यही भन्छन्।

‘साथीभाइको भने अर्कै छ, कहिलेकाहीँ त फोन गरेरै के छ कोरोनावाला भनेर जिस्काउँछन्, उनीहरूले यसो भन्दा साँच्चै आफू परिवार र साथीभाइका लागि संकट बनिरहेको त छैन् भन्ने पनि लाग्छ,’ उनले भने।

कपिल अहिले प्रायः दैनिक लगभग १२ देखि १६ घन्टासम्म काम गर्दै आएका छन्।

काम गर्दा भाउन्न बनाउने चाहि मधेसको गर्मीले हो। त्यसमाथि लगाउनु पर्ने पिपिई र मास्क। न शरिरमा हावाले छुन पाउँछ न खुला हावामा सास फेर्न।

‘धनुषाको नगराइन, सबैलासहित ४/५ ठाउँको क्वारेन्टिनमा संक्रमितहरू भेटिएका थिए, त्यो दिन गर्मी पनि असाध्यै थियो, पिपिई, मास्क, ग्लोब्स, बमबुट लगाएको थिएँ। शरीरमा हावा पस्ने कुरै भएन, पसिना चुहिएर बमबुटमा पानी भरिएछ,’ मुस्काउँदै कपिलदेवले भने ‘पछि बमबुट निकालेर खुट्टा स्यानिटाइजरले सफा गरें र फेरि हिँडें।’

नेपालमा लकडाउन भएदेखि निरन्तर सेवामा खटिँदै आएका कपिलले तीन महिनामा थुप्रै मिठा र नमिठा अनुभव पनि सँगाले।

एकदिन तुलसीयाहीबाट कोरोनाका संक्रमित लिएर जलेश्वर अस्पताल पुगेका उनी दिनभरि पानीका लागि छटपटाए, कसैले उनलाई पानी दिएनन्।

त्यो दिन जनकपुरको अस्पतालमा ठाउँ नभएर संक्रमित लिएर जलेश्वर अस्पताल पुगेका थिए। बिहान ७ बजे नै घरबाट निस्कँदा उनले पानीको बोतल ल्याउन बिर्सेछन्। बाटोमै किन्छु भन्ने सोचेका थिए। संक्रमित छोड्न अस्पताल जाँदा बाटोमा एउटा किराना पसल खुलेको देखे। एम्बुलेन्सबाट ओर्लेर पसलेसँग पानीको बोतल मागे।

‘एकैछिन पख्नुस् आउँदै छु’ भनेर निस्केका पसले १०/१५ मिनेटसम्म आएनन्। कपिल खिन्न हुँदै हिँडे।

‘बडो आश्चर्य लाग्यो म त झन् सबैलाई बचाउने काममा खटिएको छु। मान्छेले मलाई नै घृणा गर्दैछन् म अपराधी त होइन्, मलाई थाहा छ मैले आफ्नो परिवार र समाजलाई सुरक्षित राख्नुछ। तर उनीहरू किन नबुझेका होलान्? भन्ने लागिरह्यो,’ उनले भने।

कपिललाई अब न त कोरोनाका संक्रमितसँग डर लाग्छ न त उनले परिवारलाई डर र त्रासमा बाँच्न दिएका छन्।

‘किन डराउनु आफू सुरक्षित भइयो भने कोरोना सर्ने कुरै आएन, मैले त जाँच पनि गराएँ खोइ केही देखिएन मान्छे किन त्रासमा बाँचिरहेका छन्?’ उनी हाँसे।

प्रतिकृया दिनुहोस्