Wednesday, October 21

‘कोरोना फाइटर’ डा. नितु भन्छिन्– हामी नलडे को लड्छ ?

June 23, 2020 248

९ असार, चितवन । २९ वर्षे युवावस्था । झट्ट हेर्दा कसैले पनि भन्दैन कि डा. नितु अधिकारी कोभिड विरुद्धको युद्धकी कमाण्डर हुन् ।

तर, डा. अधिकारी नै हुन्, चितवनको भरतपुरमा स्थापना गरिएको भरतपुर कोभिड १९ ल्याबकी ‘क्याप्टेन’ ।

चैत २४ गतेबाट डा. नितुले सम्हालेको कोभिड ल्याबले साढे दुई महिनाको अवधिमा करिब ६ हजार बढी स्वाब परीक्षण गरेको छ । तीमध्ये १०६ जनामा संक्रमण पुष्टि भएको छ । आफूभन्दा कयौं वर्ष अनुभवी पाका प्राविधिकहरुको नेतृत्व गर्दै उनीहरूको विश्वास जितेर कोभिड ल्याब हाँकीरहेकी छन् डा. नितुले ।

भरतपुर महानगरपालिकाको पहलमा स्थापना गरिएको ल्याब चैत २४ गते भरतपुर अस्पतालले जिम्मा लिएपछि स्वाभाविक रुपमा त्यसको नेतृत्व गर्ने अवसर, चुनौती दुवै आयो अस्पतालकी माइक्रोबायोलोजिष्ट डा. नितु अधिकारीलाई ।

ल्याबको प्राविधिक कामको अलावा व्यवस्थापकीय कमी कमजोरी नहोस् भनेर उनी उत्तिकै सजग रहन्छिन् । ल्याबमा काम गर्ने आफ्नो टिमका सदस्यहरुको सुख दुःख बुझ्ने, उच्च सम्मान गर्ने, हौसला बढाउने, व्यवस्थापनका लागि आवश्यक सामाग्री जुटाउन उनी आफैं कुद्छिन् ।

टेकुको केन्द्रीय प्रयोगशालासँगको समन्वयदेखि भरतपुर अस्पतालका पदाधिकारीहरुसँग निरन्तर संवाद, छलफल, योजना बनाउने काममा समेत उनको दिन बित्छ ।

यसबाहेक हिजोआज उनको टाउको दुखाइको अर्को विषय बनेको छ, विना जानकारी विभिन्न जिल्लाबाट पठाइने स्वाब । सरकारले तोकिदिएको निर्देशिका र गाइडलाइनभन्दा बाहिर गएर स्वाबहरु संकलन गरी पठाउने र छिटो परीक्षणका लागि दबाव दिने क्रम बढेकाले उनी हैरान छिन् ।

निजी अस्पताल र मेडिकल कलेजहरूले समेत अप्रेशन गर्नुअघि बिरामीको कोरोना परीक्षणका लागि स्वाब पठाउने गरेका छन् । राजनीतिक दवाव र सोर्सफोर्स पनि उत्तिकै आउँछ । तर, त्यसलाई पनि बिस्तारै पचाउँदै सबैको विश्वास जित्दै काम गरिरहेकी छिन् डा. अधिकारीले ।

उमेर सानै भए पनि महत्वपूर्ण जिम्मेवारी पाएकाले आफू निकै सम्हालिएर काम गरिरहेको डा. अधिकारी बताउँछिन् । घर परिवार छाडेर महिनौंदेखि क्वारेन्टिनमा बसेका प्राविधिक कर्मचारीहरूले आराम गर्ने अवस्था पनि छैन ।

उनको नेतृत्वमा रहेको ल्याबमा चितवन मेडिकल कलेजबाट रोशन मिश्र र रुशन पिया, क्यान्सर अस्पतालका प्रदीप हमाल र दीपक सुवेदी, स्वास्थ्य कार्यालय भरतपुरका विश्वास गौतम, भरतपुर अस्पतालका मनिराम महतो, सुमित्रा पौडेल र सुरेश खतिवडा गरी नौ जना प्राविधिक तथा दुई जना सहयोगी कर्मचारी खटिरहेका छन् । विहान ९ बजेबाट राति एक/दुई बजेसम्म लगातार ल्याबमा काम भैरहेको हुन्छ ।

सुरुवाती दिनमा स्वाब पनि कम संकलन हुने हुँदा खासै चाप थिएन । तर पछिल्ला दिनमा भने व्यस्तता बढेको छ । सकभर कसैको पनि पोजेटिभ रिपोर्ट नआओस् भनेर हरेक दिन बिहानको कामना गर्दै आफूहरुले काम सुरु गर्ने गरेको स्मरण डा. अधिकारी गर्छिन् । तर, कहिलेकाहीँ सोचेभन्दा धेरै मानिसहरूको पोजेटिभ रिपोर्ट आउँदा मन खिन्न हुन्छ । पोजेटिभ केस आउनु भनेको ल्याबका कर्मचारीले थप दुःख पाउनु पनि हो ।

क्वारेन्टिनमा राखिएका व्यक्तिहरूको छिटो परीक्षण होस् भनेर पुलमा राखेर चेक गर्ने गरिएको छ । एकपटकमा पाँच/पाँच जनाको हाल्ने गरिन्छ । त्यसमा कुनै पोजेटिभ आएमा फेरि एक–एक गरेर परीक्षण गर्दा निकै समय लाग्छ । एउटा नमूनाको परीक्षण गर्दा ८ देखि ९ घण्टासम्म लाग्ने डा. अधिकारीले बताइन् । बेग्लाबेग्लै परीक्षण गर्दा समय र रिएजेन्ट थप खर्च हुन्छ । ल्याबको क्षमता कम छ । सीमित स्रोत र साधन छ, तर जिम्मेवारी र भूमिका गहन छ ।

‘दिनहुँ औसत तीन सयभन्दा बढी स्वाब परीक्षण गरिरहेका छौं, विहानदेखि राति अबेरसम्म निरन्तर लागिरहेका छौं, न त खानाको ठेगान छ, न त सुत्नको,’ डा. नितु भन्छिन् ‘बाहिरको संसार कस्तो छ भनेर नदेखेको कयौं दिन हुन लाग्यो ।’

‘हामीले नलडे को लड्ने ?’

भरतपुर अस्पतालको प्रयोगशाला प्रमुख भएकै कारण डा. अधिकारीलाई नै कोभिड ल्याबको कमाण्ड सम्हाल्ने अवसर मिल्यो । सुरुमा अस्पतालले कोभिड ल्याब प्रमुखको पत्र दिएपछि उनलाई कताकता मनमा डर पनि लाग्यो । मनमा अनेक कुरा खेले । तर, उनले सोचिन् आखिर यो संकटमा हामी नलडे को लड्ने ? उनलाई श्रीमान डा. रञ्जन भट्टले पनि हौसला प्रदान गरे । प्राप्त जिम्मेवारीबाट दायाँबायाँ गर्ने ठाउँ पनि थिएन । भाग्ने कुरा पनि थिएन । ‘जोखिम त छँदै छ, तर देश र जनताका लागि केही गर्छु भन्ने भावना र अठोट पैदा भयो,’ आत्मविश्वासी हुँदै डा. अधिकारीले भनिन्, ‘कोरोनासँग लड्न गोली र राइफल दिएर सेना पठाएर त हुँदैन, हामीले नै लड्नुपर्दछ, त्यसैले हामी यो अर्को युद्धमा होमियौं ।’

उनलाई हौसला र ऊर्जा प्रदान गर्ने कामसमेत सबैतिरबाट भयो । सबैको साथ पनि उनले पाइन् । परिवार तथा साथीभाइको हौसलाले उनलाई प्राप्त जिम्मेवारी सानो उमेरमा प्राप्त अवसर जस्तो लाग्यो । निकै कष्ट सहेर देश र जनताका लागि काम गरिरहेकोमा गर्व महसुस भएको उनी बताउँछिन् ।

यहाँ काम गर्ने प्राविधिक कर्मचारीहरूको पीडा निकै दुःखदायी छ । विहान आएर पीपीई लगाएपछि एकपैटक राति मात्रै खोल्छन् । पीपीई लगाएको कारण दिसा पिसाब गर्न निकै कठिनाइ हुन्छ । हिँजोआज भने डाइपर लगाएर काम गर्न थालेका छन् । पिसाब आए त्यसमै गर्छन् ।

श्रीमानको साथ

चितवनमै जन्मिएकी नितुले नेपालगञ्ज मेडिकल कलेजबाट एमबीबीएस र धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट माइक्रोबायोलोजी र संक्रामक रोगमा एमडी गरेकी छन् ।

स्वास्थ्य मन्त्रालयबाट करारमा डेढ वर्षअघि नियुक्ति पाएर भरतपुर अस्पतालमा कार्यरत डा. अधिकारीका श्रीमान डा. रञ्जन भट्ट भरतपुर क्यान्सर अस्पतालको प्रयोगशाला प्रमुख हुन् ।

दुवैजनाको विषय पनि मिल्ने पेशा पनि एउटै भएकाले समस्याहरु सहजै बुझ्नै र काम गर्ने ऊर्जा प्रदान गर्ने गरेको डा. अधिकारी सम्झन्छिन् ।

घरमा बच्चा नभएकाले उनलाई काम गर्न केही सहज भएको छ । ल्याबमा काम गर्ने अन्य प्राविधिकहरुलाई भरतपुर अस्पतालले नजिकैको होटल ग्लोबलमा राख्ने व्यवस्था गरेको छ । तर, उनी भने श्रीमानलाई क्यान्सर अस्पतालले प्रदान गरेको क्वाटरमा नै बस्ने गर्छिन् ।

‘मलाई केही सहज छ, श्रीमान पनि एकै फिल्डको हुनुहुन्छ, घरमा बालबच्चा र बुढाबुढी पनि छैनन् त्यसैले हामीसँगै बस्छौं,’ उनले भनिन्, ‘श्रीमानले केही सहयोग र सल्लाह सुझाव पनि दिनुहुन्छ, परीक्षण, सुरक्षा, व्यवस्थापन लगायतका विषयमा पनि कुरा हुन्छन् ।’

ल्याबको काम सकेर राति जुनसुकै बेला भए पनि क्वाटरमा नै जाने गरेको डा. अधिकारीले बताइन् । ‘ल्याबदेखि क्वाटरसम्मको दुरी झण्डै पाँच किलोमिटर होला, म लेडिज मान्छे, जान डर लाग्छ, तर के गर्नु,’ डा. अधिकारीले भनिन्, ‘डर लागेर गाडी कुदाएर भाग्छु, सुरक्षाको प्रत्याभूति भएन ।’

राति जति अबेर भए पनि उनी विहान उठेर श्रीमानलाई खाना पकाएर छाडेर फेरि ल्याबमा आउने गरेको बताउँछिन् । बेलुका श्रीमानले पकाएको खान्छिन् । ‘बिहान घरमा खासै केही खान मन लाग्दैन, ल्याबमा आएर दिउँसो तीन बजेतिर खाजा खान्छु त्यसपछि एकैपटक राति घरमा पुगेर खाने हो,’ डा. अधिकारीले भनिन् ।

उनका श्रीमान डा. रञ्जन पनि श्रीमती कहिले आउँछिन् भनेर खाना कुरेरै बसिरहेका हुन्छन् । डा. भट्ट भन्छन् ‘दिनभरि कामले थाकेर आएको हुन्छ, मैले सपोर्ट गर्छु, हौसला र ऊर्जा दिन्छु ।’

क्यान्सर अस्पतालको ल्याब प्रमुख भएकाले व्यवस्थापनका कामहरु सिकाउने गरेको डा. भट्टले बताए । ‘देश र जनताप्रतिको गहन जिम्मेवारी हाम्रो काँधमा आएको छ, धेरै मान्छे यही रिपोर्ट कुरेर बसिरहेका हुन्छन्, जनताका लागि काम गर्दा थप जिम्मेवारीवोध गराउँछ,’ डा. भट्ट भन्छन् ।

ल्याबमा काम गरेदेखि डा. नितु माइतसमेत जान पाएकी छैनन् । ‘बुवा सुगरको रोगी हुनुहुन्छ, माइत जान पनि डर लाग्छ,’ उनी भन्छिन्, ‘बुबाले अनुहार मात्रै भए पनि हेर्छु छोरी आऊ न भन्नुहुन्छ, कहिलेकाहीँ भिडियो कल गर्छु ।’

क्षमता विस्तार आवश्यक

सुरुमा कोरोना परीक्षणका लागि काठमाडौंको टेकुमा पठाउनुपर्ने बाध्यताको अन्त्य मात्रै भरतपुर कोभिड ल्याबले गरेको छैन, अन्य जिल्लाका स्वाबहरु समेत परीक्षण गर्दछ ।

सुरुमा खास गरी चितवन र यस आसपासका जिल्लालाई मात्रै लक्षित गरेर कोभिड ल्याब स्थापना गरिएको भए पनि अहिले चितवन, नवलपरासी, धादिङ, कपिलवस्तु, पर्वत, अर्घाखाँची, बाग्लुङ, मकवानपुर, सल्यान लगायतका ११ जिल्लाबाट संकलन गरी ल्याइएका स्वाब परीक्षण हुँदै आएका छन् ।

भरतपुर अस्पताल मातहत रहेको ल्याबमा अहिले झण्डै आठ सय भन्दा बढी स्वाब परीक्षणका लागि पालो कुरिरहेका छन् । ‘दिनमा ३ सयभन्दा बढी टेस्ट गर्न सक्ने अवस्था छैन, क्षमता नै कम छ जनशक्ति पनि अभाव छ,’ डा. अधिकारीले भनिन्, ‘स्वाब राख्न मिल्ने अवस्था पनि छैन ।’ प्रयोगशालामा सुरुमा किनिएको एक मात्रै फ्रिज सानो भएको छ । दैनिक दुई सयजति नमूना थपिन्छन् । फ्रिजमा ४ देखि ८ डिग्री सेन्टिग्रेडको तापक्रममा स्वाब राख्ने गरिन्छ ।

ल्याबमा नमूनाको चाप बढ्दै गएसँगै तनाव पनि बढ्दै गएको छ । एकातिर प्राविधिक कम छन् भने अर्कोतिर स्रोत साधानको अभाव हुन थालेको छ ।

ल्याब प्रमुख डा. अधिकारीले कामको चाप निकै थपिएकाले यही अवस्थामा कहिलेसम्म काम गर्न सकिन्छ भन्ने कुरा महत्वपूर्ण भएको बताउँछिन् । ल्याबमा काम गर्ने कसैले पनि सामान्य आरामसमेत गर्न पाएका छैनन् । ‘कुनै साथी, कुनै कारणले बिरामी भए समस्या थपिँदै जान्छ, धपेडी र तनाव छ,’ डा. अधिकारी भन्छिन्, ‘ल्याबलाई दुई सिफ्ट गराउने बारेमा पनि सोच्नुपर्छ होला अब ।’

ल्याबका आफ्नै दुःख पनि छन् । जसोतसो एडजस्ट गर्दै प्राविधिकहरुले सीमित स्रोत र साधानमा काम गरिरहेका छन् ।

फ्रिजको क्षमता विस्तार, पीसीआर मेसिन थप, सेफ्टी क्याबिनेट थप गरिनुपर्ने डा. अधिकारी बताउँछिन् । अहिले ल्याबमा एनपीएचएलले दिएको बीएसएल २ बी क्याविनेट छ । परीक्षण गरिएका स्वाबलाई समेत सुरक्षित तरिकाले राख्नुपर्ने भएकाले तत्कालै क्षमता बिस्तार गर्नुपर्ने डा. अधिकारीको भनाइ छ ।

प्रतिकृया दिनुहोस्