Wednesday, November 25

‪मेलापात र वनपाखा चहार्ने एउटा गायकको ग्रामीण जीवनशैली

June 22, 2020 207

लक डाउन सुरु भएपछि छरेको मकै, कम्मर नाघिसक्यो ।….अबको वर्षामा मकैका पातमा बज्ने पानीका थोपा सुन्न मज्जा आउने भो ।’

कान्लाभरी मकैं लहलह भएपछि कसको मन उमंगित हुन्छ ? आकासबाट बर्षेको पानीको बुँद मकैको पातमा तप्किदाँ पैदा हुने ध्वनीलाई कसले अनुभूत गर्न सक्छन् ? जवाफ हो, खाँट्टी किसानले ।

किसानहरु अन्नपात फलाउने ध्याउन्नमा मात्र हुँदैनन्, मौसमी चक्रसँग आफ्नो कर्मको लय मिलाइरहेका हुन्छन् । प्रकृतिको अवयवमा आफ्नो जीवनको सप्तरंगी खुसी साटिरहेका हुन्छन् । कृषि–कर्मको यो सौन्दर्यमा गायक अमृत गुरुङ पनि लठ्ठिएछन् ।

त्यसैले त कहिले खर्कमा अञ्जुलीभरी ऐंसेलु र चुथ्रो टिपेर खाँदै, कहिले स–सना कान्लामा मकै गोड्दै उनी खेती–किसानीमा रमाइहेका छन् । जसै देशभर लकडाउन भयो, यि गायक पोखराबाट आफ्नो पुर्ख्यौली थातथलोतर्फ उक्लिएछन् । त्यसपछि उनको वास भयो, गोठमा ।

कास्की र स्याङ्जाको समीमावर्ती भेग मुलपानीमा रहेको बस्तुभाउ र अन्नबाली सम्हाल्दै आएका रहेछन् । लकडाउनका फुर्सदिला दिनहरु गायक गुरुङले यही मुलपानीको खेतीपाती र बस्तुभाउमा लगाए । गोठमा बस्ने, ध्यान गर्ने, जंगलका सागपात खोज्ने, मकै–फापर खाने, अन्नपात गोडमेल गर्ने, बस्तुभाउ स्यहार्ने । यसबीचमा संगीत साधना त छँदैछ ।

 

अमृत गुरुङ । नाम नै काफी छ । उनलाई चिनाउनका लागि अतिरिक्त विशेषणको फुर्को जोड्न आवश्यक छैन । यति चाहिँ भन्नपर्छ, उनको गायकीमा विछट्टै मीठास र बेग्लै स्पन्दन छ ।

देशी–विदेशी मञ्चमा आफ्नोपनको कम्पन पैदा गर्ने यी गायकको जीवन कतिपनि तामझापूर्ण देखिदैन । गायकीको त्यो विशिष्ठता र ख्यातीमाझ पनि उनी सरल जीवनयापन गर्न रुचाउँछन् सायद । त्यसैले त टिसर्ट र हाप फाइन्ट पहिरिएर गाइबस्तु चराउने खर्क, बनजंगल र मेलापातमा रमाइरहेका देखिन्छन् ।

खेती किसानमा रुझेकाहरुले बुझेका हुन्छन्, एवं धर्ती कति धन्य छन् । प्रकृति कति कृतज्ञ छन् । माटोको सुगन्ध, चराचुरुंगीको चिरबिर आवाज, सितल हावाको स्पर्श, झरीको झंकार । यी सबैसँग एकाकार भएर बाँच्नुको आनन्द अरु कहाँ ?

सायद यस्तै आनन्दको खोजीमा गायक गुरुङ चिसापानीको गोठ र मेलापातमा पुग्ने गर्छन् । खेती किसानीमा गायक गुरुङको लगाव कति गहिरो रहेछ भनेर बुझ्न त उनले जंगली सागपात, फलफूल, चराचुरुंगी, किराफट्यांग्रासँग गरेको संगत नै काफी हुन्छ ।

खेती–किसानी गर्नेहरु प्रकृतिबाट आनन्द त लिन्छन् नै, त्यसको विज्ञानलाई पनि उनीहरुले सुक्ष्म रुपमा अध्ययन गरिरहेका हुन्छन् । हावाको स्पर्श गरेर पानी पर्ने संभावना कति छ भनेर पहिल्याउन सक्छन् । मौसमी परिवर्तन हेरेर अन्नबाली सप्रने वा बिग्रने हो भनी अनुमान गर्न सक्छन् । प्रकृतिसँग उनीहरु यति निकट हुन्छन् कि, त्यसका हरेक गतिविधिले के संकेत गरिरहेका छन् भनेर बुझ्न सक्छन् ।

जस्तो किकमिलाको ताँतीले खानेकुराको जोहो गरिरहेको तस्वीर फेसबुकमा पोस्ट गर्दै गायक गुरुङ लेख्छन्, ‘हाम्रो गाउँका अग्रजहरु भन्थे, ‘कमिला, माथि ओभानो तिर उक्लनु र उसले खानाको जोहो गर्नु भनेको वर्षाको आगमनको संकेत हो ।’

उनी थप्छन्, ‘प्रकृतिमा रहँदा यस्ता प्राकृतिक सुचक बुझ्दा सजिलो हुन्छ । यो सुचक वर्षाको आगमन हो । कमिलाहरु वर्षाबाट बच्ने जोहो गर्दैछन् ।’

फेसबुकमा अंजुलीभरी काफलको फोटो पोस्ट गर्दै गायक गुरुङले लेखेका छन्, ‘चरीले झुठो बेल्दैन । सन्देश सुन्नसाथ बन पसें । काफल भेटें ।’

पोखराबाट १२ किलोमिटरको दुरीमा रहेछ, गोठ । त्यहाँ उनले स्थानिय जातका गाईबस्तु पालोक रहेछन् । अन्नबाली लगाएका रहेछन् । खेतीपातीसँगै बनजंगल चाहर्नु, ऐंसेलु र चुथ्रो खोजी खानु, चराचुरुंगीसँगै रमाउनु उनको दैनिकी रहेछ ।

गायक गुरुङले फेसबुकमा लेखेका छन्, ‘चराले छोडेको, मेरो भागको एक पसर ऐंसेलु……‪प्रकृतिसँग मिलेर बसे यसले कहिल्यै निरास पार्दैन । मेरो फलफूलको खुराक अहिले वनपाखामा पाइने ऐंसेलुले पु¥यउँछ । ऐंसेलु सकिने बेला, काफल र चुथ्रो पाकिहाल्छ ।’

गोठमा विहान सबेरै उनलाई चराचुरुंगीको चिरबिर आवाजले उठाउने गरेको उल्लेख गरेका छन् । उठेपछि उनको कर्म उही खेतीपातीमा, बस्तुभाउमा, गीतसंगीतमा ।

उनले फेसबुकमा लेखेका छन्, ‘‪वनपाखामा अँघेरी फूल फूलेका छन् । यी फूलहरु  हेर्दा कविवर माधव घिमिरेले मालती मंगलेमा लेखेका यो हरफ याद आयो…

अँधेरी खोला अँघेरी टिप्दा

‪हातैमा लाग्यो नीर

‪नधोई जाने नरोई जाने

‪यो कस्तो प्यारो पीर…

‪अहिलेलाई फूलको आनन्द लिनुस्, फल लागेपछि यसको नीर कस्तो हुन्छ देखाउँला..।’

प्रतिकृया दिनुहोस्